यूएस-बाङ्ग्ला विमान दुर्घटना: किन लिएनन् नेपाली परिवारले क्षतिपूर्ति

    • Author, प्रतिक्षा दुलाल
    • Role, बीबीसी नेपाली सेवा

यूएस-बाङ्ग्ला विमान दुर्घटना भएको वर्षदिन बितिसक्दा पनि मृतकका परिवारहरूले क्षतिपूर्ति पाएका छैनन।

क्षतिपूर्ति बापत बिमा कम्पनीले ५० हजार अमेरिकी डलर दिन प्रस्ताव गरेको तर त्यो रकम आफूहरूलाई अस्वीकार्य भएको उनीहरूले बताएका छन्।

बिमा रकममा असहमति हुँदा हुँदै पनि आफ्नो व्यवहार मिलाउनका लागि दुर्घटनामा मृत्यु भएका मध्ये १६ जनाका परिवारले बिमा कम्पनीबाट क्षतिपूर्तिको केही रकम लिएको तर पुरै रकमबारे अझै निर्क्यौल हुने प्रक्रियामा रहेको छ।

आवश्यक परे अन्तर्राष्ट्रिय अदालतसम्म जाने तयारीमा रहेको उनीहरूले बताएका छन्।

शोकको समय नपाएको गुनासो

गत वर्ष त्रिभुवन विमानस्थल परिसर भित्र यूएस-बाङ्ग्लाको विमान दुर्घटनाग्रस्त हुँदा उक्त विमानमा सवारमध्ये ५१ जनाको ज्यान गएको थियो।

त्यसमध्ये २३ जना नेपाली थिए जसमा अधिकांश बाङ्ग्लादेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थीहरू थिए।

दुर्घटनाले विक्षिप्त पारेको बेला मृतकका परिवारले शोकको समय समेत भन्न नपाएको गुनासो उनीहरूको छ।

आ-आफ्नो परम्परा अनुसार ज्यान गुमाएकाहरूको सम्झनामा अन्त्येष्टी पछिको समयमा पनि बिमाको रकम पाउन धाउनुको विकल्प नभएको उनीहरू बताउँछन्।

आवश्यकता

दुर्घटनामा आफ्नी एक्ली सन्तान गुमाएकी उर्मिला प्रधानका अनुसार बिमा कम्पनीले प्रस्ताव गरेको रकम अपुग लागेकाले पीडित परिवारहरूले वार्ता गरिरहेका छन्।

"केहि समय त हामीलाई क्षतिपूर्तिबारे केही थाहा भएन अनि केही महिनापछि त्यो विमानको बिमा कम्पनीले हामीलाई ५० हजार अमेरिकी डलर दिने प्रस्ताव गर्यो। तर हामीले त्यो निकै थोरै भयो भनेका छौँ र उक्त कम्पनीसँग वार्ता गरिरहेका छौँ," प्रधानले भनिन्।

बिमा कम्पनी मार्फत २० हजार अमेरिकी डलर आफूले लिएको पनि प्रधानले बताइन्।

"छोरी पढाउन मैले शैक्षिक कर्जा लिएकी थिएँ, त्यसैले मलाई पैसाको आवश्यकता थियो र त्यो रकम मैले 'प्रि कम्पेन्सेसन'को रुपमा लिएकी हुँ।"

क्षतिपूर्तिको हिसाब

पछि क्षतिपूर्तिको पूरै रकम बुझ्दा त्यो पनि जोडिने शर्तमा उक्त पैसा लिइएको उनले बताइन्।

विमान दुर्घटनामा मृत्यु भएका २३ जना र एकजना घाइतेसहितका परिवार मध्ये १६ जनाले त्यही शर्तमा प्रतिपरिवार २० हजार डलर लिएको उनीहरूको बीबीसी नेपाली सेवालाई बताए।

पछिल्लो समय आफूहरू मृत्यु भएका व्यक्तिको योग्यता र उमेरका आधारमा उनीहरुले औसत आयु बाँचेका भएका कति जति पैसा कमाउँथे भनी हिसाब गर्न व्यस्त रहेको गणेश बरारले बताए।

"मेरी छोरी डाक्टर थिइन्। उक्त दुर्घटनामा नपरेको भए उसले के-कति कमाउँथी भन्ने हिसाब निकालेको छु र त्यही अनुरुपको क्षतिपूर्तिको माग गर्दैछु। अन्य साथीहरुले पनि यस्तै हिसाब निकालेका छन्। त्यस अनुसारको रकम नपाए हाम्रो मुद्दालाई अदालत मार्फत सल्टाउनुको विकल्प हामीसंग रहने छैन," बरारले भने।

दाबी रकम

भारतमा रहेको कम्पनीमार्फत नेपाली परिवारहरूले क्षतिपूर्तिको अनुमानित रकम निकालेका हुन्।

चैतको दोस्रो साता उक्त बिमा कम्पनीमा त्यो बिमा दावी रकम प्रस्तुत गर्ने तयारीमा उनीहरू छन्।

आफूहरूले दाबी गर्ने रकम पीडित परिवारहरूले खुलाउन चाहेनन्।

पीडित परिवारहरूले बिमा दावी रकम पाउनको लागि सरकारबाट पनि सहयोगको आशा गरेका छन्।

बाङ्ग्लादेशी परिवारले लिए

"धेरै कुरा केही होइन तर यसरी अन्तराष्ट्रिय संस्थाहरूमा हामी पहुँच नभएका व्यक्तिहरू धाइ राख्नु भन्दा सरकारले हाम्रो नेतृत्व गरिदिए निकै सजिलो हुने थियो। सन्तान गुमाए पनि राज्य त छ नी भन्ने अनुभूति हुने थियो," प्रधानले भनिन्।

उता बाङ्ग्लादेशमा भने सबै पीडित परिवारले क्षतिपूर्ति बापत पाउने रकम लिइसकेका छन्।

उनीहरूले प्रतिव्यक्ति ५० हजार अमेरिकी डलर पाएको बीबीसी बाङ्ग्लाले बताएको छ।

यसरी क्षतिपूर्ति लिनेहरू मध्येकी एक हुन्, फिरोजा बेगम।

जसले आफ्नो एकमात्र छोरा र तीनवर्षकी नातिनीलाई उक्त दुर्घटनामा गुमाएकी थिइन्।

परोपकारको लक्ष्य

छोरा र नातिनीको मृत्यु भएपछि उनको परिवारले क्षतिपूर्ति बापत एक लाख अमेरिकी डलर पाए।

त्यो पैसा छोरा र नातिनीकै सम्झनामा खर्च गर्ने योजना बनाएको उनले बताइन्।

"क्षतिपूर्तिबाट पाएको पुरै रकम म मस्जिद बनाउन खर्च गर्नेछु। म त्यो आफ्नो लागि खर्च गर्न सक्दिनँ र मलाई पैसा चाहिँदा पनि चाहिँदैन," उनले भनिन्।

"नातिनीको नाममा एउटा अनाथालय बनाउने छु। म मरेपछि मेरा लागि प्रार्थना गर्ने कोही बाँकी छैन। त्यसैले म मरेपछि सबै सम्पत्ति परोपकारी संस्थालाई दान दिनेछु।"