तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीनलाई नेपालमा चिया उत्पादन गर्न निम्तो: ‘बगान नै दिन तयार’
- Author, उमाकान्त खनाल
- Role, बीबीसी नेपाली सेवा
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालको चिया उत्पादन तथा प्रशोधनमा चिनियाँ प्रविधि भित्र्याउने धारणा राखेपछि चिया क्षेत्रका सरोकारवालाले नेपालको माटोको अध्ययनपछि मात्रै यसबारे निर्णय लिन सुझाव दिएका छन्।
नेपालको मूलतः पहाडी भेगमा चियाको व्यावसायिक खेती गरिन्छ।
तराईमा सीटीसी चिया उत्पादन हुने गरेको छ भने पहाडमा अर्थोडक्स।
चीनको हावापानी र माटोमा हुने चियाको उत्पादन र नेपालमा भइरहेको उत्पादन प्रणाली फरक रहेकाले चिनियाँ प्रविधि यहाँ मेल खान्छ वा खाँदैन भन्नेबारे पहिले अध्ययन हुनु जरुरी रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक दीपक खनाल बताउँछन्।
उनले भने, "चिनियाँ प्रविधि भित्र्याउनुअघि हाम्रो अहिलेको उत्पादन र ती उत्पादनलाई कसरी विविधीकरण गर्न सकिन्छ भन्नेबारे अध्ययन हुनुपर्छ। त्यहाँ चीनमा जस्तै लाभ लिन सकिन्छ वा सकिँदैन भन्ने कुराको निर्क्यौल हुनुपर्छ।"
चियाबारे अध्ययनकै क्रममा चीन पुगेका व्यवसायीहरूका अनुसार चीन र नेपालको हावापानी चिया उत्पादनमा मेल खाने देखिन्छ।
चीनले गरिरहेको उत्पादनको प्रविधि नेपाल भित्र्याइए नेपालको चिया क्षेत्र फस्टाउने चिया उद्योगी आदित्य पराजुलीको तर्क छ।
तर उनले पनि उक्त प्रविधि नेपाल ल्याउन बृहत् अध्ययन गर्न जरुरी रहेको बताए।
'चिनियाँ प्रविधि ल्याउने गृहकार्यमा सरकार'
चिया विज्ञका अनुसार अहिले नेपालमा भइरहेको चिया प्रशोधन भारतीय प्रविधिमा आधारित छ।
अहिलेको विधिबाट ज्यादा "सीटीसी" तथा "ब्ल्याक अर्थोडक्स' चिया उत्पादन हुने गरेको छ।
ती चियाको ठूलो हिस्सा भारत निर्यात हुने गरेको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत इन्द्र अधिकारीका अनुसार चिनियाँ प्रविधिमा जाँदा हरियो चियापत्तीलाई प्रशोधन गरेर अहिलेको उत्पादनका प्रकारलाई अझ बढाएर बढी मूल्यमा तेस्रो मुलुकमा विक्री गर्न सकिन्छ।
उनले चिनियाँ प्रविधिबाट 'ग्रिन', 'ह्वाइट', 'उलङ' तथा तेस्रो देशमा माग हुने 'अर्थोडक्स' चिया उत्पादन गर्न सकिन्छ।
सानादेखि ठूला चिया उद्योगले चिनियाँ उपकरणको प्रयोग गरी प्रशोधनको काम पनि अघि बढाउन सक्ने अधिकारी बताउँछन्।
उनी भन्छन्, "अहिले पनि पहाडका केही सहकारीले २० देखि २५ लाख रुपैयाँ खर्च गरेर चिनियाँ उपकरण ल्याएर विदेश निर्यात हुने चिया उत्पादन गरिरहेका छन्।'
इलामको गोर्खा टी स्टेटकी बजार निर्देशक उरुसा चापागाईँका अनुसार चिनियाँ प्रविधिका कारण धेरै प्रकारका चिया बनाउन सके विदेश निर्यात गरिने चियाको प्रकारमा विविधता आउने छ।
चापागाईँले भनिन्, 'सरकारको योजना अनुसार काम हुने हो भने हामी 'ग्रीन र ब्ल्याक टी'मा मात्र भर पर्नु पर्दैन।'
निजी क्षेत्रको आग्रहमा बेलाबेला चिनियाँ प्राविधिक आएर चिया प्रशोधनमा केही सहयोग पनि गरिरहेका छन्।
उनीहरूको प्रशोधन र उपकरण भिन्न किसिमको हुने गरेको एकजना चिया प्राविधिक विनिता लामिछाने बताउँछिन्।
उनले भनिन्, 'उनीहरूको प्रशोधनको प्रविधि तथा उपकरणहरू नै फरक छन्। राम्रो हुने त भइहाल्यो नि।'
नेपालको चिया उत्पादनमा चिनियाँ प्रविधि भित्र्याउने गृहकार्यमा सरकार लागेको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले बताए।
सरकारले उपलब्ध गराएको जमिनमा गरिने चिनियाँ नमुनाखेती नेपालको चिया उत्पादनमा पनि उदाहरणका रूपमा लिन सकिने मन्त्री खनालको भनाइ छ।
कृषिमन्त्री खनालले चीनमा धेरै प्रकारका चिया प्रशोधन प्रविधि रहेको बताए।
उनले भने, 'मैले चिनियाँ अधिकारीहरू तथा त्यहाँका चिया निर्यातकर्ताहरूसँग कुरा गरेको छु। त्यसैले नेपालको उत्पादनको गुणस्तर बढाउनका लागि चीनलाई जग्गा उपलब्ध गराएर नमुना खेती गर्न दिने निर्णयमा पुगेको हुँ।'
चिनियाँलाई चिया उत्पादनका लागि नेपालको निम्तो
कृषिमन्त्रीको कुरालाई आधार मान्ने हो भने नेपालमा अब चियाखेती र त्यसको बजारीकरणका लागि गुणस्तर बढाउन चिनियाँ प्रविधि भित्रिने पक्का भइसकेको छ।
उनका अनुसार अहिले चियामा विश्व बजारमा ख्याति कमाएको चीनमा ११ प्रकारका चिया अति नै महँगो मूल्यमा विक्री हुने उत्पादन हुन्। ती नेपालमा अहिलेसम्म उत्पादन हुन नसकेको उनी बताउँछन्।
मन्त्री खनालले भने, 'एक किलोको लाखौँ रुपैयाँ पर्दोरहेछ। हामीकहाँ त्यस्तो चिया बन्न सकेकै छैन।'
नेपालका एकजना चिया निर्यातकर्ता बुद्ध तामाङका अनुसार नेपालको महँगो चिया प्रतिकिलो २० हजार नेपाली रुपैयाँमा उद्योगीहरूले बेच्ने गरेका छन्।
चीनको सबभन्दा दुर्लभ र महँगो चिया प्रतिकिलो १२ लाख अमेरिकी डलरसम्ममा विक्री हुने गरेको बताइन्छ।
नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल चिया विकास निगमले निजी कम्पनीलाई चिया बगानका जमिन भाडामा दिएको छ।
तर त्यसबाट राजश्व गुमिरहेको भन्दै अब सिधै चिनियाँ टोलीलाई जमिन उपलब्ध गराउन लागिएको मन्त्री खनाल बताउँछन्।
ठूलो बजार-भारत
नेपाली तयारी चियाको ठूलो बजार भारत नै हो।
अहिलेसम्मको बजार हेर्ने हो भने नेपाली तयारी चियाको ४० प्रतिशत आन्तरिक खपत र ६० प्रतिशत हिस्सा विदेश निर्यात गर्नुपर्छ।
त्यसमा पनि करिब १० प्रतिशत मात्र भारतबाहेकका तेस्रो मुलुकमा निर्यात हुने गरेको चिया निर्यातकर्ताहरू बताउँछन्।
तर नेपालको चियामा गुणस्तर छैन भनेर भारत पक्षबाट बेलाबेला गुनासाहरू आउने गरेको चिया व्यवसायी उदय चापागाईँ बताउँछन्।
उनले भने, 'हाम्रो चियाको विविधता बढाउन सके र चियाको गुणस्तर बढाउन सके भारतसँग झुक्नुपर्ने अवस्था आउँदैनथ्यो। हाम्रो बढीभन्दा बढी मात्राको चिया तेस्रो मुलुकमा निर्यात गर्न सकिन्थ्यो।'