तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टर्की: एर्दोआन 'राष्ट्रनिर्मातापछिकै शक्तिशाली नेता'
टर्कीका निर्वाचन अधिकारीहरूले राष्ट्रपति रेजेप तय्यीप एर्दोआन दोस्रो कार्यकालका लागि विजयी भएको बताएका छन्।
प्रमुख निर्वाचन अधिकारी सादी गुभेनले 'खसेका वैध मतमध्ये राष्ट्रपतिले बहुमत मत ल्याएको' बताए। तर उनले थप विवरण दिएनन्।
सरकारी सञ्चारमाध्यमका अनुसार ९० प्रतिशत मत गणना भइसक्दा एर्दोआनले करिब ५३ प्रतिशत मत हासिल गरेका छन्।
उनका प्रमुख प्रतिद्वन्द्वी मुहर्रम इन्जाले ३१ प्रतिशत मत पाएका छन्।
शक्तिशाली
एर्दोआनले आधाभन्दा बढी मत हासिल गरेकाले उनले अर्को चरणमा प्रतिस्पर्धा गर्नु पर्दैन।
उनको एकेले पार्टी संसद्मा पूर्ण बहुमत ल्याउने देखिएको छ।
चुनावको औपचारिक नतिजा चाहिँ शुक्रवार घोषणा गरिने छ।
टर्कीको नयाँ संविधानले राष्ट्रपति एर्दोआनलाई व्यापक शक्ति प्रदान गरेको छ।
बीबीसी संवाददाता मार्क लोवेन भन्छन्, "टर्कीका यी शक्तिशाली व्यक्तिले प्रधानमन्त्री पद हटाउँदै, आफैँले कानुन ल्याएर शासन गर्दै र वरिष्ठतम न्यायाधीशहरू चयन गर्दै ठूलो शक्तिको अभ्यास गर्नेछन्।"
पराजय
राष्ट्रनिर्माता आटाटर्कपछिकै उनी सबैभन्दा शक्तिशाली नेता भएको देखिएका छन्।
चुनावी नतिजापछि बोल्दै एर्दोआनले भने, "टर्कीले सिङ्गो विश्वलाई लोकतन्त्रमा एउटा पाठ सिकाएको छ।"
एर्दोआनका प्रमुख प्रतिद्वन्द्वी इन्जाले सामाजिक सञ्जालमार्फत् पराजय स्वीकारेका छन्।
तर निर्वाचन निष्पक्ष नभएको उनले दावी गरेका छन्।