पाकिस्तान: आफ्नो दल विजयी भएको इमरान खानको दाबी

पाकिस्तानमा इमरान खानले आफ्नो दल भरखरै सम्पन्न आमनिर्वाचनमा विजयी भएको दाबी गरेका छन्।

तर विपक्षीहरूले धाँधली भएको आरोप लगाएको सो निर्वाचनको परिणाम औपचारिक रूपमा घोषणा हुन भने बाँकी नै छ।

भूतपूर्व क्रिकेट खेलाडी खानले एउटा टेलिभिजन सम्बोधनमा भने, "हामी सफल भएका छौँ र हामीलाई जनमत प्राप्त भएको छ।"

तर उनको दल पीटीआईले स्पष्ट बहुमत ल्याउन नसक्ने र सरकार निर्माणका लागि अन्य दलहरूसँग गठबन्धन बनाउनुपर्ने आकलन गरिएको छ।

निर्वाचन प्रचार अभियान हिंसाका कारण प्रभावित बन्न पुगेको थियो।

मतदानका दिन एउटा मतदान केन्द्रबाहिर बम आक्रमण हुँदा ३१ जनाको ज्यान गएको थियो।

तर निर्वाचन अभियानमा उनलाई पाकिस्तानी सेनाले सहयोग गरेको आरोप लागेको छ।

एउटा भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका भूतपूर्व प्रधानमन्त्री नवाज शरिफको दल र अन्य साना दलले निर्वाचनमा धाँधली भएको दाबी गर्दै परिणाम अस्वीकार गर्ने बताएका छन्।

खानले भने पाकिस्तानमा अहिलेसम्म भएकामध्ये यो नै सबैभन्दा स्पष्ट तथा निष्पक्ष निर्वाचन भएको टिप्पणी गरेका छन्। तर धाँधलीका आरोपहरूबारे छानबिन गरिने उनले बताएका छन्।

सो सम्बोधनमा खानले आफ्ना प्रतिद्वन्द्वीहरूलाई देशको विकासका लागि सहकार्य गर्न आह्वान गरेका छन्।

कश्मीरको विवाद समाधान गर्न उनले भारतसँग वार्ता गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

अग्रता

संसद्को कुल २७२ स्थानका लागि भएको निर्वाचनमा ४९ प्रतिशत केन्द्रको मत गनिँदा खानको दल पीटीआईले १२० स्थानमा अग्रता लिएको निर्वाचन आयोगलाई उद्धृत गर्दै एउटा समाचारपत्रले जनाएको छ।

बहुमत प्राप्त गर्न १३७ स्थानमा जित्नुपर्ने हुन्छ।

झन्डै १० करोड ६० लाख मतदाता रहेको पाकिस्तानमा ५० देखि ५५ प्रतिशत मतदान भएको आकलन गरिएको एएफपीले जनाएको छ।

को हुन् इमरान खान?

पैँसट्ठी वर्षीय इमरान खानले सन् १९९२ मा पाकिस्तानी क्रिकेट टोलीको नेतृत्व गर्दै विश्वकप जिताएका थिए।

त्यसको चार वर्षपछि सन् १९९६ मा उनले सक्रिय राजनीतिमा प्रवेश गरे। तर राजनीतिमा स्थापित हुन भने उनले धेरै सङ्घर्ष गर्नुपर्‍यो।

आफ्नो पुरानो 'सेलेब्रिटी प्लेब्वाई'को छविलाई त्यागेका खान अहिले आफूलाई धार्मिक, जनप्रिय र विपन्नताविरोधी सुधारकका रूपमा चिनाउँछन्।

आफू प्रधानमन्त्रीको भव्य निवासस्थानमा नबस्ने घोषणा उनले आफ्नो भाषणमा गरेका छन्।

आफ्नो निर्वाचन अभियानमा उनले उनले भ्रष्टाचाविरोधी नारा र पाकिस्तानमा विद्यमान राजनीनिक वंशहरूलाई तह लाउने वचनबद्धता व्यक्त गरेका थिए।