आफ्नो व्यापारिक हितको रक्षा गर्छौं: चीन

तस्बिर स्रोत, Getty Images
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ उत्पादनहरूमाथि उच्च कर लगाइने जनाएपछि चीनले व्यापारसम्बन्धी आफ्ना हितहरूको बचाउ गर्ने भन्दै अमेरिकालाई सावधान गराएको छ।
चीनका उप-प्रधानमन्त्री ल्यू ख र अमेरिकी आर्थिक मामिला मन्त्री स्टीभन मनुशिनबीच भएको टेलिफोन संवादमा बेइजिङको त्यस्तो प्रतिक्रिया आएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई बौद्धिक सम्पत्ति चोरीको आरोप लगाउँदै चिनियाँ सामानमाथि ६० अर्ब डलरसम्मको कर लगाउने घोषणा गरेका थिए।
डर
अमेरिकाको त्यस्तो कदमले विश्वबजारमा तरंग देखिएको छ र व्यापार युद्ध हुनेसक्ने डर उत्पन्न गराएको छ।
मनुशिनसँगको कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङका शीर्ष आर्थिक सल्लाहकार रहेका ल्यूले, उनकै शब्दमा, बेइजिङ आफ्नो राष्ट्रिय हितको रक्षा गर्न तयार भएको तर दुवै पक्षले विवेकको प्रयोग गर्ने र सहकार्य गर्नेप्रति आशा पनि व्यक्त गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

तस्बिर स्रोत, Reuters
अमेरिकी राष्ट्रपतिले बिहीवार चर्को कर शुल्क लगाइने घोषणा गरेयता सबैभन्दा शीर्ष तहबीच भएको ठानिएको कुराकानीका क्रममा अमेरिकाले चिनियाँ बौद्धिक सम्पत्तिसम्बन्धी अभ्यासहरूमाथि छानबिन गरेर अन्तर्राष्ट्रिय व्यापार नियमहरूको उल्लंघन गरेको आरोप ल्यूले लगाए।
व्यापारसम्बन्धी तनावहरूका माझ विश्व व्यापार संगठनका निर्देशक रोबर्टो आजभेइडुले नयाँ व्यापार बन्देजहरूले "विश्व अर्थतन्त्रलाई जोखिममा पार्ने" बताएका छन्।
प्रभाव
ट्रम्पले चीनमाथि चर्को कर शुल्क लगाउने अमेरिकी कदमले परिणाम देखाउन सुरू गरिसकेको बताएका छन्।
ट्रम्पले शुक्रवार भनेका थिए, "अन्य धेरै देश समान व्यापार सम्झौताहरु गर्न अहिले हामीसँग छलफल गरिरहेका छन्।"
ट्रम्पको त्यस्तो कदमको बदलामा चीनले दैनिक उपभोग्यका सामान र एलम्युनियमका सामग्रीमाथि प्रस्तावित ३ अर्ब डलरको कर लगाउने योजना बनाइएको चीनले जनाएको छ।
बेइजिङले "आफू व्यापार युद्धबाट नडराएको" तर निरन्तर वार्तामार्फत् त्यस्तो अवस्था आउन नदिनेप्रति आफू आशावादी भएको भन्दै अमेरिकालाई सावधान गराएको छ।








