साउदी अरेबिया: राजकुमार खालिद ११ महिनापछि रिहा

भ्रष्टाचारविरुद्धको कारबाहीको आलोचना गरेको आरोपमा पक्राउ गरिएका एक साउदी राजकुमारलाई रिहा गरिएको समाचार प्राप्त भएका छन्।

राजकुमार खालिद बिन तलालका आफन्तले उनको स्वागत गरिरहेका तस्बिरहरू सामाजिक सञ्जालमा राखेका छन्।

ती तस्बिरहरू हप्ताको अन्त्यतिर लिइएको ठानिएको छ।

करिब एक वर्षअघि नियन्त्रणमा लिइएका राजकुमार खालिद साउदी राजा सलमानका भतिजा हुन्।

शक्तिशाली

खालिदका दाजु राजकुमार अलवालीद बिन तलालसहित दर्जनौँ राजकुमार तथा अरू शक्तिशाली व्यक्तिलाई भ्रष्टाचारविरुद्धको कारबाहीका क्रममा गत वर्ष पक्राउ गरिएको थियो।

पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणलाई लिएर साउदी युवराज मोहम्मद बिन सलमानले व्यापक दबाब झेलिरहेका बेला यो समाचार प्रकाशमा आएको हो।

विश्लेषकहरूका अनुसार साउदी अधिकारीहरूले राजपरिवारभित्र बाट नै समर्थन बढाएर अहिलेको सङ्कट निवारण गर्न चाहेको देखिन्छ।

राजकुमार खालिदकी भतिजी राजकुमारी रीम बिन्त अलवालीदले सामाजिक सञ्जालमा अरू सदस्यहरूसँग उनको तस्बिर राख्दै लेखेकी छन्, "तपाईँको सुरक्षाका लागि ईश्वरलाई धन्यवाद छ।"

आफन्तहरूले राखेका अरू तस्बिरहमा रिहा भएका राजकुमारले कैयौँ वर्षदेखि कोमामा रहेका आफ्ना छोरालाई चुम्बन गर्दै गरेको देखिन्छ।

उद्देश्य

साउदी सरकारले राजकुमार खालिदलाई पक्राउ र रिहा गर्नुबारे कुनै औपचारिक जानकारी दिएको छैन।

तर वाल स्ट्रीट जर्नलका अनुसार गत वर्ष दुई सयभन्दा बढी राजकुमार, मन्त्री तथा व्यापारीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएकोमा राजकुमार खालिदले त्यसको आलोचना गरेका कारण उनलाई ११ महिना नियन्त्रणमा राखियो।

ती सबै जनालाई राजधानी रियादस्थित पाँचतारे होटल रिट्ज-कार्लटनलगायत र अन्य होटलमा राखिएको थियो।

विश्लेषकहरूका अनुसार युवराज मोहम्मद बिन सलमानले आफूमा शक्ति एकीकृत गर्ने प्रयासस्वरूप भ्रष्टाचारविरुद्धको कारबाही थालेका थिए।

भ्रष्टाचारविरुद्ध कारबाही थालेलगत्तै साउदी महान्यायाधिवक्ताले लामो अन्तरालमा १०० अर्ब डलरभन्दा बढी रकम बराबरको सङ्गठित भ्रष्टाचार भएको बताएका थिए।