तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तान: पूर्वप्रम नवाज शरिफलाई १० वर्ष जेल सजाय
पाकिस्तानमा भ्रष्टाचार नियन्त्रण गर्न स्थापित एउटा निकायले भूतपूर्व प्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारको एउटा मुद्दामा दोषी ठहर गर्दै १० वर्ष जेल सजाय तोकेको छ।
लन्डनस्थित उनको स्वामित्वमा रहेका भनिएका चारवटा विलासी फ्ल्याटको विषयमा उनीविरुद्ध मु्द्दा चलेको थियो।
पाकिस्तनाको न्याश्नल अकाउन्ट्याबिलिटी ब्यूरोको अदालतले शृङ्खलाबद्ध स्थगनपछि उक्त फैसला शुक्रवार सुनाएको हो।
सोही मुद्दामा शरिफकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको छ भने ज्वाइँ सफ्दर अवनलाई एक वर्ष जेल सजाय सुनाइएको छ।
शरिफले उनीविरुद्ध लगाइएका अभियोगहरू राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएका दाबी गरेका छन्।
हाल नवाज शरिफ र उनकी छोरी लन्डनमा छन्। त्यहाँ शरिफकी पत्नी कुल्सूम नवाजको क्यान्सरको उपचार भइरहेको छ।
कसलाई कति सजाय?
आम्दानीभन्दा बढी सम्पत्ति भएको भन्दै न्यायाधीश मोहम्मद बशिरले पूर्वप्रधानमन्त्री शरिफलाई १० वर्ष र अदालतलाई नसघाएको भन्दै एक वर्षको जेल सजाय सुनाएका हुन्।
दुइटै सजाय एकैचोटि भोग्नुपर्ने हुँदा सजाय को कुल अवधि १० वर्षको नै हुनेछ।
शरिफलाई अपराधमा सघाएको भन्दै छोरी मरियमलाई सात वर्ष र अदालतलाई नसघाएको भन्दै थप एक वर्षको जेल सजाय सुनाइएको हो। उनको सजायको कुल अवधि सात वर्षको हुनेछ।
शरिफलाई ८० लाख पाउन्ड र मरियमलाई २० लाख पाउन्ड जरिवाना पनि तोकिएको छ।
ज्वाइँ सफ्दर अवनलाई चाहिँ अदालतलाई सहयोग नगरेको भनेर एक वर्ष सजाय तोकिएको छ।
अदालतले लन्डनमा भएका चारवटै फ्ल्याट पाकिस्तान सरकारका लागि जफत गर्न आदेश दिएको छ।
वैधानिक भएको दाबी
शरिफविरुद्धको मुद्दा लन्डनमा रहेका उनको परिवारको चारवटा विलासी फ्ल्याटहरूको स्वामित्वको विषयमा केन्द्रित थियो।
ती फ्ल्याटहरू कर सहुलियतको लाभ लिने उद्देश्यले खोलिएका विदेशी कम्पनीहरूमार्फत् खरिद गरिएको आरोप लगाइएको थियो।
सन् २०१५ मा पानामा पेपर्स प्रकरण सार्वजनिक भएपछि शरिफका छोराछोरीको 'अफ्शोर कम्पनीहरू'सँग सम्बन्ध देखिएको थियो।
तर शरिफको परिवारले लन्डनमा भएको सम्पत्ति वैधानिक रूपमै किनिएको दाबी गरेको छ।
पाकिस्तानको निर्वाचन
पाकिस्तानमा निर्वाचन हुन केही हप्ता मात्र बाँकी हुँदा यो निर्णय आएको हो।
शरिफको पार्टी निर्वाचन अघिको मत सर्वेक्षणमा अगाडि देखिएको छ।
देशको सर्वोच्च अदालतले उनलाई राजनीतिबाट आजीवन प्रतिबन्धित गरिनु पर्ने फैसला सुनाएपछि शरिफ पार्टी नेताको पदबाट अलग हुन बाध्य भएका थिए।
त्यसपछि उनका भाइ शहबाज शरिफले पार्टिको नेतृत्व सम्हालेका छन्।
अदालतको निर्णय आएपछि शहबाजले दाजु नवाजको बचाउ गरेका छन्।
एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले सो निर्णय राजनीतिबाट अभिप्रेरित भएको र जुलाईमा हुने निर्वाचन 'जनताको अदालत' हुने र त्यसले सो निर्णयको निन्दा गर्ने दाबी गरे।
सुपुर्दगीको सम्भावना के छ?
यूके र पाकिस्तानबीच औपचारिक रूपमा सुपर्दगी सन्धि भएको छैन।
तर सन् २००३ मा बनेको यूकेको सुपुर्दगी ऐनको एउटा खण्डमा विशेष परिस्थितिमा सुपुर्दगी गर्न सकिने व्यवस्था उल्लेख छ।
गत वर्ष अदालतले उनलाई पदमुक्त गरिदिँदा शरिफसँग आफ्नो आवधिक कार्यकाल पूरा गर्ने पहिलो प्रधानमन्त्री बन्न एक वर्ष बाँकी थियो।
शरिफले नोभेम्बर १९९० देखि जुलाई १९९३ सम्म पहिलो चोटि र फेब्रुअरी १९९७ देखि अक्टोबर १९९९ सम्म दोस्रो चोटि सरकारको नेतृत्व गरेका थिए।
सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख परवेज मुशर्रफले शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए।