तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रचण्डको 'निम्तो' वैद्यदेखि बिजुक्छेसम्मले गरे अस्वीकार
- Author, शरद केसी
- Role, बीबीसी नेपाली सेवा
नेकपाका अध्यक्ष प्रचण्डले यसअघि पनि पटक पटक एकताको निम्ति विभिन्न पार्टी र नेताहरूलाई आग्रह गर्थे। तर काठमाण्डूमा शुक्रवार आयोजित कार्यक्रममा एकताको निम्तो दिने शैली भिन्न थियो। मोहनविक्रम सिंह, चित्रबहादुर केसी, नारायणमान विजुक्छे, मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दको नामै लिएर प्रचण्डले उनीहरूलाई एकीकरणमा आउन आग्रह गर्दै त्यसको निम्ति 'जस्तोसुकै सम्मान दिन पनि तयार रहेको' घोषणा गरे।
पार्टीमा प्रवेश गरेकाहरूलाई स्वागत गर्ने कार्यक्रममा उनले नेकपा एमालेसँगको एकताको सन्दर्भ प्रस्तुत गरे।
कम्युनिस्ट विश्वविद्यालय
'विगतमा नेपाली कम्युनिस्ट आन्दोलनका दुई धार, दुईवटा स्कुल जस्तो रहेको र त्यसलाई अहिले एउटै विश्वविद्यालय बनाएको' बताउँदै प्रचण्डले एकताको अपिल गरेका हुन्।
'पुरानो पीढीका केही नेताहरूलाई कसरी सम्झाउने' भन्ने चिन्ता आफूलाई लाग्ने गरेको बताउँदै उनले हरेक नेताहरूलाई नाम लिएर सम्बोधन गरेका थिए।
आग्रहमा प्रचण्डले हार्दिकता दर्शाउन खोजेको बुझिन्थ्यो।
प्रचण्डले जसका बारेमा जे भनेका थिए, हुबहु त्यही सुनाएर बीबीसीले उनीहरूको प्रतिक्रिया मागेको थियो।
प्रचण्डले कसलाई के भनेका थिए र उनीहरूको प्रतिउत्तर के छ?
'टाढा पुगे प्रचण्ड, सपनामा पनि हुन्न'
प्रचण्डले आफ्नो मन्तव्यको अन्त्यतिर नेताहरूलाई सम्बोधन गरे। त्यसमा सबैभन्दा सुरुमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र उक्त दलको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नाम लिएका थिए।
प्रचण्ड: हामीलाई सुरुमा प्रशिक्षित गर्ने मोहनविक्रम सिंह, चित्रबहादुर केसी। उहाँहरूलाई कसरी सम्मान गर्ने होला? के सम्मान गरेदेखि राष्ट्र र कम्युनिस्ट आन्दोलनको एकताको निम्ति सँगै आउनुहोला भन्ने चिन्ता मलाई लागिराख्छ। उहाँहरूप्रति अहिले पनि सम्मान छ। तर यो राष्ट्रको स्वतन्त्रता र स्वाधीनता सुदृढ गर्न, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन उहाँहरूलाई के सम्मान गरेदेखि उहाँहरू खुशी हुनुहुन्छ? उहाँहरूलाई के भन्न म लागेको छ त्यो भन्ने वातावरण यही पार्टीमा उहाँहरूलाई दिने। त्यसमा हामीले कुनै कन्जुस्याइँ दिने छैनौं तर उहाँहरू आउनुपर्यो।
चित्रबहादुर केसी: हामीलाई नेकपाको नीति-सिद्धान्त थाहा छ, राजनीति थाहा छ, साङ्गठनिक पद्धति थाहा छ, राष्ट्रिय-अन्तर्राष्ट्रिय उनीहरूको नीति के छ, कम्युनिस्ट सिद्धान्तका आधारभूत पद्धति र सांस्कृतिक क्षेत्रमा कति टाढा पुगेका छन् त्यो कुरा त हामीलाई थाहा छ नि। कम्युनिस्टसित न (मिल्ने) जाने हो। त्यसकारण मान्नूस्, हामी नेकपामा जाने कुनै पनि सम्भावना सपनामा पनि छैन, बेकारको कुरा हो त्यो। जसले कम्युनिज्मका आधारभूत सिद्धान्त छोडिसकेका छन्, सबै कुराबाट विचलित भइसकेका छन्, त्यहाँ सामेल हुने कुरा त भएन नि।
फकाउने कुरा होइन
त्यसपछि प्रचण्डले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे 'रोहित'लाई सम्बोधन गरेका थिए।
प्रचण्ड: भक्तपुरमा रोहितजी हुनुहुन्छ। उहाँ पनि एउटा धारा हो। (हाँस्दै) अनौठो-अनौठो पनि लाग्छ कहिले काँही। उहाँ पनि यहाँ हुनुपर्छ भन्ने लाग्छ मलाई। उहाँलाई के सम्मान गरिदिएपछि कम्युनिस्ट आन्दोलनलाई एकै ठाउँमा ल्याउने, राष्ट्रलाई एकै बनाउने, सबै मिलाएर विकास र समृद्धितिर लग्न के गर्दा ठीक हुने हो, उहाँहरूले हामीलाई भनि दिए हुन्थ्यो।
प्रचण्डको आग्रहबारे बिजुक्छेले आफ्नो स्वभाव अनुसार सङ्क्षीप्त टिप्पणी गरे।
बिजुक्छे: (चित्रबहादुर) केसीजीहरू र उहाँहरू त पहिले एउटै लाइनको हो। हामी त्यो भन्दा फरक छौँ। त्यसकारण कम्युनिस्ट आन्दोलनको निम्ति, एकताको निम्ति सम्मानले त हुने होइन, सिद्धान्तले हुने हो। सम्मानले फकाउने त होइन। (पार्टीको) नामले मात्र हुँदैन, कामले हुनुपर्छ। उहाँहरू कम्युनिस्ट लाइनमै हुनुहुन्न भन्ने हाम्रो (पार्टीभित्र) समझदारी भएको हुनाले एकताको सम्भावना छैन।
प्रचण्डलाई उल्टै वैद्यको निम्तो
प्रचण्डले एकतामा आउन आग्रह गरेका अर्का नेता थिए, मोहन वैद्य। उनले विगतमा प्रचण्डसँग एउटै पार्टीमा रहेर सशस्त्र सङ्घर्ष गरे र अहिले छुट्टै दलको नेतृत्व गरिरिहेका छन्।
प्रचण्ड: तपाईँ पत्रकारले धेरैजसो (मेरो) गुरू भन्नुहुन्छ—मोहन वैद्यजी। मेरो हृदयदेखि उहाँलाई सम्मान पनि छ। तर उहाँलाई कसरी बुझाउने होला भन्ने चिन्ता हुन्छ मलाई। त्यसकारण उहाँहरू पनि आउनु पर्ने हुन्छ।
वैद्य: हामी उतातिर जाने होइन कि उहाँ यतापट्टि आउनुपर्छ। उहाँले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ। उहाँ जतापट्टि अहिले गइरहनु भएको छ, त्यो धारा परिवर्तन गरेर नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारातिर आउनुपर्छ, गम्भीर समालोचनासहित। कम्युनिस्ट राजनीति भए पो हुन्छ। त्यो त केही पनि छैन। उहाँहरूले लिएको त पश्चगामी धार नै हो। हामीले त उहाँलाई त्यसो नगर्नूस् भनेर उहिल्यैदेखि भनिराखेको हो। उहाँले गम्भीर समीक्षा गर्नुपर्छ। हामी जाने त सम्भव नै छैन।
भट्टराईको प्रतिप्रश्न
वैद्यपछि तत्कालीन नेकपा माओवादी केन्द्र छाडेर गएका नेता थिए प्रचण्डका पूर्वसहकर्मी बाबुराम भट्टराई। नयाँ राजनीतिक शक्तिको खाँचो पूर्ति गर्ने भन्दै अलग्गिएका उनले हालसालै उपेन्द्र यादवको दलसँग एकता गरेका छन्। प्रचण्डले त्यहाँ उनको उपस्थिति असान्दर्भिक रहेको बताउँदै एकताको अपिल गरेका थिए।
प्रचण्ड: बाबुरामजीको बौद्धिकताले अन्त गएर सकारात्मक परिणाम दिएको देखिँदैन। कम्युनिस्ट आन्दोलनसँग जोडिएर मात्रै उहाँको बौद्धिकताको अर्थ हुने हो। उहाँको पीएचडीको अर्थ त्यहीँ हुने हो, जतिबेला उहाँ कम्युनिस्ट पार्टीमै हुनुहुन्थ्यो, उहाँको धेरै ठूलो महत्त्व थियो, धेरै ठूलो भूमिका पनि थियो। तर अहिले त्यस्तो स्थिति छैन। म उहाँलाई पनि र सबै कम्युनिस्टहरूलाई नेपालको इतिहासको यो अवसरमा एक ठाउँमा केन्द्रित हुन आ-आफ्नो ठाउँबाट पहल गर्न अपिल गर्न चाहन्छु।
छिट्टो प्रतिक्रिया दिने स्वभावका भट्टराईले प्रचण्डको आग्रहको सम्बोधन गर्न ढिलो गरेनन्। तर त्यो नकारात्मक छ।
ट्वीट गर्दै भट्टराईले भने, कमरेड दीपक मनाङे जस्ता 'बौद्धिक' भएको 'कमाउनिष्ट' पार्टीमा अरू बौद्धिकहरू पनि आवश्यक पर्छ र?
बल नगर विप्लव
नेत्रविक्रम चन्द विप्लवले प्रचण्डको साथ वैद्यसँगै छाडेका थिए। पछि वैद्यलाई छाडेर उनले आफ्नै नेतृत्वमा पार्टी बनाएका छन्। उसका गतिविधि हिंसात्मक भएको भन्दै सरकारले त्यसमाथि प्रतिबन्ध लगाएको छ।
प्रचण्ड: प्रचण्डले बाटो बिराएर कता कता गयो म चाँही सोझ्याउँछु भनेर विप्लवहरूले नहुने र असम्भव बाटोतिर बल गर्नुभएको छ, नगर्नूस् बल। बरु हामी कम्युनिस्टहरूकै यत्रो बहुमतको सरकार भएको बेला, सामाजिक न्याय समानता र समृद्धिको लागि प्रयास भएको बेलामा उहाँहरूको बलबुद्धि यहाँ पो लगाउनु पर्ने हो।
सरकारले आफ्ना नेता कार्यकर्ता गिरफ्तार गर्न थालेपछि उक्त दल अघोषित रूपमा 'भूमिगत' अवस्थामा छ। प्रचण्डले क्रान्तिलाई धोका दिएको विप्लवको दलको विश्वास देखिन्छ। उनको दलले वर्तमान संविधान अस्वीकार गर्दै आएको छ।