तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'ब्रेक्जिट सम्झौता यसै वर्षको अन्त्यसम्ममा'
यूरोपेली संघ (ईयू) का शीर्षस्थ अधिकारीहरूले यसै वर्षको अन्त्यसम्म ईयूबाट ब्रिटेन औपचारिक रूपमा बाहिरिने- ब्रेक्जिट सम्बन्धी सम्झौता हुने आशा व्यक्त गरेका छन्।
यूरोपेली आयोगका प्रमुख जाँ क्लोड यंकरले हालैका दिनमा ब्रिटेन तथा ईयूबीच सम्झौता हुने सम्भावना बढेको बताउँदै नोभेम्बरसम्ममा दुई पक्षबीच सहमति हुने उल्लेख गरेका हुन्।
सन् २०१९ को मार्च २९ सम्ममा ब्रिटेनले औपचारिक रूप ईयू छाड्नेछ।
आशा
अबको ११ दिनमा हुन लागेको यूरोपेली शिखरबैठककका क्रममा दुईपक्षबीचको भावी आर्थिक सहकार्यबारे पनि सहमति गर्नेमा दुवै आशावादी देखिएका छन्।
तर आयरल्याण्ड र नर्दन आयरल्याण्डको सीमा र अन्य केही विषयमा अहिलेसम्म सहमति हुन सकेको छैन।
यूरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले पनि सन् २०१८को अन्त्यसम्ममा सहमति हुने सम्भावना रहेको औँल्याए।
टुस्कले बेक्जिटसम्बन्धी ब्रिटिश प्रधानमन्त्री टरिजा मेले प्रस्तुत गरेको योजनाहरू व्यवहारिक नभएको भनेको केही हप्तामा पछि नै उनको यस्तो भनाइ आएको हो।
ब्रेक्जिटसम्बन्धी छलफलहरूमा सकारात्मक प्रगति देखिएपछि यूरो तथा अमेरिकी डलरको तुलनामा ब्रिटिश मुद्रा पाउण्ड बलियो भएको छ।
सम्बन्ध तोड्ने
अस्ट्रियाली संचारमाध्यमलाई शुक्रवार दिएको एउटा अन्तर्वार्तामा यूरोपेली आयोगका प्रमुख यंकरले अक्टोबर महिनाभित्रै सम्झौता हुने आफूलाई नलागेको बताए। तर नोभेम्बर महिनामा भने सम्झौता हुन सक्ने उनले बताए।
अक्टोबर १७ मा हुन लागेको यूरोपेली नेताहरूको आगामी बैठकमा सहमति हुने वा नहुने भन्ने प्रश्नमा यंकरले सहमतिबाट आफूहरू टाढा नरहेको बताएका हुन्।
सहमति बिनाको ब्रेक्जिट ब्रिटेन तथा ईयू दुवैका लागि राम्रो नहुने उनको धारणा छ।
ब्रिटेन औपचारिक रूपमा ईयूबाट बाहिरिने मिति सन् २०१९ को मार्च २९ बाट संक्रमणकालीन अवधि शुरू हुनेछ।
सो अवधि ईयू-ब्रिटेनबीचको भावी दिनमा बन्ने स्थायी सम्बन्धको मार्ग सहज गर्नेतर्फ लक्षित रहने बताइएको छ।
सन् २०१६ को २३ जुनमा भएको जनमत संग्रहमा ब्रेक्जिटपक्षधर विजयी भएपछि ब्रिटेन सरकारले ईयूसँगको उसको ४० वर्ष लामो सम्बन्ध तोड्ने निर्णय गरेको थियो।