क्यालिफोर्नियामा डढेलो: हजारौं मानिस घर छाड्न बाध्य

अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोमा परि दुई अग्निनियन्त्रकले ज्यान गुमाएका छन् भने हजारौँ मानिस घर छाडेर भागेका छन्।

शक्तिशाली हावाहुरीका कारण त्यहाँ आगोका लप्काको आँधीजस्तो स्थिति उत्पन्न पैदा भएको बताइएको छ।

जोखिम

शास्टा काउण्टीमा फैलिएको आगोलाई उच्च वेगको हावाले आँधीको स्वरूप दिएको छ जसले रुखहरू ढालिदिएको छ अनि गाडीहरूलाई हुत्त्याइदिएको छ।

कार फायर नाम दिइएको उक्त आगलागीका कारण पाँच सय संरचना ध्वस्त भएका छन् भने हजारौँ घरहरू जोखिममा परेका छन्।

अग्निनियन्त्रकहरू आगो नियन्त्रणमा लागिपरेका छन्।

हालसम्म केवल पाँच प्रतिशत डढेलोमात्र नियन्त्रणमा आएको बताइएको छ।

सोमवार सुरु भएको डढेलो ४८ हजार एकड क्षेत्रफलमा फैलिएको छ।

त्यो भनेको सान फ्रान्सिस्को शहरभन्दा धेरै क्षेत्रफल हो।

जलवायु परिवर्तनको असर?

झण्डै चालिस हजार बासिन्दाहरू आगलागी भएको क्षेत्रबाट भाग्न बाध्य भएका छन्।

त्यहाँको लामो, उच्च तापमानयुक्त तथा सुख्खा गर्मीयाममा क्यालिफोर्निया राज्यमा डढेलो लागिरहन्छ।

तर विज्ञहरू भन्छन् यो चाहिँ गत १० वर्ष यताकै डढेलो यामको सुरुमा लागेको सबभन्दा ठूलो आगलागी हो।

क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले गत डिसेम्बरमा जलवायु परिवर्तनका कारण विनाशकारी डढेलोका घटना सामान्य हुन थालेको बताएका थिए।

यस्ता डढेलो अब हरेक वर्ष वा हरेक केही वर्षमा लागिरहने उनको भनाइ थियो।