हङ्‍कङ प्रदर्शनमा दुईजना गम्भीर घाइते

हङ्‍कङमा सोमवार भएको विरोध प्रदर्शनको क्रममा कम्तीमा दुईजना गम्भीर घाइते भएका छन्।

घाइते भएका पहिलो व्यक्ति एक प्रदर्शनकारी हुन्। उनीमाथि प्रहरीले बिहान गोली चलाएको हो।

फेसबुकमा प्रत्यक्ष प्रसारण भएको भिडिओमा प्रहरी अधिकृतले बन्द गरिएको सडकमा एकजना प्रदर्शनकारीसँग भिड्नु अगाडि बन्दुक निकालेको देखिएको थियो।

अनुहार छोपेका अर्का एक प्रदर्शनकारीलाई ती अधिकृतले शरीरमा गोली प्रहार गरेका हुन्।

मुठभेड भइरहँदा प्रहरीले थप दुई गोली चलाएपनि भिडिओमा त्यो गोली कसैलाई लागे नलागेको प्रष्ट देखिँदैन।

घाइते अर्का व्यक्ति भने बेइजिङका समर्थक रहेको र उनले प्रदर्शनकारीहरूसँगको वादविवाद पछि आफैँलाई आगो लगाएको बताइएको छ।

हङ्‍कङका प्रमुख कार्यकारी क्यारी लामले सोमवार बेलुकी प्रदर्शनकारीहरूको माग पूरा नहुने बताएकी छन्।

प्रदर्शनकारीहरूले खुकुलो प्रजातन्त्र र प्रहरी उत्तरदायित्वको माग गरिरहेका छन्।

"हामी हङ्‍कङमा भइरहेको हिंसाको सकेसम्म छिटो अन्त्य गर्नका लागि समाधान खोज्न कुनै कसर बाँकी राख्ने छैनौँ," उनले भनिन्।

अवस्था गम्भीर

गोली लागेको व्यक्तिको शल्यक्रिया भइरहेको र उनको अवस्था गम्भीर रहेको अस्पतालसम्बन्धी अधिकारीले बताएका छन्।

ती अधिकारीले अरूलाई गोली लागेको आफूलाई थाहा नभएको बताए।

भिडिओमा घाइते २१ वर्षीय प्रदर्शनकारी लडेको र उनको वरपर रगत देखिएको थियो।

जून महिनामा विरोध प्रदर्शन सुरु भएयता प्रहरीले गोली चलाएको यो तेस्रो पटक हो।

पहिलो पटक अक्टोबर १ मा र दोस्रो पटक अक्टोबर ४ मा प्रहरीले गोली चलाएको थियो।

सोमवार प्रदर्शनकारीहरूले उत्तरपूर्वी क्षेत्रको साई वान होमा सडकमा अवरोध गर्ने प्रयास गरेका थिए।

हङ्‍कङभरी नै मुठभेड भएका विवरणहरू सञ्चारमाध्यमहरूमा आएका छन्। अनलाइनमा देखिएको एक भिडिओमा एउटा प्रहरीको मोटरसाइकल जानीजानी प्रदर्शनकारीहरूसँग ठोक्काएको देखिएको छ।

चाइनीज विश्वविद्यालयमा प्रदर्शनकारीहरूले ढुङ्गाले प्रहार गरेपछि प्रहरीले रबरको गोली प्रहार गरेका छन्। अन्यत्र प्रहरीले अश्रुग्यास प्रहार गरेका छन्।

प्रदर्शनकारीहरूले सडकमा अवरोध खडा गरेका कारण लामो ट्राफिक जाम देखिएको छ।

थुप्रै विश्वविद्यालयहरूले सोमवारको कक्षा रद्द गरेका छन्।

गएको शुक्रवार अश्रुग्यास प्रहारपछि विद्यार्थीहरू भाग्दै गर्दा एकजना विद्यार्थीको मृत्यु भएपछि प्रदर्शन उग्र भएको हो।