तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतीय किसानको विरोध: दिल्लीमा हजारौं किसानको प्रदर्शन
भारतको राजधानी दिल्लीमा दशौं हजार किसानहरूले देशको कृषि क्षेत्रमा गहिरिंदै गएको संकटलाई उजागर गर्न संसद अगाडि विरोध प्रदर्शन गरेका छन्।
तिनीहरू देशभरीबाट राजधानी आएका थिए र आफ्नो उत्पादनको उचित मूल्य, सुख्खाबाट राहत र ऋण मिनाहा जस्ता मागहरूको सम्बोधन हुनु पर्ने नाराहरू लगाउंदै उनीहरुले प्रदर्शन गरेका थिए।
भारतको कृषि क्षेत्र दशकौं देखि खस्कींदो भूमिगत जलसतह र घट्दो उत्पादकत्व जस्ता समस्याबाट ग्रसित रहंदै आएको छ। गत वर्षदेखि आयोजना हुन थालेको यो चौथो यस्तो प्रकारको विरोध प्रदर्शन हो।
भारतमा किसानहरू महत्वपूर्ण मतदाता सूमहमा पर्दछन्।
र विश्लेषकहरू भन्छन् विरोध प्रदर्शनहरूको आकारलाई हेर्दा किसानहरूको असन्तोषले सत्ताधारी भारतीय जनता पार्टी, बीजेपीलाई आगामी आमनिर्वाचनमा क्षति पुर्याउन सक्छ।
शुक्रबारको जुलुसमा सहभागी एकजना किसान लखनपाल सिंह भन्छन्, " हामीले बीजेपीलाई भोट दिएका थियौं तर सरकारको किसान विरोधी नीतिहरूले हामीलाई नराम्रो चोट दिएको छ।"
माग
विरोध प्रदर्शनकारी किसानहरूको एउटा प्रमुख माग देशमा विद्यमान कृषि संकटको समाधानका बारेमा छलफल गर्न विशेष संसदीय बैठकको आयोजना पनि रहेको छ।
संगैसंगै तिनीहरूले पूर्ण रुपमा ऋण मिनाहा र कृषि उत्पादनको मूल्यमा थप वृद्धि हुनु पर्ने पनि माग गरिरहेका छन्।
भारतको जनसंख्याको आधाजति कृषि क्षेत्रमा कार्यरत छन् तर कृषि उत्पादनले देशको कूल गाहर्स्थ उत्पादनमा १५ प्रतिशत मात्र योगदान दिने गर्दछ।
देशका धेरैजसो राज्यमा सरकारहरू किसानलाई तिनीहरूको उत्पादनको लागि थप मूल्य दिने कार्यमा छरितो देखिएका छैनन्।
उद्देश्य
संघीय सरकारले नै कृषि उत्पादनहरुको मूल्य तोक्ने गर्दछ र किसानहरूसंग तिनीहरुको उत्पादन किन्ने गर्दछ।
उत्पादनमा अनुदान प्राप्त होस् र किसानलाई आय आर्जनमा सहयोग पुगोस् भन्ने त्यस्तो सरकारी कदमको उद्देश्य रहने गरेको बताइन्छ।
भारतका किसानहरू ब्यांकहरू र अन्य ऋणदाताहरूबाट तिनीहरूले लिएका ऋणको बोझबाट पनि थिचिएका छन्। र कृषि उत्पादन असफल हुँदा कतिपय किसानहरूले आत्महत्या समेत गर्ने गरेका छन् जुन गतिविधिको स्तर चिन्ताजनक रुपमा नै चर्को देखिएको छ।
सन् १९९५ देखि यता कम्तिमा तीन लाख भारतीय किसानहरूले आत्महत्या गरिसकेका छन्।