ह्वावेकी वित्तीय कार्यकारीलाई क्यानडामा धरौटीमा छोड्न आदेश

तस्बिर स्रोत, Reuters
क्यानाडाको एक अदालतले चिनियाँ टेलिकम फर्म ह्वावेइकी प्रमुख वित्तीय कार्यकारी मङ्ग वान्जूलाई धरौटीमा छोड्न आदेश दिएको छ।
अमेरिकाले सुपुर्दगी गर्न अनुरोध गरेपछि गत डिसेम्बर १ तारिखमा उनी भ्यान्कुबरमा पक्राउ परेकी थिइन्। त्यो कदमले कूटनैतिक तनाव बढाएको थियो।
४६ वर्षीया मङ्ग ह्वावेकी संस्थापककी छोरी हुन्। उनीविरुद्ध प्रतिबन्धहरूको बेवास्ता गर्दै इरानलाई टेलिकम सामान बेच्ने एक कम्पनीसँगको सम्बन्ध ढाकछोप गरेको आरोप लगाइएको छ।

तस्बिर स्रोत, AFP
मङ्गले ती आरोपहरू अस्वीकार गर्दै आएकी छन्। उनलाई अमेरिका सुपुर्दगी गर्ने योजना बनाइएको छ।
क्यानडका न्यायाधीशले उनीबाट ७५ लाख डलर धरौटी लिने र खुट्टामा 'इलेक्ट्रोनिक ट्याग' अर्थात विद्युतीय उपकरणसहित उनी निरन्तर निगरानीमा रहनुपर्ने आदेश दिएका छन्।
उनलाई अमेरिका सुम्पने प्रक्रिया पूरा हुन वर्षौं लाग्न सक्छ।
उनी पक्राउ परेपछि चीनमा आक्रोशहरू व्यक्त भएका थिए। उनलाई नछोडिए गम्भीर परिणामहरू हुने चेतावनी चीनले दिएको थियो।
चीनमा क्यानडाली पक्राउ
अर्कोतिर क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनमा एक पूर्व क्यानडाली कूटनीतिज्ञलाई हिरासतमा लिइएको सम्बन्धमा आफूले बेइजिङबाट जबाफहरू खोजिरहेको बताएका छन्।
माइकल कोभ्रिङ इन्टरन्याशनल क्राइसिस ग्रुप नाम गरेको नीति अनुसन्धान संस्थामा काम गर्दछन्।
क्यानडाका एक मन्त्रीले उनको गिरफ्तारी र मङ्ग वान्जू पक्राउ पर्नुबीच सीधा सम्बन्ध भए नभएको अझै प्रष्ट भइसकेको छैन।
अमेरिकी विदेश मन्त्रालयले पनि कोभ्रिङलाई नियन्त्रणमा लिने कदमप्रति चिन्ता व्यक्त गर्दै चीनलाई मानिसहरूलाई जथाभाबी पक्रिने क्रम रोक्न आह्वान गरेको छ।






















