तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शौचालय जान चियाको बहाना किन
पर्याप्त शौचालयको व्यवस्था नहुँदा सर्वसाधारणले दिसापिसाब गर्न भोगिरहेको विश्वव्यापी समस्याविरुद्ध जनचेतना फैलाउन सोमवार विश्व शौचालय दिवस मनाइँदैछ।
नेपालमा पनि देशैभरि व्यवस्थित शौचालयको अभाव छ।
सर्वसाधारणको चाप बढी हुने शहरी क्षेत्र विशेषगरी राजधानी काठमाण्डूमा त्यो समस्या अझ विकराल भएकोले सर्वसाधारणले सास्ती झेल्दै आएका छन्।
अधिकारीहरूले चाहिँ व्यवस्थित शौचालय बनाउने काम भइरहेको बताएका छन्।
समस्या
काठमाण्डू महानगरपालिकाका अधिकारीहरूका अनुसार ४० लाखभन्दा बढी जनसङ्ख्या रहेको ठानिएको काठमाण्डू उपत्यकामा जम्मा ४५ वटा सार्वजनिक शौचालय छन्।
जनसङ्ख्याको अनुपातमा शौचालयको सङ्ख्या निकै कम भएपछि सर्वसाधारणले अप्ठेरो भोग्नुपरेको छ।
त्यसमा अपाङ्गता भएका र महिलाहरूको समस्या झन् बढी रहेको उनीहरू बताउँछन्।
एक पैदलयात्री महिला कविता बजगाईँ भन्छिन्, "महिलालाई जहाँ पायो तहीँ जान मिल्दैन। कहिलेकाहीँ चिया खाने बहानामा पिसाब फेर्न कै लागि होटल जानुपर्छ।"
शौचालय नहुनुको समस्या त छ नै, भएका शौचालय पनि फोहोर हुने र न्यूनतम सुविधाको अभावमा सर्वसाधारणले समस्या भोग्नुपरेको छ।
तर शौचालय सञ्चालक भने आफ्नै समस्या तेर्स्याउँछन्। त्यस्तैमध्येका एक काठमाण्डू सुनधारामा सार्वजनिक शौचालय सञ्चालन गर्ने रोनिस मानन्धर।
उदासिनता
"घण्टैपिच्छे शौचालय सफा गर्न सकिँदैन। पानी ल्याउन त्यतिक्कै गाह्रो छ। समस्या टरिरहेको छ। त्यहीँ नै ठूलो कुरा हो।"
निर्माणका लागि ठूलो बजेटको आवश्यकता नपर्ने भए पनि शौचालय बनाउन सरकारी उदासिनता देखिएको भन्दै कतिपय सर्वसाधारण आक्रोश व्यक्त गर्छन्।
सरकारी तहबाट शौचालय निर्माणका थुप्रै योजना बनेको देखिन्छ। काठमाण्डूमा मात्रै ४२ वटा थप शौचालय बन्ने क्रममा छ।
काठमाण्डू महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, "एकैचोटि धेरै शौचालय थप्नुभन्दा पनि भएकालाई व्यवस्थापन गर्ने र नयाँ शौचालय निर्माण गर्दै जाने हो। अब बनेपछि ९०-९५ वटा शौचालय हुन्छन्।"
कैयौँ शहर र गाउँले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरे पनि त्यो वास्तविकतामा लागु हुन नसकेको बताउनेहरूको कमी छैन।