मेटाभर्स: भर्चुअल दुनियाँमा जमिन किन्न दशौँ लाख

इन्टरनेटको भविष्य भनिएको मेटाभर्समा आफू अगाडि हुने प्रतिस्पर्धाबीच विभिन्न कम्पनीहरूले विगत १२ महिनामा करिब दुई अर्ब अमेरिकी डलर खर्च गरेको अध्ययनले देखाएको छ। यो रकम नेपाली रुपैयाँ दुई खर्ब ६० अर्ब बराबर हो।

वर्षौँ पहिले नै मानिसहरू अनलाइनको भर्चुअल दुनियाँमा बस्ने, काम गर्ने र खेल्ने प्रविधि विकास भइसकेको अवस्थामा मेटाभर्समा पाइला राख्नु ठूलो बाजी हो र?

'आफ्नै कामको प्रदर्शन'

ठूलो आकारको चुरोट लिएको कलाकार एन्जी टेलरको अवतार कुनै पनि जमिनदारको नमुनाजस्तो देखिँदैन।

तर नयाँ भर्चुअल दुनियाँमा आफ्नो भर्चुअल जमिन बिस्तार गर्ने बढ्दो पुस्तामा उनी पनि एक हुन्।

"मैले सन् २०२० मा १,५०० पाउण्डमा पहिलो मेटाभर्स ठाउँ किनेकी थिएँ। त्यसलाई मैले आफ्नै कामको प्रदर्शनीका लागि किनेको हो। तर मैले मेरो र अरू मानिसहरूको कला प्रवर्द्धनका लागि आयोजना हुने मेटाभर्स कार्यक्रमहरू सञ्चालनका लागि पनि प्रयोगमा ल्याएँ," उनी सुनाउँछिन्।

यूकेको ब्राइटनकी एन्जीले वक्सेल्स भर्चुअल दुनियाँमा सुन्दर डिजिटल कलाकृतिले भरिएका दुई वटा ग्यालरी तयार गरिन् जुन क्रिप्टोकरेन्सीमा विक्री भइरहेका छन्।

भर्चुअल दुनियाँमा एन्जीको ठाउँ एउटा सानो परिवार अटाउने घर जत्रो मात्रै छ। उनको ठाउँ तीन तल्ला अग्लो छ, कौसी छ र अगाडिपट्टी बाटो पार गर्ने सङ्केत कोरिएको सडक छ।

एउटा गुलाबी रङ्गको ट्याक्सी उनको घर अगाडि यताउता गुडिरहन्छ, त्यो चाहिँ यत्तिकै रमाइलोका लागि हो।

तर यहाँ साँच्चिकै वास्तविक दुनियाँको आभास हुन्छ।

"'एफ' की दबाएपछि तपाईँ उडेर माथि पुग्नुहुन्छ र मेरो छरछिमेक हेर्न सक्नुहुन्छ," एन्जी बताउँछिन्।

उनको ग्यालरीभन्दा माथि क्षितिजसम्म फैलिएका जमिनका टुक्राहरू देख्न सकिन्छ।

मेटाभर्स एउटा मात्रै छ?

वक्सेल्स दर्जनौँ भर्चुअल दुनियाँ मध्येको एक हो जसले आफूलाई मेटाभर्स भनेर चिनाउँदै आएको छ।

मानिसहरूले मेटाभर्स भनेको एउटा मात्रै छ जसरी कुरा गर्ने गरेका कारण यसले धेरैलाई अन्योलमा पारेको छ। तर यस्तो सुविधा उपलब्ध गराउने धेरै कम्पनीहरू छन्।

तर मेटाभर्सको एउटै प्लेटफर्म हाबी नभएसम्म वा आ-आफ्नै भर्चुअल दुनियाँ निर्माण गरेका सबै कम्पनीहरू एक ठाउँमा जोडिएका छैनन् र उनीहरूले आफ्नै अलग अलग दुनियाँमा ठाउँ र अनुभवहरू बिक्री गरिरहेका छन्।

मेटाभर्सको विश्लेषण गर्ने ड्याप राडारका अनुसन्धानकर्ताहरूका अनुसार गत वर्ष मात्रै भर्चुअल दुनियाँमा जमिन किन्नका लागि १ अर्ब ९३ करोड अमेरिकी डलर खर्च भएको छ।

त्यसमध्येको पनि २ करोड २० लाख डलर वक्सेल्समा भर्चुअल जमिनका ३,००० टुक्रा किन्न खर्च गरिएको छ।

वक्सेल्स इथिरियम क्रिप्टोकरेन्सी प्रणालीमा निर्माण गरिएका कारण ड्याप राडारले यसको अनुगमन गर्न सक्छ।

सबै प्रकारका भर्चुअल मुद्राको जस्तै यसका पनि कारोबारहरू सार्वजनिक ब्लकचेनमा प्रकाशित हुन्छन्।

कार्टुनको शैलीमा निर्माण गरिएको भर्चुअल दुनियाँ डिसेन्ट्रल्याण्डमा भर्चुअल ठाउँहरू हजारौँ र कतिपय अवस्थामा दशौँ लाख सम्ममा बिक्री भइरहेका छन्।

मेटाभर्समा बहुराष्ट्रिय कम्पनीहरू

सन् २०२० मा सुरु भएको यो मेटाभर्समा सामसङ, यूपीएस र अमेरिकी बहुराष्ट्रिय कम्पनी सथेविजसम्मले भर्चुअल जमिन किनेर पसल र आगन्तुक भ्रमण केन्द्रहरू निर्माण गरेका छन्।

आरामदायी फेसन डिजाइनर फिलिप प्लाइनले पनि यहाँ चार वटा फुटबल मैदान जत्रो भर्चुअल जमिन किनेका छन्।

उनले यहाँ मेटाभर्स सङ्ग्रह र ग्यालरी बनाउने योजना बनाएका छन्।

तर प्लाइनका अनुसार उनकी आमा १५ लाख अमेरिकी डलर खर्चेर भर्चुअल ठाउँ किनिएकोप्रति सन्तुष्ट छैनन्।

"मेरी आमाले मलाई 'तिमीले के गरेको?, तिमी होसमा त छौ?, किन यति धेरै पैसा खर्च गरेको? यो के हो? भनेर सोध्नुभयो," उनले सुनाए।

प्लाइनले एक वर्षभन्दा अघिबाट विभिन्न २४ वटा क्रिप्टोकरेन्सी मार्फत आफ्ना सामग्रीहरू बिक्री गरिरहेका छन्।

उनले यसै वर्ष लन्डनमा एउटा नयाँ पसल खोले र पोसाकहरूसँगै अरू कुरासँग साट्न नमिल्ने टोकनहरू पनि बिटकोइन र इथिरियमजस्ता क्रिप्टोकरेन्सीसँग साट्न थाले।

उनले यी सामाग्री पाउण्डमा पनि बिक्री गरिरहेका छन्।

पसल खोलेपछि मेटाभर्सबाट बुझ्न सहयोग पुगेको र आफूले त्यहाँ ठाउँ किन्न धेरै पैसा खर्च गर्ने निर्णय लिएको उनी बताउँछन्।

भर्चुअल घरजग्गाको भाउ

क्रिप्टोकरेन्सीको मूल्यमा आएको गिरावटसँगै मेटाभर्सको भर्चुअल घरजग्गाको भाउ पनि विगत एक वर्षकै सबैभन्दा कममा पुगेको ड्याप राडारले जनाएको छ।

अर्को क्रिप्टो मेटाभर्स स्याण्डबक्समा एडिडास, वार्नर म्युजिक र गुची जस्ता ब्राण्ड र बहुराष्ट्रिय कम्पनीहरूले जमिन किनेका छन्।

उनीहरूले यहाँ आफ्ना उत्पादन र ब्राण्डको प्रवर्द्धनका लागि काम गरिरहेका छन्।

गुचीले गेमिङसम्बन्धी मेटाभर्स रोब्लोक्समा पनि लगानी गरेको छ।

यी गेमिङ कम्पनीहरूले अरू जस्तो ठाउँ वा जमिन बेच्दैनन् र उनीहरू ब्लकचेन प्रविधिबिनै सञ्चालन हुन्छन्।

यद्यपि उनीहरूसँग मेटाभर्स हुन आवश्यक प्रमुख विशेषताहरू छन्।

ती भनेको

  • समय बिताउने र खेल्ने
  • आफ्नै दुनियाँको मुद्रा
  • प्लेटफर्मको प्रयोग गरेर मुद्रा आर्जन गर्ने अवसर
  • ठूलो सङ्ख्यामा बढिरहेको समुदाय

सुरु भएयता गुचीले भर्चुअल दुनियाँमा बनाएको सहरमा ३ करोड ६० लाखले भ्रमण गरेका छन्।

यस्तै नाइकी ल्यान्ड नाम दिइएको अर्को ब्राण्डको भर्चुअल ठाउँमा ११ महिनामा २ करोड ५० लाख पुगेका छन्।

गुचीको पसलमा खेलाडीहरूले साँच्चिकै पैसा खर्च गरेर कपडाहरू किन्न सक्छन्। नाइकीको पसलमा चाहिँ गेम खेलेर आर्जन गरेको प्वाइन्ट खर्चेर टिसर्ट र जुत्ता किन्न सकिन्छ।

डिजिटल फेसनमा लगानी

मेटाभर्ससँग जोडिएको अवसर र जोखिममा लगानी गर्नमा सबैभन्दा अगाडि फेसनको बजार देखिएको छ।

नेदरल्याण्ड्सको राजधानी एम्सटर्डमबाट डिजिटल फेसन मात्रै बनाउने द फेब्रीकान्टले अवतारहरूका लागि मात्रै पहिरनहरू बनाउँछ।

यसले डिसेन्ट्रल्याण्ड, स्याण्डबक्स सहितका अरू क्रिप्टो मेटाभर्सको प्रयोगकर्ताहरूका लागि पहिरनको डिजाइन गर्छ।

"जब हामीले सुरु गर्‍यौँ सबैले हामीलाई पागल भने। 'यो किन चाहियो?' भन्ने उनीहरूको जिज्ञासा थियो। तर हामी भविष्यमा मानिसहरूले डिजिटल वस्तु पनि लगाउँछन् भन्ने सोचमा अडिग रह्यौँ," यसकी सहसंस्थापक अम्बेर जे स्लोटेन सुनाउँछिन्।

फेब्रीकान्टले हालसम्मकै सबैभन्दा महँगो डिजिटल पहिरन १९,००० डलरमा बेचेको थियो।

साटफेर गर्न नमिल्ने टोकनको रूपमा बेचिएको यो कलात्मक पोसाक यसका मालिकले प्रयोग गरेका थिएनन्।

यो कम्पनीले लगानीकर्ताहरूबाट १ करोड ४० लाख जम्मा गरिसकेको छ र हामीमध्ये धेरैले निकट भविष्यमा हाम्रो जीवनको केही समय मेटाभर्समा बिताउँछौँ ठान्नेहरूले यसमा लगानी गरेका छन्।

तर यस्तो अवस्था आउँछ कि आउँदैन वा कहिले हुन्छ भन्ने कुनै निश्चित छैन।

क्रिप्टो मेटाभर्समा निकै कम मानिसहरू जोडिएका छन् र कुनै कार्यक्रम हुँदा मात्रै वास्तविक प्रयोग भइरहेका छन्।

जसमा सहभागी हुने मानिसहरूको सङ्ख्या पनि लाखौँ नभई हजारौँको सङ्ख्यामा सीमित छ।

फेसबुक र इस्न्टाग्रामको स्वामित्व रहेको कम्पनी मेटाले पनि मेटाभर्समा अर्बौँ डलर लगानी गरेको छ। तर बाहिरिएका विवरणहरूबाट यसमा मानिसहरूले लामो समय नबिताएको देखिएको छ।

स्लोटेन यो भर्चुअल दुनियाँको विकास हुने र मसिनहरू आउनेमा ढुक्क छिन्।

"यसमा व्यापक बजार हुनेछ किनभने युवा पुस्ताले गेमहरू खेलिरहेका छन्। उनीहरूका लागि वास्तविक र भर्चुअल दुनियाँमा कुनै फरक छैन। तर अझै पनि यसमा धेरै कुरा बनाउन बाँकी छ," उनी भन्छिन्।