दक्षिण एशियामा भएका पाँच ठूला उग्रवादी आक्रमण
श्रीलङ्कामा आइतवार भएका शृङ्लाबद्ध बम आक्रमणले त्यहाँ दशकौँसम्म चलेको गृहयुद्धलाई फेरि एक पटक स्मरण गराइदिएको छ।

तस्बिर स्रोत, Getty Images
मङ्गलवार देशमा शोक मनाइँदैछ भने थप हमला हुन नदिन र शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन थाल्न भन्दै देशमा सङ्कटकाल घोषणा गरिएको छ।
दक्षिण एशियाका कैयौँ देश उग्रवादी आक्रमणको शिकार हुँदै आएका छन्। भारत, पाकिस्तान र अफगानिस्तानपछि सो सूचीमा अहिले श्रीलङ्का थपिएको छ।
यी हुन् केही वर्षयता दक्षिण एशियाली मुलुकमा भएका पाँच ठूला आक्रमणः
पेशावर आक्रमण
सन् २०१४ को डिसेम्बर १६ मा पाकिस्तानको पेशावरस्थित एउटा सैनिक विद्यालयमा विस्फोट गराइएको थियो।
आक्रमणमा १४१ जना मारिएका थिए जसमध्ये १३२ जना बालबालिका थिए। आक्रमणमा तालिबान विद्रोहीको हात थियो।
बीबीसी उर्दूसँग कुरा गर्दै तालिबान प्रवक्ताले सेनाले गरेको कारबाहीको जवाफस्वरूप आफूहरूले आक्रमण गरेको बताएका थिए।
त्यसअघि पाकिस्तानी सेनाले उत्तरी वजिरिस्तान र खैबर क्षेत्रमा गरेको कारबाहीमा सयौँ लडाकु मारिएका थिए।
मुम्बई ताज आक्रमण
सन् २००८ को २६ नोभेम्बरमा भारतको मुम्बई शहरका कैयौँ स्थानमा आक्रमण भएको थियो।
आक्रमणमा १७४ जनाले ज्यान गुमाएका थिए। आक्रमण ६० घण्टासम्म चलेको थियो।

तस्बिर स्रोत, Getty Images
मस्तङ्ग आक्रमण
सन् २०१८ को जुलाई १६ मा पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तङ्गमा एउटा चुनावी र्यालीमा आक्रमण भएको थियो।
आक्रमणमा १४९ जनाको ज्यान गएको थियो। पाकिस्तान निर्माण भएयताकै त्यो दोस्रो ठूलो आक्रमण भएको बताइन्छ।

तस्बिर स्रोत, Getty Images
जुलाई २५ मा आमनिर्वाचन हुने तय भएको पृष्ठभूमिमा त्यसको केही दिनअघि विस्फोट भएको थियो।
काबुल आक्रमण
सन् २०१७ को मे ३१ मा काबुलस्थित जर्मन दूतावासनजिक गराइएको बम विस्फोटमा १५० जना मारिएका थिए भने ३०० जना घाइते भएका थिए।
सन् २००१ यता अफगानिस्तानमा भएको त्यो सबैभन्दा ठूलो विस्फोट थियो।

तस्बिर स्रोत, Getty Images
श्रीलङ्का इस्टर आक्रमण
इसाई धर्मावलम्बीको इस्टर पर्वको दिन आइतवार आठ स्थानमा शृङ्खलाबद्ध विस्फोट गराइएको थियो।
आक्रमणमा ३१० जनाको ज्यान गैसकेको छ भने ५०० जनाभन्दा बढी घाइते भएका छन्। मारिनेमा ३६ जना विदेशी नागरिक पनि छ।
अधिकारीहरूले स्थानीय न्याश्नल तौहिद जमात नामक जिहादी समूहले अन्तर्राष्ट्रिय सञ्जालको सहयोगमा आक्रमण गराएको हुन सक्ने बताएका छन्।

तस्बिर स्रोत, Getty Images
आक्रमणपछि कैयौँ शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।
विस्फोटमा मारिएकामध्ये अधिकांशको मङ्गलवार अन्तिम संस्कार गरिँदैछ।








