तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सगरमाथा: 'भिडका कारणले मात्र आरोहीको ज्यान गएको भन्ने प्रचार दु:खद'
नेपाल सरकारको पर्यटन विभागले गत साता सगरमाथाको माथिल्लो भागमा पर्वतारोहीहरूको भिडका कारण केही आरोहीहरूको ज्यान गएको भन्ने समाचार तथा धारणाहरू सत्य नभएको बताएको छ।
यो वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको क्रममा ज्यान गुमाउने वा हराउनेको संख्या १६ पुगेको विभागको भनाइ छ।
सर्वोच्च शिखर सगरमाथामा मात्र अहिलेसम्म ८ जनाको ज्यान गइसकेको बताइएको छ। ती मध्ये चार जना आरोहीको मे २२ र २३ तारिखका दिन सगरमाथा शिखरदेखि केही तल बाल्कोनी अर्थात कौसी भनिने क्षेत्रमा ज्यान गएको थियो।
मौसम खुलेको बेला
त्यो अवधिमा मौसम खुलेकोले धेरै आरोहीहरू शिखरतर्फ लागेका र त्यसक्रममा त्यस क्षेत्रमा माथि जाने र तल झर्ने आरोहीहरूको भिड बढेका विवरणहरू सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भएका थिए।
तर पर्यटन विभागका महानिर्देशकले आइतवार जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, "२२ र २३ मेमा सगरमाथाको चौथो शिविर र त्यो भन्दा माथि केही बाक्लो सङ्ख्यामा आरोहीहरू रहेको भएपनि आरोहीहरूको मृत्युको एक मात्र कारण 'आरोहण मार्गमा रहेको चाप मात्र हो' भन्ने धारणा राखी प्रचार गरिनु दु:खद छ।"
आरोहीहरूको मृत्युको कारण "वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने विषय" भएको बताउँदै पर्यटन विभागले "यस्ता विषयमा आफ्ना धारणा सार्वजनिक गर्नुअघि सबैले ध्यान पुर्याउन" अनुरोध गरेको छ।
उसले आरोहीहरूको मृत्युप्रति गहिरो दु:ख व्यक्त गर्दै आरोहण सुरक्षित तुल्याउन सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएको छ।