तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जलसङ्कट: नेपाल पनि खतराको सूचीमा, तर 'पानी निर्यात गरेर लाभ लिन सकिन्छ'
नेपालले देशभित्र जलस्रोतको व्यवस्थापनमा सङ्कट भोगिरहेको भएपनि अझै गम्भीर जलसङ्कट भोगिरहेका छिमेकी देशलाई पानी बेचेर नेपालले मनग्गे फाइदा लिन सक्ने सम्भावना रहेको एक जलस्रोतविद्ले बताएका छन्।
संयुक्त राज्य अमेरिकाको वर्ल्ड रिजोर्सस इन्स्टिट्युटले प्रकाशित गरेको प्रतिवेदनले अत्यन्तै गम्भीर जलसङ्कट बेहोरिरहेको सूचीमा दक्षिण एशियाका भारत र पाकिस्तान पनि रहेका छन्।
त्यो सूचीमा मरुभूमि भएका देशहरूपछि भारत र पाकिस्तान क्रमश: १३ औँ र १४ औँ स्थानमा रहेका छन्। नेपाल चाहिँ जलसङ्कट बेहोरिरहेका देशहरूको सूचीमा ४० औँ स्थानमा रहेको त्यो प्रतिवेदनले देखाएको छ।
नेपालभित्र विशेषत: व्यवस्थापनको समस्याले जलसङ्कट समाधान हुन नसकेको जलस्रोतविज्ञहरू बताउँछन्। व्यवस्थापनकै कारणले पहाड र तराईका विभिन्न स्थानमा पानीको समस्या देखिएको उनीहरूको ठम्याइ छ।
तथापि नेपालले आफ्नो आन्तरिक समस्या समाधान गर्दै छिमेकी भारतलाई पानी निर्यात गर्दै मनग्गे लाभ लिन सक्ने सम्भावना अझै जीवित रहेको जलस्रोतविद्हरू बताउँछन्।
'व्यवस्थापन कमजोर'
नेपालको हिमाली र पहाडी क्षेत्रबाट बग्ने हजारौँ नदीनाला र विभिन्न स्थानका तालतलैयाले नेपाललाई जलस्रोतको धनी बनाएको छ। तर त्यसको समुचित वितरण, व्यवस्थापन र सदुपयोग हुन नसकेको भन्दै आलोचना हुने गरेको छ।
"त्यो पानीलाई व्यवस्थापन गर्न जरुरी छ। नेपालको पानीलाई बेचेर नेपाल धनी हुन सक्छ भनेर हामीले धेरै पहिले नै परिकल्पना गरेका थियौँ," जल तथा ऊर्जा आयोगका पूर्व सचिव एवम् जलस्रोत मामिलाका जानकार सोमनाथ पौडेलले बीबीसीलाई बताए।
अहिले भारत र पाकिस्तानजस्ता दक्षिण एशियाली छिमेकी देशमा मरुभूमिको जस्तै चरम जलसङ्कटको अवस्थाबाट गुज्रिन थालेकोले त्यो सम्भावना अझै रहेको उनको भनाइ छ।
"हालै भारतको चेन्नईमा पानीको त्यत्रो अभाव भयो। रेलबाट पानी लगेर मानिसहरूलाई आपूर्ति गर्नुपर्यो। भारत र पाकिस्तानसँग पानी छैन। हामीसँग प्रशस्त छ।"
हामीले पहिलेदेखि भन्दै आएको कुरा यहि हो हामीसँग जलस्रोत छ। भारतमा खानेपानीको सङ्कट हुन्छ।
जलस्रोतको धनी नेपाल
नेपालमा हिमाली क्षेत्र र त्यसदेखि दक्षिणका पहाडी क्षेत्रमा उद्गमस्थल भएका झन्डै छ हजार नदीनाला रहेको विज्ञहरू बताउँछन्।
तिनै नदीबाट भारतबाट बग्ने गङ्गा नदीको ७० प्रतिशत पानी आपूर्ति हुने गरेको बताइन्छ।
नेपाल जलस्रोतका धनी देशमध्येमा पर्छ। जलस्रोतविज्ञ सोमनाथ पौडेलका अनुसार नेपाल जलस्रोतमा "विश्वको २२-२३ औँ धनी देश हो।"
उनले भने, "नेपालका प्रत्येक व्यक्तिको भागमा सात हजार घनमिटर पानी पर्न आउँछ। सिँचाइ र खानेपानीको लागि पुग्दो छ। तर व्यवस्थापनमा हामी एकदमै कमजोर छौँ।"
उनका विचारमा त्यसै कारण नेपालमा पानी सङ्कट देखिएको हो।
व्यवस्थापनकै कमजोरीका कारण मेलम्चीजस्तो खानेपानी परियोजनाको काम सम्पन्न गर्न विलम्ब भएको पौडेलको मत छ।
"छ वर्षमा सक्नेगरी सुरु गरिएको मेलम्ची २५ वर्षपछि पनि अझै अपूरो छ। (देशका अन्य भूभागमा पनि) सबै व्यक्तिले खानेपानी र अरू सुविधा पाएका छैनन्," उनले भने।
उचित जलस्रोत व्यवस्थापन गर्ने हो भने नेपालको कुनै पनि भूभागमा पानीको सङ्कट नहुने उनी बताउँछन्।
उनले भने, "तराईमा भूमिगत जलस्रोतको भण्डार छ। पहाडमा कतै पम्प लगाएर तलबाट माथि पानी तान्नु पर्ला, कतै एक स्थानबाट अर्कोमा पानी लैजानु पर्ला। हामीसँग पानी प्रशस्त छ।"
"भारत र पाकिस्तानमा त्यस्तो छैन।"
मेलम्चीको सपना
वर्ल्ड रिजोर्सस इन्स्टिट्युटले प्रकाशित गरेको प्रतिवेदनअनुसार नेपालको पश्चिमी क्षेत्र पानीको अत्यन्तै ठूलो सङ्कटमा रहेको जनाइएको छ।
विज्ञहरूका अनुसार पानीको उचित व्यवस्थापन हुन नसकेकै कारण मानिसहरूले कर्णाली र सुदूरपश्चिमका कैयौँ स्थानमा पानी सङ्कट भोगिरहेका हुन्।
सार्वजनिक अभिव्यक्ति दिने क्रममा भने नेपालका राजनीतिक नेताहरूले पानी सङ्कट समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। बहुप्रतीक्षित मेलम्ची परियोजना गत वर्षको दशैँभित्र सम्पन्न गर्ने आश्वासन बारम्बार दिइँदै आएको थियो।
परियोजनाको अधिकांश काम पूरा भइसकेको भनिए पनि मेलम्चीको पानी अझै काठमाण्डू उपत्यका झर्ने भौतिक पूर्वाधार पूर्ण रूपमा तयार भइसकेको छैन।
फलस्वरूप मेलम्चीको सपना अझै पूरा भएको छैन।
देशभित्रको जलसङ्कट समाधान जहाँको तहीँ भएपनि राजनीतिक नेतृत्वबाट नेपालको हिमालय क्षेत्रको पानी छिमेकी भारत र चीन मात्र नभई अन्य देशहरूमा पनि निर्यात गर्न सकिने सार्वजनिक अभिव्यक्ति बेलाबेलामा आइ नै रहेको छ।
छुट्टै खानेपानी मन्त्रालय
हालै मात्र नेपालमा छुट्टै खानेपानी मन्त्रालय बनाइएको हो। पहिला त्यो मन्त्रालय अस्तित्वमा नै थिएन।
देशभरि खानेपानीको सङ्कट हुन नदिनु त्यसको मुख्य जिम्मेवारी हो।
संयोग नै हुन सक्छ। विश्वका विभिन्न देशमा पानी सङ्कटको चर्चा गरिएको प्रतिवेदन सार्वजनिक भएकै समयमा बुधवार खानेपानीमन्त्री बिना मगर संसदीय समितिको एक बैठकमा खानेपानीकै कुरा गर्दै थिइन्।
खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे उठेका प्रश्नहरूको उत्तर दिने क्रममा उनले समाधानभन्दा पनि बढी समस्याकै कुरा गरिन्।
देशैभरि पानीको सङ्कट रहेको स्वीकार्दै उनले पानी व्यवस्थापन हुन नसक्दा सबभन्दा धेरै अप्ठेरो महिलाहरूलाई परेको बताइन्।
उनले भनिन्, "पहाड र हिमालमा महिलाहरू पानीको लागि सङ्घर्ष गरिरहेका छन्। तराईमा निस्केको पानी आर्सेनिकयुक्त छ। सहर बजारमा पनि त्यस्तै समस्या छ। जताततै महिलाहरू नै पानी सङ्कटका कारण आक्रान्त छन्।"
यस्तो बेला पौडेलजस्ता विज्ञहरू भने प्रष्ट छन्। नेपालमा पानीको व्यवस्थापन राम्रो नभएको तर जलस्रोत चाहिँ पर्याप्त भएको दृश्यहरू जताततै देख्न सकिन्छ।