तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एकदिवसीय क्रिकेटमा नयाँ स्टार सन्दीप जोराको उदय
घरेलु क्रिकेटमा लोभलाग्दो प्रदर्शन गरेर राष्ट्रिय टोलीको ढोका ढक्ढक्याइरहेका युवा खेलाडी सन्दीप जोरा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नयाँ सदस्यका रूपमा सोमवारदेखि प्रवेश गरेका छन्।
युएईमा जारी एकदिवसीय शृङ्खलाका शुरूको दुई खेल खेल्न नपाएका जोरालाई निर्णायक खेलमा मौका दिइएको छ।
नेपाली कप्तान पारस खड्काले उनलाई सोमवार युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेल अगाडि 'डेब्यु क्याप' दिएर मैदानमा स्वागत गरे।
युएई भ्रमणका बेलामा राष्ट्रिय टोलीमा समावेश गरिएका चार नयाँ अनुहारमध्ये जोरा एक हुन्।
प्रभाव
पवन सर्राफ र ललित नारायण राजवंशीले पहिलो खेलमै टोलीमा प्रवेश पाएका थिए। भीम सार्कीले भने डेब्युका लागि कुर्नुपर्ने भएको छ।
जोरालाई सर्राफको स्थानमा खेलाइएको हो। शुरूका दुई खेलमा पवनले चार र आठ रन मात्र बनाउन सकेका थिए।
यद्यपि उनी १९ रन बनाएर आउट भएका छन्। चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले कप्तान पारस खड्काको साथमा प्रभावशाली शुरूवात गरेका थिए।
उनले आफूले सामना गरेको चौथो बलमा इमरान हैदरलाई छक्का प्रहार गरे। त्यस्तै उनले असफाक अहमदको बललाई बाउन्ड्री बाहिर पठाएका थिए।
उनले पारससँगको चौथो विकेटका लागि ३० रनको साझेदारी गरेपछि आउट हुन पुगे।
उनलाई इमरान हैदरले मोहम्मद उसमानबाट क्याच आउट गराएका थिए। २० बलको सामना गरेका उनले १९ रन बनाए।
सुदूरपश्चिमका प्रतिभा
जोरा सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्लाको भीमदत्त नगरका बासिन्दा हुन्। सामान्य परिवारमा जन्मिएका जोराका बुबा भारतमा सुरक्षाकर्मीको काम गर्छन्।
उनी सोमवार १७ वर्ष १०० दिनको भएका छन्।
अण्डर-१९ राष्ट्रिय टोली र घरेलु टी २० प्रतियोगितामा केही उत्कृष्ट प्रदर्शन गरेपछि उनी राष्ट्रिय टोलीको छनोटकर्ताको नजरमा परेका थिए।
गएको सेप्टेम्बरमा भएको यु-१९ एसिया कपमा छनोट भएपछिको पहिलो खेलमा उनले युएईविरुद्ध ७४ बलमा ७६ रन बनाएर आफ्नो प्रतिभा देखाएका थिए भने भारतविरुद्ध २० बलमा २० रन बनाएका थिए।
घरेलु टी २० क्रिकेटमा पनि उनले आफूलाई प्रमाणित गरेका छन्। पहिलो पटक एभरेष्ट प्रिमियर लिग इपीएलमा कान्तिपुर गोर्खाजमा उनले मौका पाएका थिए।
त्यसपछि उनी घरेलु लिगको नियमित सदस्य बन्दै आएका छन्।
२०७० सालमा धनगढीमा भएको यू-१६ क्षेत्रीय प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी बनेपछि उनी नेपाली क्रिकेटमा उदाएका थिए।