स्नायु विषबारे रुसले जवाफ दिनुपर्छ: ब्रिटेन

तस्बिर स्रोत, Facebook
गृहमन्त्री साजिद जाविदले सोभियतकालीन उक्त स्नायु विषका कारण दक्षिणी इंग्ल्याण्डमा एक ब्रिटिश जोडी सिकिस्त अवस्थामा पुगेको घटनाका सम्बन्धमा रुसले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
रुसी विदेशमन्त्रालयकी प्रवक्ताले ब्रिटिश प्रहरीको 'फोहोरी राजनीतिक खेल'लाई नपत्याउन आग्रह गरेकी छिन्।
गृहमन्त्री साजिद जाविदले भनेका छन्, दक्षिण इंग्ल्याण्डमा एक ब्रिटिश जोडीलाई ज्यानै जानसक्ने अवस्थामा पुर्याउन प्रयोग भएको स्नायु विष र चार महिनाअघि एकजना भूतपूर्व रुसी गुप्तचर र उनकी छोरीमाथि प्रयोग भएको विष एकै प्रकारको भएको पाइएको छ।
गृहमन्त्री जाविदले संसदमा बोल्दै भने त्यस्तो स्नायु विष 'नोभिचोक' भनिने रासायनिक अस्त्र समूहमा पर्दछ।
सांसदहरूलाई सम्बोधन गर्दै उनले भने, उक्त घटनाबारे अब रुसी राज्यले अगाडि आएर स्पष्ट पार्नुपर्ने बेला भएको छ।
यो पछिल्लो घटनामा पनि मस्कोको संलग्नता देखिएमा युकेले थप कारबाहीबारे विचार गर्ने उनको भनाइ छ।
निषेध
सिकिस्त अवस्थामा रहेका ती ब्रिटिश जोडीले बिरामी पर्नुअघि भ्रमण गरेका सबै छवटा स्थानलाई प्रवेश निषेधित क्षेत्र घोषणा गरिएको छ।
साजिद जाविदका अनुसार गत मार्च महिनामा रासायनिक हमलाको शिकार बनेका सेर्गेई र युलिया स्क्रीपालले भ्रमण गरेका स्थानमा यी ब्रिटिश जोडी पुगेका हुन सक्ने कुनै प्रमाण छैन।
उनका अनुसार विगतका सबै दूषित स्थलहरुलाई पूर्ण रुपमा स्वच्छ पारिसकिएको छ।
उनले पहिलेको रासायनिक हमलाका लागि फेरि पनि रुसलाई दोष दिए।
ब्रिटेनका सडक र पार्कहरूलाई आफूले रासायनिक विष थुपार्ने स्थल बन्न नदिने उनको दाबी थियो।
रुसले उक्त हमलामा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएको छ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ताले एउटा पत्रकार सम्मेलनमा बोल्दै ब्रिटिश प्रहरीले रुसी सुरक्षा अधिकारीहरुलाई सहयोग गर्नुपर्ने र उनकै शब्दमा फोहरी राजनीतिक खेलमा लाग्न नहुने बताएकी छिन्।








