पाकिस्तानी चुनावमा कसले मार्ला बाजी

चलखेल र हिंसासम्बन्धी चिन्ताका माझ सम्पन्न चुनावी अभियानपछि पाकिस्तानमा आज संसदीय चुनाव अन्तर्गत मतदान भइरहेको छ।

संसद्को तल्लो सदन र चारवटा प्रान्तीय सभाका लागि करिब १० करोड ६० लाख मानिसहरू मतदाताका रुपमा दर्ता भएका छन्।

पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले पूर्वप्रधानमन्त्री नवाज शरिफको दल पीएमएल-एनलाई हराउने अपेक्षा गरेको छ।

तर मानव अधिकार आयोगले भनेको छ, "चुनावमा चलखेल गर्ने प्रयास 'स्पष्ट' रुपमा देखिएको छ।"

सुरक्षा

स्थानीय समय अनुसार बिहान ८ बजेदेखि शुरू भएको मतदानलाई मध्यनजर गर्दै करिब तीन लाख सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरूले बताएका छन्।

त्यो चुनावी प्रयोजनका लागि खटाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या भएको बताइएको छ।

मतदाताले राष्ट्रिय विधायिका, न्याशनल एसेम्बली, का २७२ सदस्यलाई प्रत्यक्ष रुपमा निर्वाचित गराउनेछन्। ती मध्ये ७० स्थान महिला तथा अल्पसंख्यकहरूका लागि आरक्षित छ।

पाकिस्तानमा राजनीतिक उथलपुथल हुनु कुनै नौलो कुरा होइन र पछिल्ला केही महिनाले फेरि पनि त्यसलाई पुष्टि गरेका छन्।

अघिल्लो पटकको चुनाव जितेका व्यक्तिले अहिलेको चुनावी प्रतिस्पर्धालाई जेलबाट नियालिरहेका छन्।

आलोचना

भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भएका पूर्वप्रधानमन्त्री नवाज शरिफले जेल सजाय काटिरहेका छन्।

उनकी छोरी मरियम नवाज पनि दोषी ठहर भएकी छन्।

सोमवार बीबीसी उर्दूसँगको अन्तर्वार्तामा मरियमले शक्तिशाली मानिने पाकिस्तानी सेनाको आलोचना गरिन्।

"जब कुनै प्रधानमन्त्री झुक्न र सेनाले भने अनुसार गर्न अस्वीकार गर्छन् तब उनीहरूले त्युत गर्न चारवटा तरिका अपनाउँछन्।"

"फत्वा जारी गर्न लगाउँछन्, गद्दार भन्छन्, भारतका साथी भन्छन् अथवा भ्रष्ट भन्छन्। हरेक निर्वाचित प्रधानमन्त्रीविरुद्ध उनीहरूले यी कुरा गर्छन्।"

कौतुहलपूर्वी शहर लाहोरमा एउटा मतदान केन्द्रमा मत खसाल्ने पहिलो मतदाता महिला थिइन्।

मरियम आरिफ नामकी ती महिलाले 'पाकिस्तानको सेवा गरेकोले' आफूले पीएमएल-एनलाई मत दिएको बताइन्।

धेरै मानिसमा इमरान खान पाकिस्तानका भावी प्रधानमन्त्री हुने वा नहुने भन्ने कौतुहल छ।

सन् १९९० को दशकको अन्त्यतिर उनी राजनीतिमा होमिँदा पाकिस्तानले विश्वकप क्रिकेटको उपाधि उचालेको धेरै भएको थिएन।

तर सन् २०१३ मा मात्रै उनको दल दह्रो प्रतिद्वन्द्वीको रुपमा देखियो, जब भ्रष्टाचारविरुद्धको लडाइँमा पार्टीका नेता एउटा आशाका रुपमा उदाए।

त्यतिबेला उनी ठूलो मत अन्तरले पराजित भए।

तर थुप्रैले उनलाई एउटा निर्णायक अभियानलाई नेतृत्व दिन जारी राखेको नेताका रुपमा हेर्ने गर्दछन्।