संसारकै सर्वोच्च शिखर सगरमाथा कति घातक छ

    • Author, बेन बुचर
    • Role, बीबीसी रियालिटी चेक

हिमनदीहरू पग्लिएसँगै सगरमाथामा रहेका आरोहीका शव सतहमा देखिन थालेका छन्।

यो सर्वोच्च शिखर आरोहीहरूका लागि श्रीपेच हो, तर संसारकै अग्लो स्थालमा उभिने उपलब्धिसँगै खतरा जोडिएर आउँछ।

हिमालय पर्वतशृङ्खलाका अन्य हिमालहरूको तुलना गर्दा माउन्ट एभरेष्ट नामले चिनिएको सगरमाथा कति घातक छ त?

सगरमाथामा मृत्यु

तथ्याङ्कले भन्छ सगरमाथाले २८० जनाभन्दा केही बढी मानिसको ज्यान लिएको छ।

मृतकको सङ्ख्या बढिरहेको भए पनि आधारशिविरभन्दा माथि पुग्ने मानिसहरूको अनुपातको मृत्युदर भने एक प्रतिशत भन्दा कम छ।

सन् २०१० यता सगरमाथाको आधारशिविरभन्दा माथि ७,९५४ जना पुगेकोमा ७२ जनाको मृत्यु भएको थियो।

सगरमाथमामा ज्यान गुमाउनेमध्ये अधिकांशको मृत्युको कारण हिमपहिरोमा पर्नु वा खस्नु हो। यसरी मृत्यु हुनेहरूको शव भेट्न कठिन हुन्छ।

रिङ्गन्टा लाग्ने, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिने गम्भीरखालको लेक लागेर पनि सगरमाथामा मानिसहरू मर्छन्।

स्पष्ट खतराहरू भए पनि सगरमाथा आरोहण हिमालय पर्वतशृङ्खलाका अन्य हिमाल चढ्नुभन्दा सुरक्षित रहेको सगरमाथा र के‍२ चढिसकेका व्यावसायिक आरोही अलान आर्नेट बताउँछन्।

उनी भन्छन्, "सगरमाथा आरोहण भनेको प्रयोग भइरहेको बाटो पछ्याउने हो।"

"सगरमाथामा धेरै पूर्वाधार छन्, धेरै चिया पसल छन् र हेलिकप्टर उद्धारको सम्भावना छ।"

"पाकिस्तानका केही हिमालमा उद्धारका लागि सेनाको हेलिकप्टरको मात्रै भर हुन्छ।"

'हत्यारा हिमाल'

पाकिस्तानमा हालै भएको दुईजना आरोहीको मृत्युले त्यो खतरा देखाएको छ।

ब्रिटिश आरोही टम बलार्ड र उनको इटालियन आरोहण साथी डानेल नार्डीको स्थानीयवासीले हत्यारा हिमाल भन्ने नङ्गा पर्वतको आरोहणको क्रममा मृत्यु भयो।

टमकी आमा अलिसन हार्ग्रियाभेसको पनि पाकिस्तानमा रहेको संसारको दोस्रो उच्च शिखर के२ आरोहणको क्रममा मृत्यु भएको थियो।

नङ्गा पर्वत र के२ दुवै आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्येमा आरोहण गर्न कठिन हिमाल मानिन्छन्।

पाकिस्तानका हिमालहरूको सफल आरोहण र मृत्युको तथ्याङ्क सहज उपलब्ध छैन।

तर आर्नेट र अन्य आरोहीहरूले राखेको तथ्याङ्कका अनुसार नङ्गा पर्वतको अहिलेसम्म ३३९ जनाले सफल आरोहण गरेका छन् भने ६९ जनाले त्यहाँ ज्यान गुमाएका छन्।

त्यसको अर्थ झण्डै पाँच सफल आरोहण बराबर एउटा मृत्यु हो।

काराकोरम पर्वत शृङ्खलामा रहेको के२ भने अझ घातक छ, त्यहाँ ३५५ जनाले सफल आरोहण गर्दा ८२ जनाको मृत्यु भएको छ।

हिमालयको स्थिति

धेरैजसो हिमालय पर्वत शृङ्खलाका हिमालहरू पाकिस्तानमा होइन, नेपालमा चढिन्छ।

र, पत्रकार एलिजावेथ हालेका कार्यका कारण नेपालमा तथ्याङ्कहरू विस्तृत रूपमा उपलब्ध छन्।

उनको द हिमालयन डेटाबेसमा सगरमाथासहित यो क्षेत्रको ४५० भन्दा बढी हिमालमा सफल र असफल आरोहणको आधिकारिक तथ्याङ्क छ।

पाकिस्तानमा सफल आरोहणका मात्रै तथ्याङ्क राखिन्छ भने द हिमालयन डेटाबेसमा आधारशिविरभन्दा माथि पुग्ने सबैको तथ्याङ्क छ जसले हिमाल आरोहणको खतराको हिसाब निकाल्न सजिलो बनाउँछ।

नेपालका हिमालहरूमा सन् १९५० को दशकमा तीन प्रतिशत मृत्युदर रहेकोमा गएको दशकमा त्यो झरेर ०.९ प्रतिशतमा आएको छ।

नेपालका व्यवासायिक आरोहण सहयोगी शेर्पाहरूका लागि भने त्यो दर १.३ प्रतिशतबाट झरेर ०.८ प्रतिशतमा झरेको छ।

सन् २०१० यता नेपालका हिमालहरूमा आधारशिविरभन्दा माथि २१ हजार जनाभन्दा धेरै आरोहण भएकोमा १८३ जनाको मृत्यु भएको थियो।

यो तथ्याङ्कले कुन हिमाल आरोहीहरूका लागि सबैभन्दा खतरनाक छ भनेर पनि देखाउँछ।

सन् २०१० यता यालुङ काङ हिमाल चढ्ने चार जनामध्ये तीन जनाको मृत्यु भएको थियो।

यी हिमालहरू चढ्नेको सङ्ख्या कम छ, तर यसले के देखाउँछ भने जति कम मानिसले प्रयास गर्ने हिमाल छ ती सबैभन्दा खतरनाक हुन्छ।