पेनाल्टीमा चुकेपछि मेस्सीले भने, “दुःख लाग्यो”

विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शनिवार आइसल्याण्डविरुद्धको खेलका क्रममा आफूले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन नसकेपछि आर्जेन्टिनाका चर्चित खेलाडी लिओनेल मेस्सीले आफ्नो "मन दु:खेको" बताएका छन्।

३० वर्षीय बार्सिलोनाका स्टार खेलाडी मेस्सीले खेलको दोस्रो हाफमा प्रहार गरेको पेनाल्टी विपक्षी टोलीका गोलरक्षक ह्यान्स ह्याल्डरसनले रोकेका थिए।

सो खेल १-१ को बराबरीमा सकिएको थियो।

मेस्सीले उनका पुराना प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले शुक्रवार राति स्पेनविरुद्धको खेलमा शानदार ह्याट्रिक प्रहार गरी दिएकोजस्तै प्रदर्शन दिन खोजिरहेका थिए।

अर्को खलको तयारी

उनले भने, "गोल भएको भए त्यसले खेलको नतिजा नै परिवर्तन गरिदिने थियो। त्यो हाम्रो पक्षमा हुने थियो।"

"पक्कै पनि पेनाल्टी प्रहार चुकेपछि मलाई दुःख लागेको छ। हामीले पाउनुपर्ने तीन अङ्क गुमाएपछि त्यसको तिक्तता हामीले महसुस गरेका छौँ। जितसँगै खेल सुरु गर्नु सधैँ महत्त्वपूर्ण हुन्छ, अब हामीले क्रोएसियाविरुद्धको खेलबारे सोच्नुपर्छ"।

"यो अवस्थाबाट छिटै पार हुन हामीले प्रयास गर्नेछौँ।"

आइसल्याण्डको रणनीतिक चालले उनको टोलीलाई "उनीहरू खेल्न चाहदैँनन्" भन्ने दाबी गर्न कठिन पारिदिएको मेस्सीले बताए।

तर उनले आइसल्याण्डका प्रशिक्षक हेमिर हाल्ग्रिमसनको टोलीले "राम्रोसँग खेल टुङ्ग्याएको" बताए।

आर्जेन्टिनाका कप्तान समेत रहेका मेस्सीले उनले खेल्ने फुटबल क्लब तथा देशका लागि खेल्ने क्रममा, पछिल्ला सात पेनाल्टीहरूमध्ये चारवटा गोलमा परिणत गर्नबाट चुके।

आइसल्याण्डविरुद्धको खेलमा उनले ११ पटक प्रहार गर्दै गोल गर्ने प्रयास गरे र यो विश्वकप फुटबल प्रतियोगिताको खेलमा उनले गरेको अहिलेसम्मकै सबैभन्दा बढी प्रयास हो।

तर उनी सफल हुन सकेनन्।

आर्जेन्टिनाका प्रशिक्षकले उनका प्रमुख खेलाडीले पेनाल्टी चुकाउनुलाई "तथ्याङ्क" भन्दै त्यसलाई धेरै महत्त्व दिएनन्।

साथै मेस्सीले एउटा जटिल खेलमा देखाएको प्रदर्शनको प्रशंसा गरे।

आर्जेन्टिनाले अब उसको अर्को खेलअन्तर्गत बिहीवार क्रोएसियाको सामना गर्दैछ।