तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जितले खुसी छौँ, अब सागमा राम्रो गर्छौँ: भलिबल कप्तान शाही
एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा माल्दिभ्सलाई हराउँदै प्रथम भए लगत्तै नेपाली महिला भलिबल टोलीकी कप्तान अरूणा शाहीले बीबीसी न्यूज नेपालीलाई प्रतिक्रिया दिँदै आफूहरू अत्यन्त खुसी भएको र अब आफूहरूको ध्यान दक्षिण एसियाली खेलकूद साग प्रतियोगितामा राम्रो गर्नमा केन्द्रीत हुने बताइन्।
"हामी एकदमै खुसी छौँ। म कप्तान भएपछि यो पहिलो विजय पनि हो। सागमा अझ राम्रो गर्ने हाम्रो अपेक्षा छ," शाहीले भनिन्।
नेपाली महिला भलिबल टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेको यो नै पहिलोपटक हो।
बिहीवार बाङ्ग्लादेशको राजधानी ढाकामा पाँच देशमाझ भएको प्रतियोगितामा नेपाली महिला टोली प्रथम भएको हो।
फाइनल खेलमा नेपाली टोलीले तीन सोझो सेटमा माल्दिभ्सलाई पराजित गर्यो।
सबैलाई जित्यो
यसअघि उक्त प्रतियोगितामा नेपालले बाङ्ग्लादेश तथा किर्गिस्तानलाई पनि पराजित गरिसकेको थियो।
बाङ्गामाता एसियन सिनियर सेन्ट्रल जोन नामक उक्त भलिबल प्रतियोगितामा विजयी भएको केही सातामै नेपालमा दक्षिण एसियाली खेलकूद प्रतियोगिता हुँदैछ।
सो अन्तर्गत महिला भलिबलको प्रतियोगिता पोखरामा हुँदैछ।
उक्त प्रतियोगितामा तुलनात्मक रूपमा बलिया मानिने भारत तथा श्रीलङ्का पनि हुनेछन्।
"भलिबल हाम्रो राष्ट्रिय खेल हो। प्रबर्धन गर्न राज्यको सहयोग भए भविष्य राम्रो छ," शाहीले भनिन्।