नेपाल: बढ्दो व्यापार घाटा कम गर्ने कसरी?

केही वर्षयता बढ्दै गएको व्यापार घाटा कम गर्न नेपालभित्रै उत्पादन हुनसक्ने खाद्यवस्तुको आयात घटाउने नीति लिइनु पर्ने सुझाव अर्थविद्हरूले दिएका छन्।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएको ११ महिनामा १० खर्ब ३२ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ। पौने दुई खर्ब रुपैयाँ बराबरको इन्धन आयात भएको छ।

निर्यातमा चाहिँ सबैभन्दा धेरै चिया, कफी र मसला रहेको छ। जुन जम्मा साढे आठ अर्ब जतिको मात्र छ।

चालु आर्थिक वर्षको ११ महिनामा ११ खर्ब ६ अर्ब रुपैयाँ बराबरको कुल आयात भएको छ।

तर निर्यात भने केवल पौने एक खर्ब रुपैयाँ बराबरको मात्र भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।

आयात

सबैभन्दा धेरै आयात हुने वस्तुबारे वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैँजु भन्छन्, "सबैभन्दा धेरै इन्धन आयात हुन्छ। यसको कुनै विकल्प छैन हामी कहाँ। त्यसपछि मेसिन र औजार आउँछन्। त्यसपछि स्टील, फलाम, मोटरगाडी र तिनको पाटपुर्जा देश भित्रिन्छन्।"

कफी र चियापछि सबैभन्दा धेरै सात अर्ब रुपैयाँभन्दा बढीको धागोजन्य सामग्री निर्यात भएको देखिन्छ। त्यसपछि गलैँचा छ।

देशभित्र उत्पादन नहुने तर आवश्यक सामान आयात हुनु स्वभाविक भएको अर्थविद्हरु बताउँछन्।

तर देशभित्र उत्पादन हुनसक्ने वस्तुसमेत बाहिरबाट ठूलो मात्रामा आयात भइरहेको हालको अवस्थाले अर्थतन्त्रलाई नोक्सान पुर्‍याइरहेको अर्थविद् केशव आचार्यले बताए।

उपाय

उनले भने, "एक सय अर्बभन्दा बढीको दाल, चामल र चिनीजस्ता कृषिजन्य वस्तुको आयात भइरहेको छ। यसलाई देशभित्रै उत्पादन गर्न सक्यौँ र विदेशमा माग भएका हाम्रा वस्तुलाई निर्यात गर्न प्रोत्साहन गर्न सक्यौँ भने हालको समस्या केही हदसम्म समाधान गर्न सक्छौँ।"

अन्तर्प्रदेश उत्पादन र निर्यातको प्रणाली स्थाप सक्दा पनि आयातलाई केहि मात्रामा कम गर्न सकिने तर्कहरु आएका छन्।

यस्तै कृषि र उद्योग चलाउन सहज रूपमा कर्जा लिन सक्ने प्रबन्ध मिलाउन सक्दा पनि आयात घट्नसक्ने उनीहरू बताउँछन्।