तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाली क्रिकेट: नाम कमाएका विदेशी खेलाडीको रोजाइमा किन?
शनिवारबाट काठमाण्डूको कीर्तिपुर क्रिकेट मैदानमा शुरू भएको व्यवसायिक प्रतियोगिता एभरेष्ट प्रिमिएर लिग (ईपीएल) मा चर्चित विदेशी खेलाडीहरू पनि खेलिरहेका छन्।
गत महिना पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताका बेला मैदानबाट देखिने मनोरम हिमाली दृश्यले विश्व क्रिकेटको ध्यान तानेको थियो।
अहिले क्रिकेटप्रेमीको ध्यान कीर्तिपुर क्रिकेट मैदानमा केन्द्रित भएको छ, जहाँ नाम चलेका विदेशी खेलाडीहरू २० ओभरको व्यवसायिक क्रिकेट एभरेष्ट प्रिमियर लिग खेल्नका निम्ति जमघट भइरहेको छ।
चर्चा
भारतीय व्यवसायिक क्रिकेट आइपीएलमा कोलकाता नाइट राइडर्सबाट ६ पटक खेलिसकेका दक्षिण अफ्रिकाका रायट टेन डेकास्थको ब्याटिङ जादु अब कीर्तिपुर क्रिकेट मैदानमा देखिनेछ।
उनी मात्र होइन, एकदिवसीय विश्वकप क्रिकेटमा छरितो शतक बनाउने कीर्तिमान बनाएका आयरल्याण्डका केभिन ओ ब्रायन र पोल रोवर्ट स्टिरलिङ पनि खेल्न नेपाल आइसकेका छन्।
युएईका कप्तान रोहन मुस्तफा, हङ कङका बाबर हायात र भारतका सन्नी पटेलले त यसअघि नै आफ्नो प्रभाव नेपाली लिगमा देखाइ नै सकेका छन्।
त्यसले अहिले पनि निरन्तरता पाउनेछ।
नेपाल आउने सबैभन्दा ठूला खेलाडी दक्षिण अफ्रिकाका रिचर्ड लेभी हुन्।
टी-२० क्रिकेटमा छरितो शतक हान्ने कीर्तिमान रचिसकेका उनले आफू कीर्तिपुरमा नेपाली दर्शक सामु खेल्न आतुर रहेको बताइसकेका छन्।
उनी भन्छन्, "यहाँ मैले निकै राम्रो स्वागत पाएँ। रमाइलो लागिरहेको छ। अब मैदानमा पनि दर्शकलाई केही राम्रो क्रिकेट देखाउने रहर छ।"
विदेशी
ईपीएलमा एउटा टोलीले तीनजना विदेशी खेलाडी राख्न पाउने नियम छ।
त्यसमा छवटा क्लबमध्ये बीच हुने ईपीएलमा ५ वटा टोलीले तीन-तीन र एउटा टोलीले २ जना खेलाडी राखेका छन्।
खेलाडीका अलावा यसपटक दुई क्लबले विदेशी प्रशिक्षक राखेका छन् भने खेलको प्रत्यक्ष प्रसारणको कमेन्ट्री गर्न समेत विदेशी कमेन्टेटर ल्याइएको बताइएको छ।
पोखरा राइनोजका प्रशिक्षक नाथन डोड नेपालको क्रिकेट नजिकबाट नियाल्ने बताउछन्।
भन्छन्, "यहाँबाट पनि धेरै कुरा सिक्नु छ र मेरो अनुभव पनि प्रयोग गर्नुछ। मेरो टोलीमा केही राम्रो नाम भएका विदेशी खेलाडीहरू छन् र स्थानीय खेलाडीको समिश्रण पनि। केही राम्रो क्रिकेट हुने विश्वास छ।"
नेपाली क्रिकेटमा विदेशी खेलाडी भित्र्याउने चलन २ वर्ष अगाडि ईपीएलबाटै बाट मात्रै थालिएको हो। त्यतिबेला विशेषगरी छिमेकी देश भारतबाट खेल्ने स्थानीय खेलाडीहरू प्राथमिकतामा थिए।
तर प्रतियोगिताको आकर्षण नै विदेशी खेलाडी बन्न पुगे। अधिकांश खेलमा जित र हारमा निर्णायक उनीहरू नै देखिए। दर्शक पनि विदेशीको खेलमा आकर्षित भएको पाइयो।
नेपालमा हुने अर्को दुई व्यवसायिक प्रतियोगिता धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगले पनि विदेशी खेलाडी संलग्न गराउने शैली पछ्याए।
मूल्य
व्यवसायिक प्रतिस्पर्धा भनिएपनि यी खेलाडीहरूलाई कति मूल्य तिरिएको छ भन्ने बारेमा कुनै पनि क्लबले सार्वजनिक गरेका छैनन्।
यद्यपि क्लबहरूले खेलाडीको स्तर हेरेर दुई हप्ते प्रतियोगिताका लागि ४ देखि ८ लाख रुपैंयासम्म तिरेको बताइएको छ।
कतिपय क्लब अधिकारीहरूका अनुसार अधिकांश खेलाडी सम्बन्धका आधारमा नेपाल आएका हुन्।
काठमान्डू किंग्सका कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, "विदेशमा खेल्दा सम्बन्ध बनेकाहरूसँग कुरा गरेर हामी बोलाउने गर्छौं। मेरो काठमान्डू किंग्सका खेलाडीहरू सबै त्यसै आधारमा ल्याएका हौं।"
ईपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले मान्यता दिएकोले विश्वका कुनै पनि खेलाडीले खेल्न पाउँछन्।
बृहत्
खेलाडीहरू क्रिकेट खेल्न आउनुको मुख्य कारण व्यवसायिकता नै हो।
तर नेपाल आएका अधिकांश विदेशी खेलाडीहरूले यहाँका दर्शक सामु खेल्ने आफ्नो रहर पहिलो प्राथमिकता र नेपाल हेर्ने चाहनालाई दोस्रो कारण बताउने गरेका छन्।
उनीहरुको प्रतिक्रिया छ, "अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चा बटुल्दै आएको नेपाली क्रिकेटसँग नजिकिएर खेल्ने रहर छ।"
सहभागी टोलीलाई विदेशी खेलाडीसँग सम्पर्क गराउने काम ईपीएल आयोजक प्रमुख आमिर अख्तरले गरेका हुन्।
अख्तर अर्को वर्ष अझ ठूला नामका खेलाडी भित्राउने बताउछन् ।
उनी भन्छन्, "अझ ठूला खेलाडीहरू त नेपाल आउनै बाँकी छ। आशा गरौँ अर्को वर्ष हामीले अझ चर्चित विश्वस्तरीय खेलाडीहरु नेपालमा उतार्छौं।"
दुई वर्षको अनुभवले के देखाएको छ भने नेपालको क्लब क्रिकेट अब विदेशी खेलाडीहरूको प्रदर्शनमा निर्भर हुनेछ।
नेपाली राष्ट्रिय टोलीका र युवा खेलाडीहरूले यिनिहरुसँग खेल्दै नयाँ कुरा सिक्ने विश्वास गरिएको छ।
ईपीएलका चर्चित ३ खेलाडी
रिचर्ड लेभी (दक्षिण अफ्रिका )
क्लब : पोखरा राइनोज
पुर्व क्लब : मुम्बई इन्डियन्स
वर्ष : ३०
शैली : दायाँहाते ब्याट्सम्यान
सहभागिता
टी २० : १८९
फस्ट क्लास: ८८
लिस्ट ए : १२७
पोखरा राइनोजमा अनुबन्धित दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई ईपीएलको सवैभन्दा चर्चित नाम हो। ६ वर्ष अगाडि उनले ४५ बलमा शतक पूरा गरेर टी-२० मा छरितो शतक बनाउने कीर्तिमान बनाएका थिए। आइपीएलमा उनी मुम्बई इन्डियन्सबाट खेलिसकेका छन्। सन् २००६ यु-१९ विश्वकप खेलेका उनी ठूला शट् खेल्न माहिर मानिन्छ। छरितो शतक बनाउने क्रममा ५१ बलमा १३ छक्का प्रहार गर्दै उनले सर्वाधिक छक्काको अर्को कीर्तिमान समेत बनाएका थिए। पोखरा राइनोजको कप्तान समेत रहेका उनी ईपीएलका एकमात्र विदेशी कप्तान पनि हुन्।
रायन टेन डेस्काथे (नेदरल्याण्ड्स)
क्लब : भैरहवा ग्लाडियटर्स
वर्ष :३८
भूमिका : अलराउन्डर
एकदिवसीय : ३३
टी-२० : १०
फस्ट क्लास : १७४
लिस्ट ए : २१९
पूर्व क्लब : कोलकाता नाइट राइडर्स, एसेक्स, चितागोंग किङ्स, कराँची किङ्स
गत जुलाईमा नेपालविरूद्ध लर्डसमा नेदरल्यान्ड्स विरुद्ध खेल्दाका प्रमुख प्रतिद्धन्दी डेकास्थेसँग टी-२० को लामो अनुभव छ। एक दर्जन बढी विभिन्न फ्रेञ्चाइज क्लबबाट गरी उनले तीन सय २० वटा खेल खेलिसकेका छन्। जुन एसोसियट खेलाडीमा सबैभन्दा धेरै हो। मध्यम गतिको बल फ्याल्ने उनले विकेट लिन पनि सिपालु मानिन्छन्।
केभिन ओब्रायन (आयरल्याण्ड)
वर्ष : ३४
क्लब : काठमान्डू किंग्स
भूमिका :अलराउन्डर
टेष्ट : १
एकदिवसीय : १२८
टी २० : ६७
फस्ट क्लास : ४२
२०११ को क्रिकेट विश्वकपमा इङ्गल्याण्ड विरुद्ध ५० बलमा शतक प्रहार गर्ने केभिन ओ ब्रायन सबैले सम्झिने चर्चित नाम हो। उनको त्यो कीर्तिमानले इङ्गल्याण्डआयरल्याण्डसँग पराजित भएको थियो। गत महिना मात्र उनले पाकिस्तानविरुद्धको टेष्टमा शतक प्रहार गरेका थिए ।