इमरान खान: 'निर्वाचनअघि भारतले फेरि केही गर्न सक्छ'

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत 'युद्धको उन्माद'बाट ग्रसित भएको आरोप लगाएका छन्।

फाइन्यान्शल टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा खानले भारतमा निर्वाचन हुन लागेकाले उसले पुन: केही गर्न सक्ने आशङ्का व्यक्त गरेका छन्।

गत महिना भारत र पाकिस्तानबीच तनाव चुलिँदा शान्तिका लागि वार्ताको आह्वान गरेका खानले संसद्‌मा बोल्दै "भारतीय निर्वाचनलाई दृष्टिगत गरी केही न केही होला भन्ने डर आफूलाई लागेको" बताएका थिए।

फेब्रुअरी १४ मा भारत-प्रशासित कश्मीरको पुलवामामा भएको आत्मघाती विस्फोटनमा कम्तीमा ४० भारतीय सुरक्षाकर्मीको ज्यान गएपछि भारतले पाकिस्तानी भूमिमा हवाई आक्रमण गरेको थियो।पाकिस्तानले पनि आफू मौन नबस्ने भन्दै भारतीय कारबाहीको प्रतिकार गरेको थियो।

खानले भारतमा निर्वाचन सम्पन्न नहुन्जेल आफू चिन्तित रहने बताएका छन्।

भारतले गरेको हवाई आक्रमणलाई इङ्गित गर्दै उनले भने, ''मलाई फेरि केही हुन्छ कि जस्तो लागेको छ।"

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने।

तर परमाणुशक्ति भएका यी दुई छिमेकी देशहरूबीच राम्रो सम्बन्ध छैन।

उनीहरू दुवैले कश्मीर आफ्नो भएको दाबी गर्ने गरेका छन्। कश्मीरकै निहुँमा उनीहरूले युद्ध पनि गरेका छन्।

'निर्वाचन जित्न'

फाइन्यान्शल टाइम्समा प्रकाशित अन्तर्वार्तामा खानले भने, "पुलवामामा आत्मघाती आक्रमण हुँदा मलाई मोदी सरकारले युद्धोन्मादलाई प्रोत्साहन गर्ला भन्ने लागेको थियो।"

"भारतीय नागरिकहरूले बुझ्नुपर्छ कि यो सबै निर्वाचन जित्नका लागि हो।"

आतङ्कवादी सङ्गठन जैश-ए-मोहम्मदसँग पाकिस्तानको कुनै सम्बन्ध नभएको भनाइ उनले दोहोर्‍याएका छन्।

गत वर्ष प्रधानमन्त्री बनेका खानले पाकिस्तानमा विभिन्न आतङ्ककारी सङ्गठनविरुद्ध कारबाही गर्न थालेका थिए। उनले नयाँ पाकिस्तानमा आतङ्कवादीहरूलाई कुनै स्थान नभएको बताए।

पाकिस्तानको अर्थव्यवस्थालाई फेरि सही बाटोमा ल्याउने र आफ्नो देशलाई चीनको 'ग्राहक' हुन नदिने पनि उनले बताएका छन्।

पाकिस्तानमा लुकेर सञ्चालित भएको मानिने लडाकु समूह जैश-ए-मोहम्मदले पुलवामामा आफूले आक्रमण गराएको दाबी गरेको थियो।

भारतीय पक्षले पाकिस्तानी भूमिमा जैश-ए-मोहम्मदलाई लक्षित गरेर हवाई कारबाही गरेको र सो समूहको शिविर ध्वस्त पारिदिएको दाबी गर्ने गरेको छ।

जुन जैश-ए-मोहम्मदको चर्चा हुँदैछ त्यो भारतमा नै छ भन्दै खानले पुलवामामा आत्मघाती आक्रमण गर्ने व्यक्ति ‍१९ वर्षीय भारतीय युवक भएको टिप्पणी गरे।

आक्रमण गर्ने व्यक्ति तथा आक्रमणमा प्रयोग भएको कार भारतीय र विस्फोटक पदार्थ पनि भारतबाट आएको हुँदा किन पाकिस्तानलाई दोष दिइएको भनेर उनले प्रतिप्रश्न गरे।

रणनीति

पहिले पहिले भारतले आफ्नो भूमिमा आक्रमण हुँदा त्यस्तो अर्को घटना हुन नदिने खालको रणनीति मात्र अवलम्बन गर्ने गरेको थियो।

तर कश्मीरमा भएको आक्रमणपछि उसले सीमापारि धावा बोलेर रणनीति फेरिएको सन्देश दिन खोजेको छ।

भारतले हवाई आक्रमण गरेको २४ घण्टाभित्र पाकिस्तानले पनि प्रत्युत्तर दियो।

यसै क्रममा पाकिस्तानी भूमिमा भारतीय वायुसेनाको एउटा लडाकु विमान खसालियो र पाकिस्तानले त्यसका चालकलाई आफ्नो नियन्त्रणमा लियो।

दुई देशबीच चुलिएको तनाव मत्थर पार्ने प्रयासस्वरूप खानले अभिनन्दन वर्धमान नाम गरेका ती विमानचालकलाई मुक्त गर्ने घोषणा गरे।

फलत: उनलाई ३६ घण्टाभित्र भारतीय पक्षलाई हस्तान्तरण गरियो।

वर्धमान केही हप्ताको बिरामी बिदापछि काममा फर्किन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बिदामा उनी गृहनगर चेन्नई नगएर श्रीनगर फर्किसकेको बताइएको छ।

भारत-पाकिस्तान विभाजनपछि भएका महत्त्वपूर्ण घटनाहरू यस्ता छन्

अक्टोबर १९४७: भारत र पाकिस्तानबीच पहिलो युद्ध। स्वतन्त्र भएको केवल दुई महिनापश्चात् दुई छिमेकी कश्मीरलाई लिएर युद्धमा होमिए।

अगस्ट १९६५: कश्मीरलाई नै लिएर दुई छिमेकीबीच अर्को छोटो युद्ध।

डिसेम्बर १९७१: भारतद्वारा पूर्वी पाकिस्तान (वर्तमान बाङ्ग्लादेश) मा अतिक्रमण। इस्लामाबादको शासनविरुद्ध स्वतन्त्रताको लडाइँमा भारतको समर्थन। भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा बम आक्रमण। बाङ्ग्लादेशको स्थापनासँगै युद्धको अन्त्य।

सन् १९८९: कश्मीर उपत्यकामा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोहको थालनी।

फेब्रुअरी १९९९: भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तानको लाहोर प्रस्थान।

मे १९९९: पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा। सीमित द्वन्द्व सुरु। भारतद्वारा हवाई तथा स्थल आक्रमणपश्चात् अतिक्रमणकारीहरू फिर्ता।

मे २००१: भारतको आगरामा भारतीय प्रधानमन्त्री वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफको भेटवार्ता। कुनै सम्झौता हुन सकेन।

अक्टोबर २००१: श्रीनगरस्थित कश्मीरको विधानसभामा आक्रमण। ३८ जनाको मृत्यु।

१३ डिसेम्बर २००१: दिल्लीस्थित भारतीय संसद्‌मा भएको सशस्त्र आक्रमणमा १४ जनाको मृत्यु।

फेब्रुअरी २००७: भारत र पाकिस्तानबीच चल्ने सम्झौता एक्सप्रेस रेलमा बम विस्फोट। ६८ जनाको मृत्यु।

२६ नोभेम्बर २००८: विद्रोहीहरूद्वारा मुम्बईस्थित मुख्य रेलवे स्टेशन, विलासी होटलहरू तथा एक यहुदी सांस्कृतिक केन्द्रमा आक्रमण। ६० घण्टे घटनामा १६६ जनाको मृत्यु। भारतद्वारा पाकिस्तानमा रहेको लश्कर-ए-तइबा समूहमाथि दोष।

जेनुअरी २०१६: पठानकोटस्थित भारतीय वायुसेनाको अखाडामा भएको चार दिन लामो आक्रमणमा सात भारतीय सैनिक र छ विद्रोहीको मृत्यु।

१८ सेप्टेम्बर २०१६: भारत प्रशासित कश्मीरस्थित उरीमा रहेको सैन्य अखाडामा विद्रोहीद्वारा हमला। १९ सैनिकको मृत्यु।

३० सेप्टेम्बर २०१६: भारतद्वारा पाकिस्तान प्रशासित कश्मीरमा सैन्य कारबाही 'सर्जिकल स्ट्राइक' गरेको भनाइ। पाकिस्तानद्वारा त्यस्तो कारबाही भएको अस्वीकार।

१४ फेब्रुअरी २०१९: कश्मीरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती विस्फोट। अर्धसैनिक बल सीआरपीएफका ४० भन्दा धेरैको मृत्यु। पाकिस्तानमा रहेको जैश-ए-मोहम्मद समूहद्वारा जिम्मेवारी स्वीकार।

२६ फेब्रुअरी २०१९: भारत-पाकिस्तान सीमा उल्लङ्गघन गरेर भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण। लडाकु समूह जैश-‍ए-मोहम्मदको शिविर नष्ट गरिएको भारतको भनाइ।

१ मार्च २०१९: पाकिस्तानद्वारा भारतीय वायुसेनाको लडाकु विमानका चालक अभिनन्दन वर्धमान मुक्त।