रुसको गुप्तचर निकायले विश्वभरि साइबर आक्रमण गरेको आरोप

साइबर आक्रमण

तस्बिर स्रोत, Getty Images

संयुक्त राज्य अमेरिकाको कानुन मन्त्रालयले 'विश्वभरी भएको रुसी साइबर हमला' भनि आरोप लगाइएका घटनाका सम्बन्धमा गरिएको अन्तर्राष्ट्रिय कार्वाहीका रुपमा सातजना रुसी गुप्तचरहरु विरुद्ध औपचारिक अभियोग दायर गरिएको घोषणा गरेको छ।

ति मध्ये चारको नाम यसअघि नेदरल्याण्ड्सका सैनिक गुप्तचर निकायका प्रमुख ले खुलासा गरेका थिए।

ति गुप्तचर एजेन्टहरुलाई ब्रिटेनमा भएको संदिग्ध रुसी स्नायु विष आक्रमणसम्बन्धी घटनाको अनुसन्धान गरिरहेको एउटा अन्तर्राष्ट्रिय निकायको कम्प्युटरहरु ह्याक गर्न खोजेको आरोप लगाइएको छ।

ब्रिटिश प्रधानमन्त्री टरिजा मे र उनको डच समकक्षी मार्क रुट्अले जारी गरेका संयुक्त बक्तव्यमा उक्त आरोपित घटनाबाट रुसी गुप्तचर निकाय जीआरयुले सबैलाई सुरक्षित राख्‍ने विश्वव्यापी मूल्यमान्यता र नियमहरुलाई अवहेलना गरेको भन्ने देखिएको जनाइएको छ।

विश्वस्त

यसअघि, ब्रिटिश सरकारले विश्वभरिका राजनीतिक, व्यापारिक, सञ्चार र खेल सङ्गठनहरूमा भएको साइबर आक्रमणका लागि रुसको सैनिक गुप्तचर निकाय जीआरयू जिम्मेवार भएकोमा आफू विश्वस्त रहेको बताएको थियो।

ब्रिटिश अधिकारीहरूको भनाइमा 'फ्यान्सी बेयर' नामक समूहले लागुऔषध प्रयोगविरोधी निकाय वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा) को कम्प्युटर प्रणालीमा ह्याक् अर्थात् अनधिकृत रूपमा छिरेर खेलाडीहरूका गोप्य दस्तावेजहरू चुहाएको हो।

त्यो समूहले इन्टर्नेटमार्फत् फिशिङ गरेर पास्वर्ड चोरी गरेको आरोप ब्रिटिश अधिकारीहरूको छ।

हमलाहरू

उनीहरूका अनुसार त्यही समूहले गत वर्ष युक्रेनको किएभको मेट्रो प्रणाली र ओडेसाको विमानस्थलको प्रणालीमा साइबर आक्रमण गरेको थियो।

पुटिन र सर ब्राडली विगिन्स

तस्बिर स्रोत, Reuters, BBC

तस्बिरको क्याप्शन, रुसी साइबर हमलाका कारण ब्रिटिश साइकल खेलाडी सर ब्राडली विगिन्सको गोप्य जानकारी चुहिएको ब्रिटिश अधिकारीहरू बताउँछन्।

त्यो समूहले सन् २०१६ मा अमेरिकी डिमोक्र्याटिक न्याश्नल कमिटीका सूचनाहरू समेत चुहाइदिएको ब्रिटिश अधिकारीहरू बताउँछन्।

यो वर्षको सुरुमा सोल्ज्बरीमा रुसी पूर्वगुप्तचर सेर्गेइ स्क्रिपाललाई स्नायुप्रणालीमा असर गर्ने विष दिने कार्यमा पनि जीआरयूकै हात रहेको आरोप लगाइएको छ।

बीबीसीका सुरक्षा सम्वाददाताका अनुसार ब्रिटेनका गुप्तचर निकायका अधिकारीहरूले पहिलो पटक साइबर आक्रमणको दोष जीआरयूमाथि लगाएका हुन्।

उनका अनुसार 'फ्यान्सी बेयर'जस्ता समूहबारे धेरैलाई जानकारी छ तर अन्य त्यस्ता समूहबारे धेरै जानकारी उपलब्ध छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, साइबर हमला