तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रधानमन्त्रीको व्याख्या: जनताको जनवादमा जबजकै विशेषता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले एकीकृत दलले 'जनताको बहुदलीय जनवाद' कै विशेषता अङ्गालेको बताएका छन्।
पार्टीका अर्का अध्यक्ष प्रचण्ड समेत सहभागी काठमाण्डूमा आयोजित कार्यक्रममा उनले त्यस्तो कुरा बताएका हुन्।
ओलीले एकीकृत दलको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद (जबज) राख्न खोजेको खबरहरू आइरहेका बेला उनले पार्टीको कार्यक्रमको नाम 'अहिलेको अवस्थामा जनताको जनवाद' राखेको बताए।
उनले भने, "जनताको बहुदलीय जनवादका विशेषताहरूमा फरक परेको छैन। तीनै विशेषता हुन्, ती विशेषताभन्दा पर जान सकिँदैन। तर अहिले हामीले कार्यक्रमको नाम 'जनताको जनवाद' राखेका छौं। त्यसैबाट हामी अगाडि बढ्छौं।"
पार्टीको राजनीतिक प्रतिवेदनमा 'जनताको जनवाद' उल्लेख छ। प्रतिवेदनलाई दुईजना अध्यक्षले अन्तिम रूप दिएर सार्वजनिक गर्ने बताइएको छ।
प्रचण्ड-इच्छा
यसबीचमा 'जनताको जनवाद' कि 'जनताको बहुदलीय जनवाद' भन्ने विषयले चर्चा पाएको थियो।
पूर्व एमालेका कतिपय नेताले 'जनताको जनवाद' भनिए पनि जबजका सबै विशेषता स्वीकार गरिसकेपछि त्यही कुरा लेख्नुपर्ने तर्क गर्दै आएका थिए।
तर पूर्व माओवादी पक्षले त्यो कुरा अस्वीकार गर्दै आएको बताइन्छ।
मदन भण्डारीको नेतृत्वमा तत्कालीन नेकपा एमालेले जबजलाई मार्गदर्शक सिद्धान्तको रूपमा अङ्गालेको थियो।
कार्यक्रममा प्रचण्डले भण्डारी गतिशील नेता भएको भन्दै 'त्यही गतिशीलताका साथ अघि बढ्ने' बताए।
उनको भनाइमा 'जबज' हुबहु स्वीकार गर्नुभन्दा पनि त्यसलाई कतिपयले भन्ने गरेको 'विकास' गर्नुपर्ने इच्छा व्यक्त भएको बुझिन्छ।
एकीकरण दुई सातामा
पार्टी एकीकरणलाई पूर्णता दिन ढिलाइ भएको प्रधानमन्त्री ओलीले स्वीकार गरे।
उनले 'सायद ठूलो काम गरेकाले केही अलमल सिर्जना भएको' बताए।
प्रधानमन्त्री ओली भने, "तर सबैलाई भन्न चाहन्छु, निराश हुनुपर्ने कुनै कारण छैन। यो आर्थिक वर्षको १५-१६ दिनभित्र एकता-एकीकरणको प्रक्रिया पूरा हुन्छ।"
उनले चुनावी तालमेल र पार्टी एकता गरेर आफूहरूले देशमा राजनीतिक स्थिरता ल्याएको बताए।
सरकारले राम्रो काम गरेको भन्दै ओलीले 'देशमा सुशासन र विकास ल्याउन अनि राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने' दृढता पनि व्यक्त गरे।