अल्जेरियाका राष्ट्रपतिको राजनीतिक उतारचढाव कस्तो रह्यो?

अल्जेरियामा हप्तौं चलेका ठूला प्रदर्शनहरूपछि त्यहाँका राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकाले राजीनामा दिएको त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ।

८२ वर्षे राष्ट्रपति बतेफ्लिका त्यहाँ २० वर्षदेखि शक्तिमा थिए।

गत महिना उनले पाँचौं कार्यकालका लागि चुनाव लड्ने बताएसँगै प्रदर्शनहरू सुरु भएका थिए जुन पछि उनले उक्त मनसाय त्यागेको बताए पनि रोकिएको थिएन।

पहिल्यै तय भएको निर्वाचनको मिति सारिएको तर अर्को मिति घोषणा नगरिएकाले पनि धेरैले त्यसलाई चौथो कार्यकाल लम्ब्याउने चालको रूपमा हेरेका थिए।

उदय

अल्जेरियामा फ्रान्सेली उपनिवेश रहँदाका पछिल्ला वर्षमा बतेफ्लिका त्यहाँ सैन्य अधिकृत थिए।

स्वतन्त्रतापछि एक दशकभन्दा बढी समय त्यहाँका विदेशमन्त्री रहेका उनी त्यसबीचमा भएको सैन्य 'कू'का एक सहभागी समेत हुन्।

सन् १९९९ मा राष्ट्रपतिका रूपमा उदाउनु चाहिँ उनका लागि योजना र संयोग दुवैले काम गरेको थियो।

पहिलोपटक राष्ट्रपति हुँदा उनको मुख्य काम देशलाई पुनर्निर्माण गर्दै आर्थिक रूपमा उकास्नु थियो।

अल्जेरिया एउटा क्रुर तर सुस्ताइरहेको गृहयुद्धमा रहेका बेला बतेफ्लिकाले त्यसलाई अन्त्य गर्न काम गरेका थिए।

सन् १९९० को दशकको सुरुतिर चुनाव जितेको इस्लामिक साल्भाटन फ्रन्टलाई त्यहाँको सेनाले वैधता नदिएसँगै सुरु भएको उक्त युद्धमा डेढ लाख मानिसहरूले ज्यान गुमाएका थिए।

त्यहाँका थुप्रै इस्लामिक लडाकुहरूलाई अपराधका लागि क्षमा दिइयो जुन रणनीतिले सुरुमा काम पनि गर्यो।

पछि अल कायदाले त्यहाँको विशाल मरुभूमिमा नयाँ अस्थिरता सिर्जना गर्दा रणनीतिले केही धक्का बेहोरेको थियो।

रणनीति

समयक्रममा बतेफ्लिकाले पश्चिमा विश्वसँग सम्बन्ध सुधार्दै आर्थिक सुधारका लागि उदारता देखाउँदै गए।

त्यसले खनिज तेलमा निर्भर देशको अर्थतन्त्रको विकल्प खोज्न, सार्वजनिक ऋण घटाउन र बढ्दो बेरोजगारीसँग जुझ्न केही हदसम्म सघाउ पुर्‍यायो।

सन् १९३७ मा मोरक्कोमा जन्मिएका बतेफ्लिकाले दुई दशक 'भारी मत'ले निर्वाचन जित्दै आएका थिए।

त्यहाँको विकृत राजनीतिले बतेफ्लिका वा उनको न्याश्‍नल लिवरेसन फ्रन्टलाई विस्थापित गर्न सक्ने बलियो विपक्षी उदाउन नै रोकेको थियो।

पछिल्ला वर्षमा समेत देशका सेना र गुप्तचरका वरिष्ठ अधिकारीहरू पाखा लगाइएका थिए।

यद्यपि उनको दल सन् १९६२ मा अल फ्रान्सेली उपनिवेशबाट स्वतन्त्र भएयता त्यहाँ शासन गरिरहेको छ।

पछिल्लो प्रदर्शनमा उक्त पार्टी र अल्जेरियाको राजनीतिमा मुख्य प्रभाव राख्ने सेनामा सुधार गर्नुपर्ने कुरा समेत उठेको थियो।

नयाँ चुनावको मिति भने टुङ्गो लाग्न बाँकी छ। तर अल्जेरियाको संविधान अनुसार ताजा निर्वाचन नभएसम्मका लागि माथिल्लो सदन सिनेटका सभामुखले अन्तरिम राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्नेछन्।

पछिल्लो समय

सरकारी समाचार संस्थाले प्रकाशित गरेको राजीनामा पत्रका अनुसार बतेफ्लिकाले संवैधानिक परिषद्लाई आफ्नो बहिर्गमन देश र जनताको पक्षमा रहेको उल्लेख गरेका छन्।

सन् २०१३ मा स्ट्रोक भएयता उनी ह्विलचेयरमा छन् र विरलै सार्वजनिक उपस्थिति जनाउँछन्।

आफ्ना सहयोगी वा लिखित मन्तव्यमार्फत् उनले जनतामाझ आफ्ना भनाइ राख्ने गरेका थिए।

यसले धेरैलाई देशको वास्तविक नेतृत्वकर्ता को हो भन्नेमै शंका उत्पन्न गराएको थियो।

त्यस्तो अवस्थामा समेत पाँचौं कार्यकालका लागि चुनाव लड्ने बताएपछि धेरैलाई आक्रोशित पार्‍यो।

त्यहाँ ३० वर्षभन्दा कम उमेरका मानिसहरूको जनसङ्ख्या आधाजसो छ जसको बाहुल्यता पछिल्ला प्रदर्शनमा देखिएको थियो।

सन् २०११ को 'अरब स्प्रिङ' भनिने आन्दोलनले अल्जेरियालाई समेत छोएको भए पनि त्यस क्षेत्रका अन्य थुप्रै नेताहरूझैं उनको पद भने गएन।

त्यतिबेला त्यहाँ चर्को मूल्यवृद्धि र बेरोजगारीविरुद्ध प्रदर्शन भए पनि बतेफ्लिकाले प्रदर्शनकारीको मुख्य माग पूरा गरिदिएका थिए।