तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल-यूएई टी-२० शृङ्खला: नेपाल बलिङ गर्दै
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी नेपाली सेवा, दुबई
यूएईविरुद्धको एकदिवसीय शृङ्खला जितेपछि हौसिएको नेपाल आज बिहीवारबाट सुरु हुने २० ओभरको टी-२० अन्तर्राष्ट्रिय खेल जित्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ।
दुबईस्थित आईसीसी ओभल मैदानमा २१ देखि २५ तापक्रमको मौसममा एक हजारभन्दा बढी नेपाली समर्थकहरू मैदानमा आउने अनुमान छ।
कप्तान पारस खड्काले एकदिवसीय प्रतियोगिता भन्दा टी-२० बेग्लै शैलीको खेल भएकोले खेलाडीहरूले नयाँ ढङ्गबाट खेल्नुपर्ने बताएका छन्।
बुधवार तीन घण्टा अभ्यासमा बिताएका उनले भने,"प्रत्येक खेलमा चुनौती छ तर मलाई विश्वास छ एकदिवसीय शृङ्खला जितेपछि पाएको आत्मविश्वासलाई खेलाडीहरूले टी-२० मा पनि दोहोर्याउनेछन्।"
टोलीमा परिवर्तन
छोटो शैलीको क्रिकेटका लागि राष्ट्रिय टोलीमा भने केही परिवर्तन गरिने प्रशिक्षक जगत टमाटाले बताए।
पहिलो खेलमा प्रारम्भिक जोडीका रूपमा ज्ञानेन्द्र मल्लसँग प्रदीप ऐरी हुनेछन्।
सुदूरपश्चिमका ऐरी आक्रामक ब्याट्सम्यानका रूपमा चिनिन्छन्।
उनले घरेलु फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सबाट प्रभावशाली खेल देखाएका थिए।
यूएईविरुद्ध खेलिएको एकदिवसीय खेलहरूमा भने उनलाई समावेश गरिएको थिएन।
मध्यक्रममा द्विविधा
टी-२० को मध्यक्रममा पर्न धेरै खेलाडीहरूको दाबेदारी छ।
मल्ल र ऐरीपछि भने एकदिवसीय खेलमा जस्तै कप्तान पारस खड्का र दीपेन्द्र सिंह ऐरीले खेल अगाडि बढाउने बताइएको छ।
त्यसपछि भर्खरै मात्र राष्ट्रिय टोलीमा समावेश भएका सन्दीप जोरालाई ल्याउने सङ्केत प्रशिक्षक टमाटाले दिएका छन्।
आफ्नो पहिलो एकदिवसीय खेलमा १९ रन बनाएका उनले एक छक्का र एक चौका हान्दै तिखो ब्याटिङ शैली प्रदर्शन गरेका थिए।
त्यसपछि भने टोलीमा कीर्तिमान रचेर चर्चामा आएका १६ वर्षीय रोहित पौडेल, सन्दीप जोरा र अभिनास बोहोराले स्थान पाउन सक्ने संभावना छ। ती तीनै खेलाडीले स्थान पाएमा टी-२० अन्तर्राष्ट्रिय खेलमा डेब्यू हुनेछ।
नेपाली क्रिकेटमा धेरै समयपछि यस्तो प्रतिस्पर्धाको स्थिति आइपुगेको बताइन्छ।
मध्यक्रमका भरपर्दा खेलाडी शरद भेषावकरको अनुपस्थितिमा त्यो पनि यस्तो अवस्था देखिएको हो।
प्रशिक्षक टमाटा भन्छन्, ''खेल सुरु हुने बेलामा मात्र यसबारे निर्णय लिइनेछ।"
दुबई भ्रमणमा अहिलेसम्म मैदान छिर्ने मौका नपाएका सार्कीलाई कम्तीमा एउटा खेलमा मौका दिइने अनुमान गरिए पनि पहिलो टी-२० मा भने सम्भावना कम देखिन्छ।
बलिङतर्फ सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने नियमित टोलीमा हुनेछन्। तर ललित नारायण राजवंशी र वसन्त रेग्मीमध्ये एक जना खेल्न पाउने छैनन्।
ब्याटिङको कडा परीक्षा
नेपाली टोलीका भारतीय ब्याटिङ सल्लाहकार उमेश पटवाल ब्याट्सम्यानका लागि टी-२० कडा परीक्षा हुने बताउँछन्।
उनले भने, "नेपालमा २० ओभरको प्रतिस्पर्धा हुन थालेको छ। तर त्यहाँ ब्याट्सम्यानहरूले सामना गरिरहेका बलरभन्दा यूएईका खेलाडीहरु धारिला छन्। यस्तोमा नेपाली ब्याट्सम्यानका लागि यो चुनौती र अनुभव हुन सक्छ।"
"खेलाडीहरू यो परीक्षामा उतिर्ण होऊन् भन्ने म चाहन्छु।"
नेपाली दोस्रो टी-२० शुक्रवार र अन्तिम खेल आइतवार खेल्ने कार्यक्रम छ।
सन् २०१४ को टी-२० विश्वकप खेलेको नेपालले सन् २०१५ मा आयर्ल्यान्ड र स्कट्ल्यान्डमा भएको विश्वकप छनोट खेलयता खेलेको छैन।
नेपालले हालसम्म १२ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेकोमा तीनमा जित हासिल गरेको छ।
सन् २०१८ मा लर्ड्स मैदानमा नेदर्ल्यान्ड्ससँगको खेल वर्षाका कारण अवरुद्ध भएको थियो।
नेपाल र यूएईबीच भने यो पहिलो टी-२० खेल हुनेछ।