तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल-भारत सीमामा रोकिए चिया बोकेका ट्रक
भारतले प्रयोगशाला परीक्षणमा कडाइ गरेपछि नेपालमा उत्पादित तयारी चियाका ट्रक भारतीय भन्सारमै अड्किएका छन्।
गत सात दिनदेखि नेपालमा उत्पादित अर्थोडक्स तथा सीटीसी तयारी चियाका ११ वटा ट्रक भारतको पानीटंकी भन्सारमा अड्केका हुन्।
तयारी चिया भारत निकासी हुन नसकेपछि चिया उद्योगहरूले किसानबाट हरियो पत्ती खरिद गर्न समेत छाडेका छन्।
सरकारले यस विषयमा भारतसँग कूटनीतिक तहमा कुराकानी भइरहेको जनाएको छ।
परीक्षण
भारतले खाद्य सुरक्षामा कडाइ गर्दै प्रत्येक ट्रकका नमुना कोलकातास्थित सेन्ट्रल फुड ल्याबबाट परीक्षण गराउनुपर्ने प्रावधान राखेपछि नेपाली तयारी चिया भारतीय भन्सारमै सात दिनदेखि अड्किएको एकजना चिया उद्योगी चण्डी पराजुलीले बताए।
उनले भने, "यसअघि ६ महिनामा एक पटक परीक्षण गराएर लैजाने परम्परा थियो। तर अब प्रत्येक ट्रकको नमुना परीक्षण गराउन भनेर हामीलाई भनिएको छ।"
तर भारतीय भन्सारका अधिकारीहरूले तयारी चिया अड्केको विषयमा बोल्न चाहेनन्।
नेपाली व्यवसायीहरूका अनुसार एक पटकको नमूना परीक्षण भएर त्यसको रिपोर्ट आउँदा कम्तीमा १५ दिन लाग्छ।
त्यतिञ्जेल भन्सार परिसरमा रहेका तयारी चियाको गुणस्तर बिग्रने उनीहरूको दावी छ।
प्रभाव
अर्का चिया उद्योगी उदय चापागाईंले भने, "नेपालमा उत्पादित अधिकांश चिया भारत नै जाने हो। भारतले नेपाली चियालाई यसरी कडाइ गर्ने हो भने हामीले चिया उद्योगमा ताला लगाए हुन्छ।"
चिया उत्पादनको मुख्य समयमा नेपालमा उत्पादित तयारी चिया भारत जान नसकेपछि चिया कारखानाहरूले हरियो पत्ती खरिद गर्न बन्द गरेको इलाम फिक्कलका अर्का व्यापारी प्रदीप अग्रवालले बताए।
तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैजुले चिया निकासी रोकिएको विषयमा भारतसँग कुरा भइरहेको बताए।
उनले भने, 'मैले यो विषयमा भारतीय दूतावास र भारतीय अधिकारीहरूसँग कुरा गरिरहको छु।'
भारतले खाद्य सुरक्षामा कडाइ गर्दै लगेकाले त्यही अनुरूपको चिया उत्पादन तथा बजारीकरणको आवश्यकता रहेको उनले बताए।