सेल्फी: मनोविश्लेषक सिग्मन्ड फ्रोयड जीवित भएको भए के भन्थे होला?

    • Author, थमस चमरो-प्रिम्युजिच, मनोवैज्ञानिक
    • Role, बीबीसी आइडियाज

विश्वको सर्वाधिक सुन्दर स्थानमा जानुहोस्, त्यहाँ तपाईं मानिसहरूले आफ्नै तस्बिर लिइरहेको देख्नुहुनेछ।

हामीलाई यो नयाँ कुरा हो भन्ने लाग्न सक्छ।

किनभने सेल्फी भन्ने शब्दलाई अक्स्फर्ड शब्दकोषमा सन् २०१३ मा मात्र समावेश गरिएको थियो। त्यो शब्द त्यस वर्षको 'वर्ष शब्द' पनि बनेको थियो।

यद्यपि सेल्फीहरू फोटोग्राफी जत्तिकै पुराना हुन्।

सन् १८३९ मा रोबर्ट कोर्निलियस नामक एक अमेरिकी पुरुषले पहिलो सेल्फी तस्बिर खिचेका थिए।

हामी स्नानगृहमा राखिएको ऐनामा आफैँलाई हेर्दै प्रत्येक बिहान आफ्नै प्रशंसा गर्न सक्छौँ भने किन सेल्फी खिच्छौँ त?

यो कुरा अलिकति विचित्रको लाग्दैन त?

मानवजातिको विशेष खालको व्यवहारबारे मनोविश्लेषक सिग्मन्ड फ्रोयडले जस्तो व्याख्या गर्न अरू कसले सक्ला र?

'यदि मैले आफैँलाई प्रेम गरेँ भने तपाईं पनि मलाई प्रेम गर्नुहुन्छ'

फ्रोयडले मनोविश्लेषणको अन्वेषण गरे।

उनले इगो, अचेतन तथा मनोवैज्ञानिक थेरापी गर्ने जस्ता कुराहरूलाई प्रख्यात बनाए।

अत्यधिक आत्मानुराग पनि त्यसमध्येको एक हो। त्यसलाई 'नार्सिसिजम' भनिन्छ।

ग्रीक मिथकअनुसार नार्सिसस नामक एक युवक एक दिन पानी पिउन नदीको छेउमा गए।

उनले पानीमा आफ्नै प्रतिविम्ब देखे र आफ्नै सुन्दर रूपलाई हेरेर मक्ख पर्दै लामो समय बिताए।

त्यसो हुँदा उनले वरपर के भइरहेको छ भन्ने समेत पत्तो पाउन सकेनन्।

र, अन्त्यमा आफ्नै प्रतिविम्बलाई अँगालो हाल्न खोज्दा पानीमा डुबेर उनको मृत्यु भयो।

फ्रोयड भन्छन्, "केही मात्रामा आत्मानुराग प्राकृतिक हो।"

कसैले अरू सबैलाई छाडेर आफैँलाई मात्र प्रेम गर्ने अवस्था आयो भने त्यो मनोवैज्ञानिक समस्याका रूपमा रूपान्तरण हुन पनि सक्छ।

त्यसलाई हामी नार्सिसिजम भन्ने गर्छौँ।

परीक्षण

नार्सिसिजमजस्तै व्यक्तित्त्वको विशेषताहरू मापन गर्न मनोवैज्ञानिकहरूले परीक्षणको विकास गरेका छन्।

त्यस्तै परीक्षणबाट प्राप्त केही परिणाम यस्ता छन्:

  • नार्सिसिस्ट अर्थात् आत्मानुरागीहरू सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहन्छन्
  • सेल्फी पोस्ट गर्नु भनेको धेरै आत्मानुरागसँग जोडिएको छ

तर यो पुरुषहरूमा मात्र लागु हुन्छ।

पुरुषको दाँजोमा धेरै सेल्फी पोस्ट गरे पनि महिलाहरू चाहिँ पुरूषभन्दा कम नार्सिसिस्ट हुने गर्छन्।

अर्कोतर्फ अमेरिकी मनोवैज्ञानिक जीन ट्वेन्गीले पछिल्ला दशकहरूमा मोटोपनको समस्याजसरी नै नार्सिसजम बढेको देखाएका छन्।

प्रेमको भोक

फ्रोयडका धेरैजसो विचारहरू उनको दैनिक निरीक्षणमा आधारित थिए।

आज हामी जुन सूचनाहरू प्राप्त गर्न सक्छौँ, ती सूचनाहरू उनी जस्तैका लागि धेरै नै रुचिको विषय हुनसक्छन्।

स्वाभाविक रूपमै उनले सेल्फी प्रवृत्तिको विश्लेषण गर्न मन पराउने थिए।

धेरै मानिसहरू आफूलाई प्रेम गरेर होइन, अरूले आफूलाई प्रेम गरून् भन्ने इच्छाका कारण सेल्फी पोस्ट गर्छन् भन्ने कुरा उनले पनि थाहा पाउने थिए।

ध्यानाकर्षण गर्ने मोह

यौनबारे समाजमा खासै खुलेर कुरा नहुने बेला १९ औँ शताब्दीको अन्त्यतिर फ्रोयडले अनुसन्धान थालेका थिए भन्ने हामीले बिर्सनुहुँदैन।

त्यस समयमा महिला र पुरुषलाई भिन्नै राखिन्थ्यो।

उनीहरूलाई यौनिकताको प्रदर्शन गर्दा बेइज्जत हुने र त्यसमा रमाए दुराचारी भइन्छ भनेर सिकाइन्थ्यो।

फ्रोयडका धेरै बिरामीहरू भिएनाको उच्च वर्गका 'हिस्टेरिकल प्यारलिसिस' भएकाहरू हुने गर्थे। कुनै स्पष्ट शारीरिक दुर्बलता नभए पनि उनीहरू हिँड्न सक्दैनथे।

फ्रोयडलाई ती महिलाहरू ध्यानाकृष्ट गर्न नहिँडेका हुन् भन्ने लाग्थ्यो।

यदि अरूको ध्यानाकृष्ट त्यसरी गर्नुपर्थ्यो भने केही निर्लज्ज सेल्फीहरू शेअर गर्नु त्योभन्दा उत्तम होइन र?

सम्भवत: हो।

तर यो मोहमा अस्वस्थकर पक्ष छैन भन्ने चाहिँ होइन। अनि यो सेल्फी खिच्नेहरूमा मात्र होइन त्यसबाट अरूमा कस्तो प्रभाव पर्छ भन्नेमा पनि निर्भर गर्छ।

साधारणतया दु:खी

राम्ररी सम्पादन गरिएका सेल्फीहरूले मानिसहरूको जीवन रमाइलो छ भन्ने देखाउँछ।

हामी सफल र पूर्ण जीवन बाँच्नेहरूका तस्बिरहरूले घेरिएका छौँ।

पछिल्ला अध्ययनहरूका अनुसार त्यसले हामीलाई थप ईर्ष्यालु, एकलकाँटे, असुरक्षित र अपूर्ण रहेको अनुभूति गराउँछ।

फ्रोयडका शब्दमा यसले हामीहरूलाई "अझ विक्षिप्त" बनाइरहेको छ।

फ्रोयडले भनेका थिए, "मनोविश्लेषणको लक्ष्य भनेको विक्षिप्त हुनुलाई सामान्य मानवीय असन्तुष्टिहरूले प्रतिस्थापन गर्नु हो।"

अब सेल्फी लिँदा तपाईं पनि नार्सिससलाई सम्झनुहोस् र त्यसको साटो आफ्ना साथीहरूतिर ध्यान दिनुहोस्।

सम्भवत: तपाईंले चाहे जस्तो 'लाइक' त नपाउनुहोला, तर फ्रोयडको अनुमोदन भने पक्कै पाउनुहुनेछ।

अनि त्यो तपाईँका लागि पर्याप्त हुनुपर्छ।

यो पनि पढ्नुहोस्