तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ब्रेक्जिट: संक्रमणकालीन अवधिसम्बन्धी सहमति
युरोपेली सङ्घ (ईयू) बाट ब्रिटेन औपचारिक रूपमा बाहिरिनका लागि ब्रेक्जिटसम्बन्धी सम्झौताको धेरैजसो हिस्सामा सहमति भएको बताइएको छ।
ईयूका ब्रेक्जिट वार्ताकार मिसेल बार्नियले दुवै पक्षले संक्रमणकालीन अवधिसम्बन्धी सहमति गरेको बताउँदै उक्त घोषणालाई एउटा निर्णायक कदम भनेका छन्।
ब्रिटिश विदेश मन्त्री बोरिस जन्सनसँग भएको बैठकपछि उनले त्यस्तो बताएका हुन्।
संक्रमणकालीन अवधि, ब्रिटेन औपचारिक रूपमा ईयूबाट बाहिरिने मिति सन् २०१९ को मार्च २९ बाट सुरु हुने बताइएको छ।
सो अवधि ईयू-ब्रिटेनबीचको भावी दिनमा बन्ने स्थायी सम्बन्धको मार्ग सहज गर्नेतर्फ लक्षित छ।
बार्नियले भनेका छन्, "ब्रिटेन औपचारिक रूपमा बाहिरिएपछि त्यहाँभित्र रहेका ईयू सदस्य देशका पैँतालीस लाख नागरिक तथा ईयू सदस्य देशमा रहेका १२ लाख ब्रिटिश नागरिकहरूका अधिकारको सम्बन्धमा पनि समझदारी भएको छ।"
तर नर्दन आयरल्याण्डसँगको सीमा लगायतका महत्त्वपूर्ण विषयमा थप काम गर्न बाँकी रहेको उनले बताए।
यसै हप्ता हुने ईयू शिखर बैठकका क्रममा संक्रमणकालीन अवधिसम्बन्धी एउटा समझदारीका शर्तहरू प्रधानमन्त्री टरिजा मे सरकारका नेताहरूले टुङ्ग्याउने दुवै पक्षले आशा गरेका छन्।
नयाँ कानुनी खाकाले एउटा महत्त्वपूर्ण कदमतर्फ डोर्याएको तर प्रगति हासिल गर्नका लागि यो अन्त्य नभएको बार्नियले उल्लेख गरेका छन्।
संक्रमणकालीन अवधिमा यूरोपेली न्यायालयमा ब्रिटेनको भूमिका के हुने, ईयूको सदस्य नभएका देशहरूसँग ब्रिटेनले भावी व्यापार सम्झौता गर्न पाउने वा नपाउने साथै ब्रेक्जिटपछि जिब्रल्टर भनिने ब्रिटेनशासित क्षेत्रसम्बन्धी अन्य विषयमा दुई पक्षले सहमति गर्नुपर्ने हुन्छ।
नर्दन आयरल्याण्ड तथा जिब्रल्टरसम्बन्धी मुद्दाहरूले सबै ब्रेक्जिट सहमति भङ्ग गरिदिन सक्ने सम्भावना बोकेको बीबीसीकी युरोप सम्पादक काट्या एड्लर बताउँछिन्।