खशोग्गी प्रकरण: टर्कीका प्रहरी साउदी वाणिज्य दूतावासभित्र

साउदी पत्रकार जमाल खशोग्गी बेपत्ता भएको दुई सातापछि उनी अन्तिम पटक देखिएका इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासभित्र टर्कीका प्रहरी पहिलो पटक प्रवेश गरेका छन्।

साउदी अधिकारीहरूको एक समूहभित्र पसेको करिब एक घण्टापछि टर्कीका अनुसन्धानकर्ताहरू त्यहाँ गएका हुन्।

टर्कीका अधिकारीहरू खशोग्गीलाई सोही वाणिज्य दूतावासभित्र साउदी एजेन्टहरूले मारिदिएको विश्वास गर्छन्।

तर रियादले भने उक्त भनाइ अस्वीकार गर्दै आएको छ।

केरकार

अमेरिकी सञ्चारमाध्यमहरूमा आएका अपुष्ट खबरहरू अनुसार खशोग्गीको ज्यान केरकार का बेला गएको भनी साउदी अधिकारीहरूले स्वीकार गर्न तयारी गरिरहेका छन्।

अरबी टेलिभिजन च्यानल अल जजिराले टर्कीका महान्यायाधिवक्तालाई उद्धृत गर्दै सो वाणिज्य दूतावासभित्रै खशोग्गीको हत्या भएको प्रमाण रहेको जनाएको छ।

यो मुद्दाका कारण साउदी अरेबिया तथा उसका निकट पश्चिमा सहयोगीहरूबीचको सम्बन्ध बिग्रिएको छ।

अमेरिकाले विदेशमन्त्री माइक पोम्पेओलाई रियाद तथा अंकाराको भ्रमणमा पठाएको छ।

दबाब

विस्तृत जवाफका निम्ति साउदी अरेबियामाथि कूटनीतिक दबाब बढिरहेको छ।

सोमवार साउदी राजा सलमानले उक्त घटनाको छानबिनको आदेश दिएका छन्।

इस्तानबुलमा टर्की र साउदी अरेबियाको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान गर्ने बताइएको छ।

बीबीसीका फ्र्यांक गार्डनर भन्छन्, यो घटनालाई लिएर एकताका महान् सुधारक भनिएका साउदी युवराज मोहम्मद बिन सलमानले सीमा नाघेको हो कि भन्ने प्रश्न उब्जिएका छन्।