तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सगरमाथा आरोहण: नेपाल, भारत र चीनका महिलाको सर्वोच्च सपना
आपसी मैत्रीभाव र महिला सशक्तीकरणको सन्देश दिन नेपाल, भारत र चीनका तीन महिला आरोहीले सगरमाथा आरोहणको संयुक्त अभियान थालेका छन्।
उनीहरूले मङ्गलवार सगरमाथा आधारशिविरतर्फ आफ्नो यात्रा थालेका छन्।
रामेछापबाट लुक्ला गएका उनीहरू त्यहाँबाट सगरमाथाको आधारशिविर जाने टोली नेता एवं कीर्तिमानी पर्वतारोही पेम्बादोर्जे शेर्पाले बीबीसीलाई बताए।
पेम्बादोर्जे सन् २००४ मा आठ घन्टा १० मिनेटमा आधारशिविरबाट सगरमाथा शिखरमा पुगेर सबैभन्दा छिटो सगरमाथा चढेको कीर्तिमान बनाउन सफल भएका थिए।
उनको नेतृत्वको टोलीले नै तीन देशका महिला आरोहीलाई यसपालि सगरमाथा शिखरमा पुर्याउने जिम्मेवारी पाएको छ।
नेपाल, भारत र चीनका महिला आरोही सम्मिलित टोलीमा नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दाश र चीनकी लियामुमा रहेका छन्।
तीनै आरोहीसँग यसअघि विश्वका विभिन्न महादेशका पर्वतहरू चढेको अनुभव छ।
कान्छीमाया तामाङ के भन्छिन्?
सिन्धुपाल्चोकको भोताङमा जन्मिएकी कान्छीमाया ३१ वर्षकी भइन्। उनले यसअघि सन् २०१७ र सन् २०१८ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन्।
उनले बीबीसी नेपाली सेवालाई भनिन्, "महिला र पुरुष मिलेर सबै काम गर्न सम्भव हुन्छ। पुरुष र महिलामा केही पनि फरक छैन। हामी समान छौँ। यस्तो सन्देश फैलाउनका लागि हामी तीन देशका महिला सँगसँगै सगरमाथा जाने अवसर जुटेकोमा म एकदमै उत्साहित छु।"
कान्छीमायाको यसअघिको आरोहणलाई राष्ट्रसङ्घीय महिला निकाय यूएनविमिनले समेत सहयोग गरेको थियो। उनी महिला तथा किशोरीको बेचबिखनविरुद्ध जनचेतना फैलाउने जस्ता सामाजिक काममा सक्रिय छन्।
पोहोर साल उनी मानवबेचबिखनबाट बच्न सफल महिलाकी प्रतिनिधिको रूपमा सगरमाथा शिखर पुगेकी थिइन्।
कल्पना दाशको उत्साह
भारतको उडिसा राज्यको भुवनेश्वरमा बसोबास गर्ने कल्पना दाश ५२ वर्षमा हिँड्दैछिन्।
उनले यसअघि पनि सगरमाथासहित विश्वका विभिन्न महादेशका उच्च शिखरहरूको आरोहण गरिसकेकी छन्।
उनी भारतीय महिलाको पोसाक सारी लगाएरै अस्ट्रेलिया महादेशको सबैभन्दा अग्लो शिखर कोशिउज्को चढेकी थिइन्।
उनले बीबीसी नेपाली सेवासँग भनिन्, "म अहिले एकदमै उत्साहित छु। म नेपाल र चीनका महिलाहरूसँगै सगरमाथा आरोहण गर्ने अवसर पाउँदा निकै खुसी छु।"
चीनकी पर्वतप्रेमी लियामु
चीनको सिन्जियाङ प्रान्तमा बसोबास गर्दै आएकी लियामु मा ५० अहिले वर्षकी भइन्। उनी पनि निकै अनुभवी पर्वतारोही हुन्।
उनले यसअघि सगरमाथा, मनास्लु जस्ता उच्च शिखरमा पाइला राखिसकेकी छन्। लियामु मुस्लिमबहुल पश्चिम चीनकी निकै ख्यातिप्राप्त पर्वतारोही हुन्।
यसपालि उनीसँगै अन्य दुई चिनियाँ महिला पनि सगरमाथा आरोहण दलमा सहभागी हुँदैछन्।
नेपाल, भारत र चीनका तीन महिला आरोहीको त्रिदेशीय टोलीलाई नेपाल भ्रमण वर्ष २०२० अभियानले पनि सहयोग गरेको छ।
त्यो टोलीलाई प्रधानमन्त्रीको हस्ताक्षर अङ्कित भ्रमण वर्षको झन्डा दिइएको छ, जसलाई उनीहरूले सफल आरोहण गरेमा शिखरमा फहराउने छन्।