सन्दीप लामिछाने: अस्ट्रेलियाको बिग ब्याश क्रिकेटमा सन्दीपको टोली उपविजेता

सन्दीप

तस्बिर स्रोत, Twitter/sandeep

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी नेपाली सेवा

नेपाली बलर सन्दीप लामिछाने सहभागी मेल्बर्न स्टार्स, अस्ट्रेलियाको चर्चित व्यावसायिक क्रिकेट प्रतियोगिता बिग ब्याश लिगको उपविजेता बनेको छ।

मेल्बर्न सहरका दुई क्लबबीच खेलिएको 'मेल्बर्न डर्बी' फाइनलमा मेल्बर्न स्टार्सलाई मेल्बर्न रेनिगेड्सले १३ रनले पराजित गरेको हो।

फाइनलमा सन्दीपले विकेट लिन नसकेपनि उनको कसिलो बलिङले विपक्षी ब्याट्सम्यानहरूलाई केही बाँध्न मद्दत पुगेको थियो।

चार ओभर बलिङ गर्ने क्रममा ४ रनको औसतमा उनले १६ रनमात्र दिए।

समग्रमा उनले प्रतियोगिताभरि ११ विकेट लिन सफल भएका छन्।

प्रतिस्पर्धा

टस जितेर पहिलो बलिङ रोजेको मेल्बर्न स्टार्सले प्रतिद्वन्द्वीलाई १ सय ४५ रनमा रोकेको थियो।

रेनिगेड्सलाई शुरुवातदेखि नै रोक्ने क्रममा स्टार्सका बलरहरू एडम जाम्पा र ज्याकसन बर्डले २/२ विकेट लिए।

रेनिगेड्सलाई उकास्नका निम्ति टम कुपर र डानियल क्रिस्टियनको भूमिका महत्त्वपूर्ण रह्यो। छेटौं विकेटका लागि यो जोडीले ८५ रनको अविजित साझेदारी गरेपछि टोलीले योग्य स्कोर बनायो।

पारस

तस्बिर स्रोत, Twitter/sandeep

तस्बिरको क्याप्शन, सन्दीपको खेल हेर्न नेपाली कप्तान पारस खड्का पनि केही समय अघि अस्ट्रेलिया पुगेका थिए।

जवाफी ब्याटिङमा मेल्बर्न स्टार्स सुरुदेखि नै हावी देखियो।

तर अन्तिम समयमा एकपछि अर्को खेलाडीहरू आउट भएका कारण टोलीले अनपेक्षित हार बेहोर्नुपर्‍यो।

सन्दीपको प्रदर्शन

बिग ब्याश लिगमा पहिलो पटक आवद्ध लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन सुरुदेखि नै प्रभावकारी देखिएको थियो।

सिड्नी थन्डर्स विरुद्धको पहिलो खेलमा उनले २ विकेट लिए। त्यो प्रभाव कायम राख्दै दोस्रो खेलमा होबार्ट हरिकेन्स विरुद्ध ३ विकेट र तेस्रो खेलमा उनले सिड्नी सिक्सर्स विरुद्ध २ विकेट लिएका थिए।

रमाइलो पक्ष के थियो भने उनले यी खेल अवधिमा चार विपक्षी कप्तानको विकेट लिएका थिए।

त्यतिबेलासम्म प्रतियोगिताको सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा पहिलो पंक्तिमा उनी नै थिए।

रेनिगेड्स विरुद्धको चौथो खेलमा भने सन्दीपले १ विकेटमात्र लिएका थिए।

त्यसपछि बाँग्लादेश प्रिमियर लिग बीपीएल र नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका निम्ति सन्दीपले अस्ट्रेलिया छाडेका थिए।

बीपीएलमा खासै उल्लेख्य प्रदर्शन नगरेपनि युएई भ्रमणमा नेपाललाई एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय उपाधि दिलाउने टोलीको महत्त्वपूर्ण सदस्य बनेर उनी फेरि बिग ब्याश लिगका बाँकी खेल खेल्न अस्ट्रेलिया फर्केका थिए।

प्रभाव कायम

सन्दीपले फर्केर पनि आफ्नो राम्रो प्रदर्शन कायम राखे।

मुख्यत: सेमीफाइनल पुग्नका निम्ति सिड्नी सिक्सर्स विरुद्ध जित्नैपर्ने खेलमा उनले ३ विकेट लिए। त्यो पनि ३ रनको औसतमा कसिकसाउ बलिङ गर्दै।

सेमीफाइनल र फाइनलमा भने उनले विकेट लिन सकेनन्।

अब कता

बिग ब्याश लिगको यात्रा सकिएपछि सन्दीप अब पाकिस्तान सुपर लिग खेल्न जाँदैछन्।

युएईमा हुने उक्त प्रतियोगितामा उनी लाहोर कलन्दर्सका तर्फबाट खेल्नेछन्।

उक्त टोलीमा दक्षिण अफ्रिकाका चर्चित खेलाडी एबी डिभिलियर्स पनि छन्।

त्यसपछि उनी भारतमा सुरु हुने इन्डियन प्रिमियर लिग आइपीएल खेल्न जानेछन्।

दिल्ली क्यापिटल्स (त्यतिखेर दिल्ली डेरडेभिल नाम भएको) टोलीबाटै उनले गत वर्ष आफ्नो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गरेका थिए।