वसन्तमा 'ट्राफिक जाम' हुने सगरमाथा चढ्न शरद्‍ याममा १० मात्रै विदेशी

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

सगरमाथा आरोहणका लागि कठिन मानिने शरद् याममा यो वर्ष १० विदेशी आरोहीले अनुमति लिएको अधिकारीहरूले बताएका छन्।

गएको वसन्त याममा भने सबैभन्दा बढी झन्डै ४०० आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए।

सन् २०१० को अक्टोबरमा अमेरिकी आरोही एरिक लर्सेनले आरोहण गरेयता शरद् याममा कोही पनि आरोही विश्वको सर्वोच्च शिखरमा पुगेको छैन।

वसन्त याममा सगरमाथामा 'ट्राफिक जाम' भएको र त्यसका कारण ज्यानै गएको समाचारहरू आएपनि त्यो भिडलाई शरद् यामले आकर्षण गर्न सकेको छैन।

शरद्मा आरोहण किन कठिन?

अनुभवी आरोहीका भनाइमा शरद् याममा ८,३०० मिटरभन्दा माथि निकै कठिन हुन्छ।

वर्षासँगै हुने हिमपात र वायुको गति उच्च हुने भएकाले अनुभवी आरोहीहरू पनि 'केही भन्न नसकिने' बताउँछन्।

"चढ्नै नसक्ने चाहिँ होइन, चुचुरो पुग्ने बाटो एउटै नै हो," नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङ्छिरिङ् शेर्पा भन्छन्।

"सन् १९९० भन्दा अगाडि वसन्त र शरद् याममा उत्तिकै आरोहीहरू हुन्थे। मौसमी अनुकूलता मिलेमा प्राविधिक रूपमा वसन्त यामभन्दा खासै फरक छैन।"

नेपालमा बहुदलीय व्यवस्था आउनुअघि सगरमाथाको एउटा बाटोमा एउटा मात्र आरोहण दलले अनुमति पाउने कारण त्यसबेला शरद् र वसन्त दुवै याममा आरोहण हुने गर्थ्यो।

व्यावसायिक आरोहण सुरु भएयता भने सो व्यवस्था खारेज गरियो र सहज मानिने वसन्त याममा मात्र आरोहीहरू सगरमाथा चढ्न थाले।

'एक बाटो, एक दल' व्यवस्थाकै कारण सन् १९८० को दशकमा पोल्याण्डका आरोहीले जाडोयाममा समेत पहिलो सफल आरोहण गरेका थिए।

जनशक्ति र मौसम

शरद् याम पदयात्राको लागि चिनिएकाले सगरमाथाका लागि खटिने शेर्पाहरू पदयात्रा गाइडका रूपमा व्यस्त हुन्छन्।

यो वर्ष शरद् याममा सबैभन्दा बढी आरोही मनास्लु हिमालमा छन्। यो याममा कम्तीमा २५० आरोहीले मनास्लु आरोहणको प्रयास गर्दैछन्।

धवलागिरीमा ३०, लोत्सेमा १३ र मकालुमा चार समेत गरी ३३९ आरोहीले विभिन्न हिमाल आरोहणको अनुमति लिएका छन्।

"वसन्तको मौसम गर्मीतिर ढल्किने हुँदा दिन लामो हुने भएपनि शरद‍्‍मा त्यो ठ्याक्कै उल्टो हुँदा चिसो धेरै हुन्छ," अमेरिकी आरोही एवम् लेखक एलन अर्नेटले बीबीसीसँग भने।

"मौसमी हिसाबले छिटोछिटो हिमालको अवस्था फेरिने समय भएकोले यहाँ अनुकूल समयको सदुपयोग समयमै नगरिए आरोहीहरू चुचुरो पुग्ने अवसर गुमाउन सक्छन्।"

अन्य हिमालको तुलनामा सगरमाथा चढ्न बढी समय अर्थात् झन्डै छदेखि आठ हप्ता लाग्छ।

मनास्लु आरोहण गर्न एक महिना र आमादब्लमको लागि दुई साता नै काफी हुने आरोहीहरूको भनाइ छ।

आरोहीहरू के भन्छन्?

सन् २०१९ कै वसन्त याममा सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै ३८१ आरोहीले अनुमति पाएका थिए।

आरोहणको क्रममा नेपालतर्फ नौ जनाले ज्यान गुमाउँदा कतिपयले त्यसको कारण भिडलाई मानेका थिए।

शरद् याममा सगरमाथा चढ्ने अनुमति लिएकाहरूमा अमेरिकी आरोही ग्यारेट म्याडिसन समेत छन्।

उनले कम भिडभाडबीच व्यावसायिक आरोहणको सम्भावना हेर्नु आफ्नो उद्देश्य रहेको बीबीसीलाई बताए।

म्याडिसनले भने: "तर बढी हिउँ पर्ने अवस्थाका कारण हामी केही सीमित आरोहीले बाटो बनाउने, अप्ठेरो पर्दा आफैँ जुझ्नुपर्ने चुनौतीहरू भने छन्।"

म्याडिसनको भनाइसँग अर्का आरोही एलन अर्नेट सहमत छन्।

उनी भन्छन्, "हिमालमा अन्य दलले सहयोग गर्छन् भनेर सोच्नु ठीक त होइन तर त्यसले एउटा मनोवैज्ञानिक आड भने अवश्य दिन्छ।"

"सगरमाथामा थुप्रै ज्यानहरू त्यसरी बचेका उदाहरण हामीले बिर्सन पनि हुँदैन।"

'ट्राफिक जाम'

नेपालले शरद् याममा आरोहीको सङ्ख्या बढोस् भनेर अनुमति शुल्क समेत आधा अर्थात् प्रति विदेशी आरोही ५,५०० अमेरिकी डलर लिने गरेको छ।

तर तयारीका अन्य पूर्वाधारमा अधिक खर्च हुने भएकाले आरोहीहरू आकर्षित हुन सकेका छैनन।

वसन्त याममा आधार शिविर र क्याम्प वानबीचको 'खुम्बु आइसफल'मा बाटो बनाउने र व्यवस्थापन गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले शरद् याममा भने त्यसलाई आफ्नो जिम्मेवारी मान्दैन।

अध्यक्ष आङ्दोर्जी शेर्पा भन्छन्, "वसन्त याममा प्रतिव्यक्ति ६०० अमेरिकी डलर लिने गर्छौँ।"

"अहिले बाटो बनाउनका लागि कम्तीमा २५ हजार अमेरिकी डलर चाहिने बताएका छौँ।"

के सरकारले शेर्पा जनशक्ति र पूर्वाधारका कामलाई व्यवस्थापन गर्ने हो भने वसन्त याममा हुने आरोहीको भिड शरद्‍मा सर्न सक्छ त?

अर्नेट भन्छन्: "नेपालले दुवै यामका लागि अनुमति दिने सङ्ख्याको सीमा कायम गर्‍यो भने मात्र शरद् याममा आरोहीको भिड मोडिन सक्छ।"

"अन्यथा आरोहीहरू अहिलेकै तरिकाले वसन्तमा मात्रै सगरमाथा चढिरहनेछन्।"