कसरी भयो लालबकैयामा डुङ्गा दुर्घटना

रौतहट प्रहरीका अनुसार शनिवार साँझ डुङ्गा दुर्घटना भएर हराइरहेका मध्ये दुई जना महिलाको शव आइतवार बिहान भारतको बिहार राज्यको शिवहर जिल्लामा फेला परेको छ।

लालबकैया नदीमा भएको डुङ्गा दुर्घटनामा कम्तिमा अझै तीनजना बेपत्ता रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बीबीसीलाई बताएका छन्।

गौर र ईशनाथ नगरपालिकाबीचमा पर्ने नदीमा हिजो साँझ करिब ७ बजे २५ जना सवार डुङ्गा पल्टिएको थियो।

उद्धार जारी

आइतवार विहान घटनास्थलमै रहेका रिजालले उद्धारकार्यबारे बीबीसीसँग बोल्दै भने, "डुङ्गामा सवार व्यक्तिका आफन्तले दिनुभएको जानकारी अनुसार अहिलेसम्म पनि पाँचजना सम्पर्कमा हुनुहुन्न। उद्धारकार्य चाहिँ जारी छ।"

उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिरहेका छन्।

डुङ्गामा सवार धेरैजसो रक्षाबन्धनका लागि आफ्नो आफन्तकोमा जाँदै गरेको बताइएको छ।

डुङ्गाका चालक पप्पु चन्द्रवशीले नदीको बीचमा पुगेपछि बाढीको भेलले सन्तुलन बिग्रिएपछि डुङ्गा निर्माणाधीन पुलको पिलरमा ठोक्किएको बताए ।

उनलाइ सुरक्षाको कारण प्रहरीले नियन्त्रणमा लिएर बञ्जरहा सीमा सुरक्षा प्रहरी चौकीमा राखेको चौकीका प्रमुख प्रहरी नायव निरीक्षक सिकिन्दर साहले जनाए।

यात्रा

दुर्घटना भए लगत्तै मानिसहरूको ठूलो भिड लागेकाले डुङ्गा चालकलाई प्रहरीले सुरक्षाका लागि नियन्त्रणमा लिएको बताइएको छ।

डुङ्गामा सवार सञ्चय सिंह चनौलका अनुसार नदीको बीचमा डुङ्गाको अगाडिको भाग अचानक नदीको बेगले घुमेपछि पुलको पिलरमा ठोक्किएर दुई टुक्रा भएको थियो।

सञ्जय लगायतका केही पुरुषहरू बाँस समातेर बाँच्न सफल भएका थिए ।

त्यसरी सवार गर्नेमा बालबालिका र महिलाहरूसमेत रहेको बताइएको छ।

ईशनाथ नगरपालिकाबाट उनीहरु गौर नगरपालिका फर्किने क्रममा टिकुलिया घाटमा डुङ्गा दुर्घटना भएको प्रहरीले जनाएको छ।