तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत: महत्त्वाकांक्षी 'मोदीकेयर'का विशेषता
भारतको सरकारले देशको झण्डै आधा जनसङ्ख्यालाई स्वास्थ्य सेवासम्बन्धी बीमा प्रदान गर्न एक अर्ब डलरको महत्त्वाकांक्षी स्वास्थ्य सेवा योजना सार्वजनिक गरेको छ।
'मोदीकेयर' नामले चिनिएको उक्त स्वास्थ्य योजना 'विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य योजना' भएको ठानिएको छ।
भारतमा आगामी वर्ष हुने आमनिर्वाचनभन्दा अगाडि 'मोदीकेयर' योजना सुरु गरिएको छ।
हालै ल्याइएको 'आयुष्मान भारत मिशन' अन्तर्गतको उक्त कार्यक्रमलाई 'प्रधानमन्त्री जनआरोग्य योजना' पनि भनिएको छ।
'ऐतिहासिक दिन'
पूर्वी राज्य झारखण्डमा प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यसेवासम्बन्धी कार्डहरू हस्तान्तरण गर्दै भारतका लागि ऐतिहासिक दिन भएको बताए।
भारतमा स्वास्थ्य सेवा लिन नपाएर वा त्यसमा पहुँच नभएर वषेनी झण्डै१६ लाख मानिसले ज्यान गुमाउँछन्।
वार्षिक ७१०० डलरको स्वास्थ्य बीमामार्फत् त्यो स्थिति अन्त्य गर्ने अर्बौँ डलर खर्च गरिने 'आयुष्मान भारत स्वास्थ्य अभियान'को लक्ष्य रहेको छ।
योजनामा के छ?
मोदीकेयर योजनाबाट देशको लगभग ४० प्रतिशत जनसङ्ख्याले स्वास्थ्य बीमा सेवा प्राप्त गर्नेछन्।
यस योजनाअन्तर्गत देशको १० करोड ७४ लाख परिवारहरूलाई पाँच लाख भारतीय रुपैयाँको स्वास्थ्य बीमा प्रदान गरिनेछ।
योजनाअन्तर्गत लाभ पाउने मानिसहरूको पहिचान सन् २०११ सालमा गरिएको सामाजिक, आर्थिक तथा जातिगत गणनामा आधारित छ।
लाभग्राहीहरूको सम्पूर्ण तथ्याङ्क अनलाइनमा राखिएको छ र करिब ८ हजार अस्पतालहरूलाई सो तथ्याङ्क उपलब्ध गराइएको छ।
सरकारले सबै ती अस्पतालहरूमा 'आयुष्मान केन्द्र' खोलेको छ जुन उक्त योजनाको हिस्सा हुन्। आर्थिक रूपले कमजोर मानिसहरू पहिचान केन्द्रहरूसँगै 'आयुष्मान केन्द्र' पनि जान सक्नेछन्।
त्यहाँ अधिकारीहरूले लाभग्राहीको सूचीमा तिनीहरूको नाम छ कि छैन भनेर जाँच गर्नेछन्।
आलोचना
स्वास्थ्य सेवाअन्तर्गत करिब १३ सय ५० स्वास्थ्य समस्यासम्बन्धी बीमा प्राप्त हुनेछ।
तर विश्वका धेरैजसो विश्वव्यापी जनस्वास्थ्य योजनाहरूजस्तो नभई, भारतीय स्वास्थ्य योजनाले सर्जरी वा क्यान्सर उपचारको मात्र खर्च मात्र बेहोर्नेछ।
अस्पतालमा भर्ना हुन नपर्ने, रुघाखोकी वा ज्वरो आएको अवस्थामा वा चिकित्सकहरूको सामान्य परामर्श लिनुपर्ने अवस्थामा भने उनीहरूले तिर्नुपर्ने शुल्क योजनामा सामेल गरिएको छैन।
झण्डै ८ हजार अस्पतालहरूले योजनाअन्तर्गत स्वास्थ्य सेवा दिनेछन् तर लामो समयदेखि स्वास्थ्यसेवाको पहुँचभन्दा बाहिर रहेका लाखौँ मानिसहरूलाई उपचार प्रदान गर्न त्यति अस्पतालहरू पर्याप्त नहुने विज्ञहरू बताउँछन्।
चुनौती
सो स्वास्थ्यसेवा योजनाले आगामी वर्ष हुने आमनिर्वाचनमार्फत् आफूलाई पुनः प्रधानमन्त्रीमा चुन्न सघाउने अपेक्षा नरेन्द्र मोदीले गरिरहेका छन्।
भारतको जटिल प्रशासकीय व्यवस्था तथा व्याप्त भ्रष्टाचारका कारण 'मोदीकेयर' को सुरुवात तथा कार्यान्वयन एउटा ठूलो चुनौती हुने कतिपय आलोचकहरू बताउँछन्।
मोदीले यसअघि पनि स्वच्छ भारत जस्ता बृहत् योजनाहरू सार्वजनिक गरेका थिए।
तर फितलो कार्यान्वयनका कारण तीमध्ये कतिपय योजनाहरूले खासै ठूलो प्रभाव पार्न सकेका छैनन्।