खशोग्गीको हत्या भएको होः साउदी अरेबिया

साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको हत्या भएको स्वीकार्दै त्यसका लागि 'छाडा एजेन्टहरू' जिम्मेवार भएको बताएको छ।

साउदी विदेशमन्त्री आदिल अल-जुबैरले त्यो 'भयङ्कर भूल' भएको फक्स न्यूजलाई बताए।

यद्यपि प्रभावशाली युवराजको निर्देशनमा खशोग्गीको हत्या गराइएको आरोप उनले अस्वीकार गरे।

पत्रकार खशोग्गीलाई के भयो भन्ने विषयमा सत्यतथ्य बाहिर ल्याउन साउदी अरेबिया ठूलो दबाबमा छ।

स्वीकार

अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास प्रवेश गरेदेखि खशोग्गी बेपत्ता भएका थिए।

आफ्नी पूर्वपत्नीसँग सम्बन्ध विच्छेद गरेको प्रमाणित गर्ने कागजात लिन उनी वाणिज्य दूतावास पुगेका थिए।

टर्कीका अधिकारीहरूको विश्वास छ, वाणिज्य दूतावासभित्रै साउदी एजेन्टहरूले खशोग्गीको हत्या गरेको हुनुपर्छ।

यसअघि साउदी अरेबियाले खशोग्गी वाणिज्य दूतावास भवनबाट त्यो दिन सकुशल बाहिरिएको बताउँदै आएको थियो।

तर शुक्रवार पहिलो पटक उसले वाणिज्य दूतावासका कर्मचारीहरूसँग खशोग्गीको बाझाबाझले उनको मृत्युको घटना निम्त्याएको स्वीकार गर्‍यो।

खशोग्गी बेपत्ता प्रकरणबारे रियादको त्यस्तो विवरणले व्यापक सन्देह निम्त्यायो।

पछिल्लो पटक के भन्यो साउदीले?

आफ्ना पछिल्ला टिप्पणीमा साउदी विदेशमन्त्री अल-जुबैरले घटनालाई हत्याको रूपमा व्याख्या गरेका छन्।

उनले भने, "सबै तथ्य पत्ता लगाउने र हत्यामा संलग्नहरूलाई सजाय दिने कुरामा हामी दृढ छौँ।"

अल-जुबैरले थपे, "जसले त्यो काम गर्‍यो उसले आफ्नो अख्तियार बाहिर गएर त्यस्तो गर्‍यो।"

"निश्चित रूपमा त्यो भयङ्कर भूल हो र त्यसलाई ढाकछोप गर्ने प्रयत्न गरेर अझ गल्ती गरियो।"

खशोग्गीको शव कहाँ छ भन्ने कुरा आफूहरूलाई थाहा नभएको पनि विदेशमन्त्री अल-जुबैरले बताए।

र, अल-जुबैरले साउदी अरेबियामा शक्तिशाली मानिने युवराज मोहम्मद बिन सलमानको निर्देशनमा हत्या गराइएको कुरा पनि अस्वीकार गरे।

कसले के प्रतिक्रिया दिए?

साउदी अरेबियाका निकट साझेदारहरूले पनि खशोग्गी प्रकरणबारे उसको आलोचना गरिरहेका छन्।

जर्मन चान्सलर एंगेला मर्केलले खशोग्गीको मृत्युबारे साउदी अरेबियाले दिएको विवरण 'अपर्याप्त रहेको' बताएकी छन्।

फ्रान्सका विदेशमन्त्रीले 'कैयौँ प्रश्नहरू अनुत्तरित रहेको' प्रतिक्रिया दिएका छन्।

ब्रिटेनको विदेश मन्त्रालयले त्यसलाई 'भयानक कार्य'को संज्ञा दिएको छ र घटनामा संलग्नहरूलाई 'कानूनी दायरामा ल्याइनुपर्ने' बताएको छ।

क्यानाडाले पनि साउदी विवरणमाथि प्रश्न उठाएको छ। उसकी विदेशमन्त्रीले साउदी विवरणमा 'एकरुपता र विश्वसनीयता नदेखिएको' बताएकी छन्।

युरोपेली संघ र संयुक्त राष्ट्रसंघले घटनाबारे पर्याप्त अनुसन्धान गर्न आग्रह गरेका छन्।

कैयौँ अमेरिकी सांसदले पनि खशोग्गीको मृत्युबारे साउदी अरेबियाले दिएको विवरणप्रति सन्देह प्रकट गरेका छन्।

अष्ट्रेलियाले यसै महिनाको अन्त्यतिर रियादमा हुने लगानी सम्मेलनमा सहभागी नहुने घोषणा गरेको छ।

यसअघि संयुक्त राज्य अमेरिका, ब्रिटेन, नेदरल्याण्ड्स र फ्रान्सका विदेशमन्त्रीले सो सम्मेलनमा नजाने घोषणा गरिसकेका छन्।