रुबिना क्षेत्री: नेपाली महिला क्रिकेटकी विद्रोही कप्तान

    • Author, निरञ्जन राजवंशी,
    • Role, बीबीसी नेपाली सेवा

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेट टोलीको नेतृत्व गरेर शुक्रवार थाइल्यान्ड उड्नुअघि होटल रामेश्वरममा कप्तान रुबिना क्षेत्रीको आँखामा आशा र आक्रोश दुवै प्रतिविम्बित थिए।

आशा कुनै दिन नेपालले विश्वकप छनोट खेलेर महिला क्रिकेटको मुहार फेरिन्छ भन्ने थियो। आक्रोश भने महिला खेलाडीको हकहित र महिला क्रिकेटलाई सम्बन्धित निकायहरूको गरेको बेवास्ताप्रति थियो।

रुबिनाले भनिन्, "नेपाली महिलाले पनि विश्वकप क्रिकेट खेल्छन्। मलाई विश्वास छ त्यो दिन आउनेछ। त्यसपछि महिला क्रिकेटको अनुहार फेरिनेछ। महिला खेलाडीले चर्चा र पैसा कमाउनेछन्।"

सात वर्षदेखि राष्ट्रिय महिला क्रिकेट टोलीको निरन्तर नेतृत्व गरिरहेकी रुबिना हक्की छिन्। उनीसँग नेतृत्व क्षमता छ। मैदानमा उनको ब्याट र बल बोल्छ, मैदानबाहिर उनका सोच र शब्द।

उनी भन्छिन्,"बोलिरहनु, महिला खेलाडीहरूको कुरा उठाइरहनु हाम्रो बाध्यता हो। नबोल्नुको विकल्प छैन।"

रुबिना किन बोल्छिन्

उनी 'उज्यालो भविष्य बन्न सक्ने' महिला क्रिकेटको 'अध्याँरो पाटो' लाई सार्वजनिक गरिरहन्छिन्।

धेरै सम्भावना र प्रतिभा हुँदाहुँदै पनि खेलाडीहरू आफ्नै आँखाअगाडि पलायन भएको र सक्रिय खेलाडीहरू सपनाविहीन देखिएपछि उनी आफूलाई रोक्न सक्दिनन्।

उनले उठाउने प्रश्नहरू सजिला लाग्छन्। तर उत्तर नपाएपछि रुबिना आक्रोशित हुन्छिन्।

'खोइ प्रतियोगिता? खोइ पूर्वाधार? महिला क्रिकेटलाई जोगाउने योजना खोइ? महिला टोलीको पनि फ्रेन्चाइज लिग खोइ? महिला क्रिकेट टोलीलाई मासिक तलब किन नदिने?' उनले उठाइरहने प्रश्नहरू हुन्।

उनका प्रश्नहरूका निम्ति उनीमाथि कयौँ पटक अनुशासनहीनताको आरोप लागेको छ, कतिले उनले राष्ट्रिय कप्तानमा हुनुपर्ने स्वभाव नभएको बताएकी छन्।

तर रुबिना डग्दिनन्, "म गलत सहन सक्दिनँ। म जहिले पनि सञ्चारमाध्यमसामु खुलेर बोल्थेँ। जब म सही छु र सही कुरा बोल्छु भने मलाई कसैले बिगार्न सक्दैन। बरु साथ पाउँछु।"

पछिल्लो १४ महिना महिला क्रिकेटको अन्तर्राष्ट्रिय सहभागिता शून्य भएपछि उनले लगातार त्यसबारे प्रश्न उठाइन्। जब थाइल्यान्ड क्रिकेट संघले २० ‌ओभरको नौ राष्ट्र सम्मिलित प्रतियोगिता गर्ने भयो र नेपालले भाग लिने तय भयो। उनले सामाजिक सञ्जालमार्फत् खेलाडीहरूलाई अभ्यास गरिरहन आह्वान गरिन्।

उनको आह्वानकै कारण खेलाडीहरू बन्द प्रशिक्षणमा आउँदा शारीरिक रूपमा चुस्तदुरुस्त हुन सकेको उनको अनुभव छ।

अपत्यारिली खेलाडी

पहिलो अन्तर्राष्ट्रिय सहभागितामा पाँच बलमा पाँच विकेट लिएर नेपाललाई खेल जिताउने खेलाडी हुन् रुबिना।

सुन्दै अपत्यारिलो लाग्ने यो खेल सन् २००९ मा मलेसियामा सम्पन्न एसीसी महिला टी २० प्रतियोगिताको हो।

खेलको अन्तिम ओभरमा सिङ्गापुरलाई जितको लागि छ बलमा दुई रन आवश्यक थियो। हेर्दा सहज लाग्ने लक्ष्य र त्यस्तो दबावमा बलिङ गर्न आएकी थिइन्, पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेकी रुबिना।

उनले पहिलो बलमा कुनै रन दिइनन्। अनि दोस्रो, तेस्रो र चौथो बलमा लगातार विपक्षी खेलाडीलाई आउट गरी ह्याट्रिक पूरा गरिन्। पाँचौ बल वाइड फ्यालेपछि खेल बाराबरीको स्थितिमा पुग्यो। अनि बाँकी दुई बलमा पनि उनले दुवै विकेट लिइन्।

खेल टाई भएपछिको सुपर ओभरमा नेपालले खेल जित्यो।

खेलपछि पूर्व कप्तान र प्रशिक्षक विनोद दासले भनेका थिए,"अन्तिम ओवरमा पाँच बलमा पाँच विकेट लिएर खेल जिताएको मैले अझैसम्म सुनेको थिइनँ। यो गजब नै हो।"

त्यो कुनै पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय खेलमा लिएको पहिलो ह्याट्रिक थियो। त्यसपछि रुबिना राष्ट्रिय टोलीको नियमित सदस्य भइन्।

आफ्नो प्रतिभाको छनक उनले राष्ट्रिय प्रतियोगितामै देखाइसकेकी थिइन्। सो प्रतियोगितामा जानुपूर्व पाँचौ राष्ट्रिय खेलकुदमा उनले त्यतिबेला बलियो रहेको नेपालगन्जको महिला टोलीविरुद्ध छ विकेट लिएकी थिइन्।

त्यो उनको पहिलो प्रतियोगिता थियो। पहिलो सहभागिताले नै झापा काकडभित्ताकी १६ वर्षीया यी खेलाडी सीधै राष्ट्रिय टोलीमा छानिएकी थिइन्।

कप्तानका रूपमा रुबिना

सन् २०१० को एसीसी यू १९ महिला क्रिकेट प्रतियोगितामा उनी उपकप्तानको भूमिकामा थिइन्। अनि सन् २०१२ को कुवेतमा भएको प्रतियोगिताको अर्को संस्करणमा कप्तान।

पहिलो कप्तानीमा रुबिना शतप्रतिशत सफल भइन्। यू १९ उपाधि यसअघि लगातार दुई पटक जितिसकेकोले नेपाल ह्याट्रिक उपाधि जित्ने दावेदार राष्ट्र थियो।

रुबिना सम्झिन्छिन्,"मलाई भने उपाधिसँगै आफ्नो जिम्मेवारी पूरा गर्ने दबाव थियो। म चुकिनँ।"

नेपालले उपाधि जित्यो र रुबिना प्रतियोगिताको उत्कृष्ट खेलाडीमा चुनिइन्।

यो प्रदर्शनले उनको राष्ट्रिय कप्तान बन्ने दावेदारी बढ्यो। सोही वर्ष नेरी थापालाई स्थानान्तरण गर्दै रुबिनाले महिला टी २० एशिया कपमा राष्ट्रिय टोलीको नेतृत्व हात पारिन्।

विद्रोही र हक्की स्वभाव

बुवा सानैमा बितेपछि आमाले गरेको सङ्घर्ष र सही बाटोमा लाग्न उनलाई दिएको प्रेरणाले आफूमा आत्मबिश्वास वढेको उनी बताउँछिन्।

उनी महिला क्रिकेट खेलाडीहरूको हकहितका बारेमा बोल्छिन्। राज्यले ध्यान नदिए महिला क्रिकेट बाँच्न सक्दैन र बलियो सम्भावना रहेको खेलको भविष्य अन्धकार हुन्छ भन्ने गम्भीर चिन्ता नै उनले बारम्बार प्रकट गर्दै आएकी छन्।

पुरुष क्रिकेट जसरी नै महिला क्रिकेटले पनि नेपालको गौरव बढाउन सक्छ भन्नेमा उनी विश्वस्त छिन्।

उनी भन्छिन्,"तर खोइ यसतर्फ किन कसैले चासो दिँदैनन्? पुरुष टोलीजस्तै हामीले पनि मेहनत गरेका छौँ। अन्तर्राष्ट्रिय उपाधि जितेका छौँ।"

सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको ग्लोबल इनिशिअटिभ अवार्ड जितेको नेपाली महिला अहिले तितरबितर हुँदै गएकोमा उनले विद्रोह नै गरिसकिन्।

कम्तीमा राज्यले राष्ट्रिय क्रिकेट टोलीलाई जागिर दिएमा पनि उनीहरू बाँधिने बताउने रुबिना भन्छिन्, "यो कुरा म कप्तान भए पनि नभए पनि उठाइरहन्छु।"

उनको अर्को अप्रत्यक्ष विद्रोह आफूले खेल्ने एपीएफ क्लबविरुद्ध पनि देखियो।

एपीएफमा कप्तानका रुपमा आरामसँग घरेलु प्रतियोगिता जित्ने गरेकी कप्तान रुबिना एपीएफ छोडिन्।

कारण? उनी भन्छिन्,"घरेलु क्रिकेट पनि प्रतिस्पर्धी हुनुपर्‍यो। असमान प्रतिस्पर्धाले कसरी खेलस्तर वृद्धि हुन्छ? त्यसैले मैले आफ्नो क्षेत्रबाट खेल्न रोजेँ। त्यसले फाइदा पुगेको म देख्छु।"

फलस्वरूप उनको क्षेत्र पूर्वाञ्चलले एपीएफलाई हराएर महिला क्रिकेटमा प्रतिस्पर्धा दिइरहेको छ।

महिला क्रिकेट बचाउने विकल्प

छिमेकी देश भारतमा हुने महिला फ्रेन्चाइज लिगमा प्रवेश गरेर उनले महिला क्रिकेटलाई बचाउने श्रेय उनको नाममा देखिन्छ। पैसा लिएर व्यावसायिक प्रतियोगिता खेल्दै भारतमा उनले उत्कृष्ट खेलाडी जितेपछि भारतीय आयोजकहरू छक्क परेको उनी भन्छिन्।

सुरुमा एकदुई खेलाडी गएर खेले पनि पछि नेपालकै टोली बोलाए मात्र खेल्छु भन्ने शर्त तेर्स्याएपछि आयोजकहरूले टोली नै बोलाउने गरेको उनले बताइन्।

उनले खोलेको सो बाटोमा अहिले थुप्रै खेलाडीहरू भारतीय लिगमा अभ्यस्त भइसकेका छन्।

"त्यहाँ प्रतिस्पर्धाको स्तर हेरेर सिनियर र जुनियर खेलाडीहरू लाने गरेको छु। जसले गर्दा नयाँ खेलाडीहरूले खेल छोडेको छैनन्।"

क्लबको रूपमा खेल्न जाने तर राष्ट्रिय टोलीको रूपमा प्रचार गर्ने भनी उनको यो कदमको आलोचना पनि भयो।

तर उनी आलोचकलाई भन्छिन्,"बाहिर जाँदा नेपाली भनी चिन्छन्। त्यो बेग्लै कुरा हो। मुख्य कुरा खेलाडीहरूले खेल्न पाइरहेका छन् र भारत, बाङ्ग्लादेश जस्ता राम्रा देशका खेलाडीहरूसँग खेलेर स्तरवृद्धि गर्न पाइरहेका छन्। त्यो महत्त्वपूर्ण हो। यति बुझे पुग्छ।"

भविष्यको सपना

पछिल्लो समय उनले फ्रेन्चाइज लिग हुनुपर्ने र प्रायोजकहरूले महिला क्रिकेटमा लगानी गर्नुपर्ने आवाज उठाएकी छन्।

उनी भन्छिन्, "पुरुष क्रिकेट जसरी ठूलो रूप नभएपनि महिलाको पनि ईपीएल, डीपीएल वा पीपीएल जस्तो लिग किन हुन सक्दैन। मैले भने तर आयोजकले सुनेको छैन। फाइदा मात्र खोज्ने होइन नि। अनि पुरुष क्रिकेट खेलाडीहरूलाई मात्र किन ब्रान्ड एम्बेसडर वा तलब दिएर राख्छन् ठूला कम्पनीहरू। के महिला क्रिकेट छ भनेर सोच्नुपर्दैन?"

महिला टोलीले विश्वकप खेल्न सक्ने बताउने रुबिना त्यसको लागि बाटो खोल्न सम्वन्धित निकायसँग आग्रह गर्छिन्।

त्यहाँ पुग्ने सके महिला क्रिकेटको पनि मुहार फेरिन उनको विश्वास छ।