अमेरिकाले व्यापार युद्ध थाल्योः चीन

व्यापार

तस्बिर स्रोत, Getty Images

चिनियाँ सामानहरूमाथि नयाँ चरणको अमेरिकी कर कार्यान्वयनमा आएको छ।

दुई ठूला आर्थिक महाशक्तिबीचको व्यापार युद्ध झन् चर्काउने गरी यो अमेरिकाको अहिलेसम्मकै ठूलो कदम हो।

चीनले असन्तुलित व्यापार अभ्यासहरू गरेको भन्दै अमेरिकाले थप २०० अर्ब डलर बराबरका चिनियाँ उत्पादनमा कर लगाएको छ।

त्यसको जवाफमा चीनले ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर लगाएको छ।

इतिहास

चीनले भनेको छ, "संयुक्त राज्य अमेरिकाले आर्थिक इतिहासकै सबैभन्दा ठूलो व्यापार युद्ध शुरू गर्‍यो।"

पछिल्लो कदमसँगै गत जुलाइयता अमेरिकी करबाट २५० अर्ब डलर बराबरसम्मको चिनियाँ निर्यात प्रभावित हुने भएको छ।

यसको अर्थ चीनले अमेरिकालाई गर्ने करिब आधा जति निर्यातमाथि नयाँ करहरू लाग्नेछ।

व्यापार

तस्बिर स्रोत, Getty Images

सञ्चारमाध्यमहरूका अनुसार चीनले अमेरिकासँगको थप व्यापार वार्तालाई रद्द गरेपछि पछिल्लो तनाव बढेको हो।

नयाँ अमेरिकी कर करिब ६ हजार प्रकारका चिनियाँ वस्तुमा लाग्नेछ, जुन वाशिङटनबाट लगाइएको अहिलेसम्मकै ठूलो चरणको कर हो।

त्यसको प्रभाव हातेझोला, चामल र कपडा जस्ता चिनियाँ उत्पादनमा पर्नेछ। यद्यपि स्मार्ट घडी र एक प्रकारका कुर्सीमा चाहिँ त्यो लागु हुनेछैन।

असन्तुलित

चिनियाँ उत्पादन आयात गर्ने अमेरिकी कम्पनीहरूले अब १० प्रतिशत अतिरिक्त लेबी तिर्नुपर्ने हुन्छ।

दुई देशले कुनै सहमति गरेनन् भने सन् २०१९ को शुरूबाट करमा २५ प्रतिशतले वृद्धि हुनेछ।

अमेरिकामा निर्मित साना विमान, कम्प्युटर तथा कपडामा अतिरिक्त ५ प्रतिशत कर लगाउन लागेको छ।

त्यस्तै अमेरिकामा उत्पादित रसायन, मासु, गहुँ तथा रक्सीमा बेइजिङले १० प्रतिशत अतिरिक्त कर लगाउन लागेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिका-चीन व्यापार युद्ध, पीडित बाँकी विश्व पनि

यो वर्षमात्रै अमेरिकाले तीन चरणमा गरी २५० अर्ब डलर बराबरका चिनियाँ सामानमा कर लगाएको छ।

यसअघि दुई छुट्टाछुट्टै चरणमा उसले ५० अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत कर लगाएको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'अमेरिकी प्रविधि तथा बौद्धिक सम्पत्तिको असन्तुलित स्थानान्तरण रोक्न र रोजगारी जोगाउन' आफूले पछिल्ला कदमहरू चालेको बताउँदै आएका छन्।