नयाँ युरोपेली आयोग टोली 'पहिलो पटक लैङ्गिक समानतायुक्त'

युरोपेली आयोगकी नयाँ प्रमुख पद सम्हालेकी उर्जुला फोनदेर लाइनले आफ्नो टोलीमा उल्लेखनीय सङ्ख्यामा महिलाहरू रोज्दै नयाँ आयुक्तहरूको टोली सार्वजनिक गरेकी छिन्।

युरोपेली संसदले अनुमोदन गरेमा फोनदेर लाइनको कार्यकारिणी टोली युरोपेली सङ्घकै इतिहासमा सबैभन्दा लैङ्गिक विविधतायुक्त समूह बन्नेछ।

निकै अनुभवी व्यक्ति रहेका उनको टोलीमा डेनमार्ककी मार्ग्रेट भेस्टायर समेत रहेकी छन् जसलाई राष्ट्रपति ट्रम्पले अमेरिकालाई घृणा गरेको भन्दै आलोचना गरेका थिए।

उनको टोली यूरोपेली सङ्घ ईयू र युरोपेली संसदबाट अनुमोदिन हुन बाँकी नै छ।

उनको टोलीमा रहेका आयुक्तहरूले २८ देशहरूको समूहबाट ब्रिटेनको बहिर्गमनको व्यवस्थान गर्ने र जलवायु परिवर्तनविरुद्ध लड्ने जस्ता कठिन चुनौतीहरूको सामान गर्नु पर्नेछ।

लैङ्गिक विविधतायुक्त

युरोपेली संसदले अनुमोदन गरेमा फोनदेर लाइनको कार्यकारिणी टोली युरोपेली सङ्घकै इतिहासमा सबैभन्दा लैङ्गिक विविधतायुक्त समूह बन्नेछ। त्यसमा १३ महिला र १४ पुरुष रहेका छन्।

युरोपेली आयोगका प्रस्तावित नयाँ टोलीमा ब्रिटेनका कुनै पनि व्यक्ति छैनन् किनभने आउने अक्टोबर ३१ को दिन ब्रिटेनले औपचारिक रूपमा ईयू छोड्ने कार्यक्रम छ।

ब्रसल्समा रहेको युरोपेली आयोगको मुख्यालयले कानुनको मस्यौदा बनाउने देखि ईयूका नीति नियम तथा ईयूका सन्धिहरूको कार्यान्वयन गर्ने काम गर्दछ।

फोनदेर लाइन जर्मनीकी पूर्व रक्षामन्त्री हुन्। उनले नोभेम्बर १ का दिन पूर्व अध्यक्ष जँ क्लड युन्करलाई प्रतिस्थापन गर्नेछिन्।

युरोपेली आयोगको नयाँ कार्यकारिणीमा सबै सदस्य राष्ट्रहरूबाट एक एक गरी जम्मा २७ सदस्य रहेका छन्। उनीहरूको कार्यकाल पाँच वर्षको हुनेछ।

त्यो पद सम्हाल्नु सबै ईयू सदस्य राष्ट्रहरूमा निकै प्रतिष्ठाको विषय ठान्ने गरिन्छ।

फिल होगन (आयरल्याण्ड) - व्यापार आयुक्त

अहिले कृषि र ग्रामिण विकासका लागि ईयू आयुक्त रहेका फिल होगन आयरल्याण्डका पूर्व मन्त्री हुन्।

उनले ब्रेक्जिट वार्तालाई लिएर ब्रिटेन सरकारको आलोचना गर्ने गरेका छन्। आयरल्याण्डको सिमानाको विषयलाई लिएर उनले असन्तुष्टिहरू व्यक्त गर्ने गरेका छन्।

मर्गरिटिस शिनास (ग्रिस) - उपाध्यक्ष, युरोपेली जीवनशैली

मर्गरिटिस शिनास आफूले भने जस्तै गरेर देखाउन रुचाउँछन्। उनी अहिले ईयू आयोगका प्रवक्ता हुन् र ग्रिसको न्यू डिमोक्र्यासी पार्टीका नेता हुन्।

उनले बेक्जिटपछि ब्रिटेनका बस्ने ईयु नागरिकका विषयमा चासो राख्दै आएका छन्।

उनी अनुमोदित भए भने उनले आप्रवासन, सुरक्षा, रोजगारी र शिक्षामा ध्यान केन्द्रित गर्नेछन्।

फ्रन्स टिमरमन्स (निदर्ल्याण्डस्) - उपाध्यक्ष युरोपेली 'ग्रिन डिल'

निदर्ल्याण्डसका फ्रन्स टिमरमन्स मध्य दक्षिणपन्थी राजनीतिज्ञ हुन् जसले जलवायु परिवर्तनविरुद्ध लड्न चासो देखाएका छन्।

अनुमोदित भएमा उनी लिथुवानियाका २८ वर्षीय भर्जिनीयस सिन्केभिचुससँगै मिलेर जलवायु परिवर्तनविरुद्ध जुझ्ने काममा जुट्नेछन्।

मार्ग्रेट भेस्टायर (डेनमार्क)

अर्की उपाध्यक्ष रोजिएकी डेनमार्ककी मार्ग्रेट भेस्टायरको काँधमा चाहिँ युरोपलाई डिजिटल युगमा लैजाने अभिभारा सुम्पिइएको छ।

उनी डेनमार्ककी प्रसिद्ध राजनीतिज्ञ हुन्। उनले ईयूमा आयुक्तको रूपमा काम गर्दै गुगल र एपल कम्पनीलाई ठूलो जरिवाना गराउन सफल अनुसन्धानको नेतृत्व गरिसकेकी छिन्।

डेनमार्कको अर्थ र आन्तरिक मामिला मन्त्री रहिसकेकी उनी रिन्यू यूरोप नाम समूहकी सदस्य समेत हुन्।