लैङ्गिक असमानता: अदृश्य तर सर्वव्यापी अवरोध तोड्ने महिला वैज्ञानिकहरू

चन्द्रमामा अन्तरिक्षयान अवतरण गराउने काम गर्ने एकजना महिला इन्जिनियरले उनलाई एकपटक कसरी यान नियन्त्रण कक्षमा महिलाका लागि स्थान छैन सुनाइयो भनेर बताएकी छन्।

विगत ५० वर्षमा लैङ्गिक समताका लागि धेरै कुराहरू परिवर्तन भएका छन् तर कतिपयको अपेक्षा अनुसारको तीव्र गतिमा भने परिवर्तन भएको छैन।

बीबीसीले आफ्नो क्षेत्रका अवरोधहरू तोड्ने विभिन्न पुस्ताका पाँचजना वैज्ञानिकसँग कुराकानी गरेको छ।

अगुवा प्राध्यापक जोस्लेन बेल बर्नेल

पचास वर्षभन्दा पहिले पहिलो पल्सर पत्ता लगाएर चर्चित भएकी प्राध्यापक डेम जोस्लेन बेल बर्नेलले जीवनभर विज्ञानमा महिलाहरुको उपस्थितिका लागि वकालत गरिन्।

सन् १९५० ताका उत्तरी आयरल्यान्डको एउटा विद्यालयको छात्राकाका रूपमा उनलाई अन्य छात्राहरूले जस्तै विज्ञान पढ्ने अनुमति थिएन।

तर उनका अभिभावक र अन्य केहीले उनको समर्थन गरेपछि उनले विज्ञान पढ्न पाइन्।

उनी भन्छिन्, "केटाहरूलाई विज्ञान प्रयोगशालामा पठाइयो भने केटीहरूलाई गृहविज्ञान कक्षामा पठाइयो किनकि सबैलाई थाहा थियो केटीहरू बिहेका लागि मात्र पढ्छन् र उनीहरूले घरगृहस्थी सिक्नु जरुरी थियो।"

हाल अक्सफोर्ड विश्वविद्यालयमा एस्ट्रोफिजिक्सकी भिजिटिङ प्राध्यापक रहेकी उनी महिला वैज्ञानिकहरूको एक समूहकी सदस्य छिन्।

सो समूहको प्रयासका कारण महिलाहरूको विज्ञानमा करियर अघि बढाउने प्रतिबद्धताले मान्यता पाएको छ।

एथेना स्वान नामक योजनाले विश्वविद्यालयहरू र कलेजहरूमा लैङ्गिक समानता खोज्छ।

उनी भन्छिन्, "विश्वविद्यालयहरूलाई रकम दिने केही निकायहरूले हाम्रो पैसा चाहन्छौँ भने एथेना स्वानको पक्षमा उभिनुपर्छ नभन्दासम्म सुरुवात धीमा थियो।"

विज्ञानमा भएको लैङ्गिक विभाजन महिलाको दिमागले गर्ने कुनै कुराभन्दा पनि संस्कृति रहेको र कतिपय मुलुकहरूले अरूभन्दा निक्कै राम्रो गरेको उनी बताउँछिन्।

उदाहरणका लागि एस्ट्रोफिजिक्समा फ्रान्स, स्पेन र इटालीजस्ता दक्षिणी युरोपेली मुलुकहरूले जर्मनी र नेदरल्यान्डस्जस्ता उत्तरी युरोपेली मुलुकहरूले भन्दा राम्रो गरेका छन्।

उनी भन्छिन्: "ती सबै मुलुकहरूमा महिलाको अनुपात बढिरहेको छ। तर बढ्ने क्रम भने उस्तै रहनु चाहिँ रोचक हो। प्रगति सुस्त छ। परिवर्तन बिस्तारै हुँदैछ।"

विज्ञानमा महिलाहरूको उपस्थितिका लागि उनको सुझाव छ, "नडराउनुस्, त्यसैमा आफूलाई झुण्ड्याउनुस्, कडा काम गर्नुहोस्, र साहसी बन्नुहोस्।"

शोधकर्ता डा. निकोला बीयर

डा. निकोला बीयरमा विज्ञानप्रतिको लगाव सानै उमेरमा विकसित भएको थियो।

उनको सबैभन्दा पुरानो सम्झना भनेको उनी प्राथमिक विद्यालयमा हुँदा एकजना शिक्षकले चामलले भरिएको कागजको थाल र सानो खालको स्पीकर प्रयोग गरेर देखाएको ध्वनी तरङ्गको अवधारणा हो।

उनको परिवारबाट विश्विवद्यालय जाने उनै पहिलो व्यक्ति हुन्। उनले ब्रिस्टोलबाट जीव रसायनको डिग्री लिइन र अक्सफोर्डबाट विद्यावारिधि गरिन्।

त्यसपछि बीयरले अमेरिकाको एमआईटी र हार्वर्डमा फुलब्राइट छात्रवृत्ति पाइन्।

नोवो नर्डिस्क रिसर्च सेन्टर अक्सफोर्डमा बायोलोजी र फर्माकोलोजी अन्वेषण विभागको प्रमुख रहेकी उनी विभागीय प्रमुख र वैज्ञानिक दुवै हुन्।

"यो रणनीतिक दिशा निर्धारण गर्ने बारेमा हो। यसले मानिसहरूको विचारलाई परिपक्व गर्न मद्दत गर्छ। उनीहरूको करियरमा सहायता पनि गर्छ," उनी भन्छिन्।

नेतृत्व तहमा थोरै महिला मात्र छन् भन्नेमा उनी विश्वास गर्छिन्।

ज्ञान बाँड्न, संरक्षणकर्ताका रूपमा र सामान्य रूपमा उदार र अरूलाई ढोका खोलिदिने बनेर महिलाहरूले एक अर्कालाई सहयोग गर्नु उनीहरूको दायित्व भएको उनको मान्यता छ।

"यो त्यस्तो कुरा हो जुन सबैतिर हुनुपर्छ जस्तो लाग्छ चाहे ती महिला हुन् वा युवापुस्ता अथवा करियर बनाउने क्रममा रहेका मानिसहरू," उनी भन्छिन्, "हाम्रो दायित्व आफ्नो पदको रक्षा गर्ने भन्दा पनि त्यसका लागि मार्ग प्रसस्त गर्ने हो त्यसका लागि उदारता धेरै महत्वपूर्ण हुन्छ।"

महिला नेताका रूपमा उनले देख्ने गरेको कुरा प्राय: मानिसहरूले महिलालाई नेता बन्नका निम्ति उच्च आवाजमा बोल्नु वा कुनै अवस्थामा बढी मुखर हुनु अथवा निर्धारित तरिकाले कुराहरूको जवाफ दिनुजस्ता समान खाले सुझावहरू दिने गरेका हो।

"मलाई लाग्छ महिलाहरूलाई सबैभन्दा असल नेता बन्न प्रोत्साहित गर्नका निम्ति हामीले जे अनुभव गर्छौँ त्यसका आधारमा बनेको पूर्वधारणाको साटो हामीले ठोस प्रयास गर्नुपर्छ," उनी भन्छिन्।

त्यसका लागि हामीले एक अर्काको बारेका हामीले के हासिल गर्‍यौ र हामी के काम गर्न सक्छौँ भन्ने जस्ता पूर्वधारणाहरूबाट बच्नुपर्ने हुन्छ।

"म अदृष्य अवरोधहरू नष्ट गर्नेबारे भावुक छु र वास्तवमै मलाई लाग्छ हामीले हामीबीचको पूर्वधारणाहरूलाई तोड्नु आवश्यक छ," उनी भन्छिन्।

ट्रेलब्लेजर: ग्लेडिस गेटिच

जब एउटा बैठकमा ग्लेडिस गेटिचलाई 'तिमी एक इन्जिनियर जस्तो देखिदैनौँ' भनियो तब उनी एउटा इन्जिनियर कस्तो देखिनुपर्छ भन्ने सोच्दै घर पुगिन्।

मेकानिकल इन्जिनियरिङ पढ्ने एकजना शोधार्थीका रूपमा उनलाई परम्परागत सोचसँग लड्नु सामान्य जस्तै भएको छ।

सन् १९८० ताका केन्यामा मेकानिकल इन्जिनियरिङ गर्ने आठ मध्ये एक महिलामा उनी पर्छिन्।

आफ्नो पहिलो वर्षको पढाइबारे उनी भन्छिन्, "हाम्रो कक्षाका अधिकांश केटाहरूले सोच्थे हामीले पास गर्न सक्दैनौँ।" तर उनले प्रथम श्रेणीमा पास गरिन्।

उनी हाल अक्‍सफोर्ड विश्वविद्यालयमा एयरोस्पेस इन्जिनियरिङमा विद्यावारिधि गर्दैछिन्।

दिगो विकासलाई सहयोग गर्ने खालको एउटा अन्तरिक्ष विज्ञान प्रविधिको अनुसन्धान गरेबापत हालै उनले सन् २०१९ को स्मिट साइन्स फेलोसिप पनि पाएकी छिन्।

प्राध्यापक बेल बर्नेलबाट प्रभावित उनी नयाँ पुस्ताका इन्जिनियरहरूलाई प्रोत्साहित गर्न चाहन्छिन्।

"कसै न कसैले त नयाँ बाटो बनाउनै पर्छ। कोही अरूका लागि मार्ग प्रसस्त गर्नका निम्ति कसै न कसैले त हिड्न थाल्नै पर्छ भन्ने कुराले मलाई अघि बढ्न प्रेरित गर्छ," उनी भन्छिन्।

"मलाई आशा छ मभन्दा पछि आउने महिलाका लागि एउटा गोरेटो हुनेछ र उनीहरूले मैले जस्तो धेरै परीक्षा दिनुपर्ने छैन।"

सीमाहरूलाई धकेल्दै: डा. मेगन ह्वीलर

विश्वसामूका ठूला चुनौतीहरूलाई कसरी सामना गर्ने? त्यसको समाधान विज्ञानसँग छ तर यदि तपाईंले धेरैखाले चस्माबाट त्यसलाई हेर्नुभयो भने मात्र। यो डा. मेगल ह्वीलरको दृष्टिकोण हो।

उनी स्मिथ साइन्स फेलो कार्यक्रमकी कार्यकारी निर्देशक हुन्। यसले आगामी पुस्ताका वैज्ञानिकहरूलाई प्रशिक्षित गर्ने अभियान चलाएको छ।

डा. ह्वीलरसँग दुईवटा विद्यावारिधि छन् - स्नायु विज्ञानमा अक्सफोर्ड विश्वविद्यालयबाट र मनोविज्ञानमा क्याथोलिक विश्वविद्यालय अमेरिकाबाट। हाल उनी विश्वव्यापी चुनौतिहरूलाई प्रभावशाली तथा सर्वश्रेष्ठ विज्ञानका माध्यमबाट समाधान गर्ने एउटा कार्यक्रमको नेतृत्व गरिरहेको छिन्।

'मानव जेनोम' परियोजनाजस्ता प्रयासहरूले विज्ञानको परम्परागत सीमाहरूलाई अन्वेषणका माध्यमबाट थप प्रभावशाली बनाएको उनी बताउँछिन्।

उनी भन्छिन्, "मलाई लाग्छ हामीसँग दुवैखाले वैज्ञानिक छन् जोसँग वास्तविक अनुभवको गहिराइ छ तर महत्वपूर्ण कुरा कसले ती सीमाहरूलाई पार गर्न सक्छन् भन्ने हो।"

अहिलेको जमानमा वैज्ञानिक हुनु भनेको प्रयोगशालबाट बाहिर आएर आफूले गरेको काम किन महत्वपूर्ण छ भनेर भन्न सक्नु पनि भएको उनी ठान्छिन्।

यसका लागि सर्वसाधारण, वित्त व्यवस्थापन गर्ने निकाय र नीति निर्माताहरूलाई संलग्न गर्न व्यापक दक्षताको आवश्यकता पर्छ।

तर पनि अन्य क्षेत्रबाट वैज्ञानिकहरूसँग काम गर्नका लागि आफू एक्लैले नदेखेका समाधानहरू खोज्नुपर्ने उनको सुझाव छ।

चम्किदैँ गरेकी तारा: एलिना आइनो योहाना पोस्टी

भौतिक विज्ञानका शिक्षक र एक चिकित्सककी छोरी एलिना आइनो योहाना पोस्टी फिनल्यान्डमा हुर्केकी हुन्। उनको परिवारमा विज्ञानबारेको संवाद फरक खालको हुने गर्थ्यो।

अब त्यहाँ आकाश गड्गडाउथ्यो, उनका पिता त्यस पछाडिको भौतिकशास्त्र वर्णन गर्थे भने आमा चाहिँ मानव शरीरको वर्णन गर्थिन्।

एउटी बालिकाका रूपमा उनले उद्यमशीलताको भावना देखाइन् र उनले समुद्री तटमा आफ्नै फार्मेसी स्थापना गरिन्।

विद्यालयमा उनले जीव विज्ञान पढिन्। त्यसैले उनको भविष्य तय गर्‍यो।

"म डीएनए निकाल्न सक्छु र एउटा प्रयोगशालामा काम गर्न सक्छु भन्ने कुरा आश्चर्यजनक थियो। मलाई यो एकदमै रोचक लाग्यो र मलाई म यसैमा केही गर्नसक्छु जस्तो लाग्यो," उनले भनिन्।

उनलाई व्यक्तिगत रूपमा विज्ञानले मोहित बनाएको छ। किनकि उनलाई कुनै कुरा बुझ्न मन पर्छ। र, बुझ्नु भनेको पढ्नु र सिक्नुभन्दा बढी हो।

उनले हेलसिन्की विश्वविद्यालयमा मोलिक्युलर विज्ञान पढिन् र कोपनहेगनबाट एमबीए गरिन्।

हाल उनी नोवो नर्डिक रिसर्च सेन्टर अक्सफोर्डमा वैज्ञानिक छिन्। उनी त्यहाँ रोग पत्ता लगाउने नयाँ उपकरणहरूको अन्वेषणमा संलग्न छिन्।

उनका अनुसार फिनल्यान्डमा विद्यालयका बेला सबैलाई बराबर व्यवहार गरिन्थ्यो। त्यो महिलालाई विज्ञान क्षेत्रमा अघि बढ्नका निम्ति महत्वपूर्ण हो।

"विज्ञान क्षेत्रमा महिलालाई कसरी अघि बढाउनु पर्छ? मलाई लाग्छ सानैदेखि नै त्यो कामको शुरूवात् हुनुपर्छ," उनले भनिन्।