'बन्दुकको छायामा हुर्केको' अफगान क्रिकेट

दुबईमा हालै सम्पन्न एशिया कप क्रिकेटको उपाधि भारतीय टोलीले उचाले पनि सबैको मन जित्ने अफगानिस्तानको टोली रह्यो।

हुन त अफगानिस्तान फाइनलसम्म पुगेन, तर फाइनल खेलेका भारत र बांग्लादेश दुवैविरुद्ध अफगान क्रिकेट टोलीले धेरै राम्रो खेल्यो।

समूह चरणका खेलमा अफगान टोली बांग्लादेश र श्रीलङ्कालाई पछि पार्दै शीर्ष स्थानमा रह्यो भने 'सुपर ४' चरणमा पनि उसले निकै राम्रो प्रदर्शन गर्‍यो।

जितको निम्ति पाकिस्तानलाई कडा चुनौती दिएको अफगानिस्तानले बराबरीमा सकिएको भारतसँगको खेलमा उसले भारतलाई ठूलै दबाबमा राख्यो।

मान्यता

अफगानिस्तानको कुरा गर्दा लामो समयदेखि त्यहाँ चलिरहेको द्वन्द्व, विद्रोही हमला लगायतका दृश्य हाम्रो मस्तिष्कमा आउँछन्।

तर त्यसबीच फस्टाएको त्यहाँको क्रिकेटको विकासको कथा कम चाखलाग्दो छैन।

खासमा पाकिस्तानी भूमि हुँदै अफगान सीमाभित्र क्रिकेटले प्रवेश गरेको हो।

सन् १९९० ताका पाकिस्तानमा बसिरहेका अफगान शरणार्थीहरू स्वदेश फर्कँदा आफूसँगै क्रिकेट पनि भित्र्याए।

त्यसपछि सन् १९९५ मा अफगानिस्तान क्रिकेट बोर्ड (एबीसी) गठन भयो र सन् २००१ मा अफगान टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पायो।

त्यसको ठीक एक वर्षअघि तालिबान लडाकु समूहले अफगानिस्तानमा खेलहरूमाथि लगाएको प्रतिबन्ध हटाएको थियो।

आईसीसीबाट मान्यता पाएपछि अफगानिस्तानले क्रिकेटमा ठूलो प्रगति गर्‍यो। सन् २०१५ मा अफगानिस्तान विश्वकपका लागि छनोट मात्रै भएन, पहिलो जित पनि आफ्नो भागमा पार्‍यो।

सन् २०१५ को विश्वकपमा उसले स्कटल्याण्डलाई पराजित गरेको थियो।

अफगानिस्तान टोलीका स्टार अलराउण्डर राशिद खान हाल आईसीसीको वान डे वरीयतामा एक नम्बरमा छन्।

होनहार

उनीबाहेक अफगान क्रिकेट टोलीमा अरू पनि होनहार खेलाडी छन्।

अफगान टोलीका पूर्वकप्तान मोहम्मद नबी पाकिस्तानस्थित एउटा शरणार्थी शिविरमा हुर्केका थिए।

त्यहाँ उनी चिर्पटको ब्याट र थोत्रो कपडाले बनाइएको बलले क्रिकेट खेल्ने गर्थे।

सन् १९९० मा अफगान क्रिकेट टोलीको सपना देख्ने गरेका ताज मलुकले बीबीसीलाई भने, "हामी काच्चा कारा शिविरमा बस्थ्यौँ। मैले शरणार्थी किशोरहरूको एउटा क्रिकेट टोली बनाएँ, जसमा मेरै तीनजना भाइ थिए।"

उनी भन्छन्, "क्रिकेट टोली बनाउने प्रस्ताव लिएर म शरणार्थी बच्चाहरूका अभिभावकहाँ पुग्दा उनीहरूले समय बर्बाद गर्ने खेल भन्दै आफ्ना छोरालाई सामेल गराउन अस्वीकार गरे।"

अफगान टोलीको ओपनर रहिसकेका करिम सादिक पनि पाकिस्तानस्थित काच्चा कारा शरणार्थी शिविरमा बस्थे। राति उद्योगमा काम गर्ने उनी दिउँसो क्रिकेट खेल्थे।

शुरूवातका दिन सम्झिँदै उनले भने, "हामीसँग खाना खाने पैसा पनि हुन्थेन। त्यस्तो अवस्थामा परिवारमा क्रिकेटको कुरा गर्नु ठूलो कुरा थियो।"

क्रिकेटको माध्यमबाट अफगानिस्तानमा राष्ट्रियताको भावना पनि बढिरहेको छ। शुरूवातमा अफगान टोलीमा खासगरी पश्तुन खेलाडी हुन्थे।

स्वरूप

पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रबाट आउने खेलाडीहरूले नै अफगान टोलीको प्रतिनिधित्व गर्थे। तर क्रिकेट टोलीको स्वरूप अहिले फेरिँदैछ।

अफगान क्रिकेटको सफलतामा केही हदसम्म भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को पनि सहयोग छ।

बीसीसीआईले अफगान टोलीलाई नोएडास्थित क्रिकेट मैदान उपलब्ध गरायो, जहाँ अफगान खेलाडीहरू अभ्यास गर्छन्।

त्यसबाहेक बीसीसीआईले अफगानिस्तानमा क्रिकेटको पूर्वाधार निर्माणमा पनि आर्थिक सहयोग गर्ने गरेको छ।

अफगानिस्तानले शारजाहमा यही अक्टोबरमा आफ्नो पहिलो टी ट्वान्टी लिग शुरू गर्दैछ।

यसबाट नै क्रिकेट जगत्‌मा अफगानिस्तान कति तीव्र गतिमा अगाडि बढिरहेको छ भन्ने कुरा बुझ्न सकिन्छ।

त्यसबाहेक आगामी वर्ष इङ्ग्ल्याण्डमा हुने विश्वकप क्रिकेटका लागि पनि अफगानिस्तान छनोट भइसकेको छ।

एशियाली क्रिकेटका दिग्गज खासगरी श्रीलङ्का र पाकिस्तान पछाडि परिरहेको जस्तो देखिएका बेला अफगानिस्तानमा क्रिकेटको उदाउँदो सूर्यले कैयौँ आशा जगाएको छ।