विश्वकप २०१८: पहिलो खेलमै रोनाल्डोको उत्कृष्ट प्रदर्शन

"गए रातिको खेलका नायक क्रिस्टियानो थिए। उनी महानता प्राप्तिको यात्रामा अनवरत रूपमा लागिपरेका छन् र विश्व मञ्चमा अहिले उनले जे गरिरहेका छन् त्यो अपत्यारिलो छ।"

बीबीसीका लागि विश्वकपको विश्लेषण गरिरहेका पूर्व फुटबल खेलाडी रिओ फर्डिनान्डले शुक्रबार राति स्पेनविरुद्धको खेलमा रोनाल्डोले 'ह्याट्रिक' अर्थात तीन गोल गरेपछि गरेको टिप्पणी हो यो।

दुवै टोलीले ३-३ गोलको बराबरी खेलेको उक्त खेललाई रुस विश्वकपको हालसम्मकै रोमाञ्चक खेल भनिएको छ।

खेललाई बराबरीतर्फ डोर्‍याउने क्रममा ८८ औँ मिनेटमा रोनाल्डोले 'फ्री किक'मार्फत् शानदार गोल गरेका थिए।

अग्रता

उनले खेलको पूर्वार्द्धमा दुई गोल गरेर पोर्चुगललाई अग्रता दिलाएका थिए।

स्पेनका डिएगो कोष्टाले दुई गोल फर्काएर खेललाई बराबरीमा ल्याएका थिए भने नाचो फर्नान्डेजको गोलको मद्दतले छोटो समय स्पेनले अग्रता लिएको थियो।

तर रोनाल्डोले आफ्नो परम्परागत छवि कायम राख्दै अन्तिम समयमा गोल गरे र स्पेनलाई स्तब्ध तुल्याइदिए। खेल सुरू हुनु एकदिन अघि स्पेनले आफ्ना प्रशिक्षकलाई बर्खास्त गरेको थियो।

रोनाल्डोले के गरे?

पोर्चुगलका कप्तानलाई सोचीमा भएको खेलमा आफ्नो प्रभाव छाड्न तीन मिने भन्दा बढी लागेन। 'फल' का लागि प्राप्त पेनाल्टीमा उनले गोल गरे।

उत्कृष्ट शैलीमा स्पेनका डिएगो कोष्टाले खेललाई बराबरीमा ल्याए तर रोनाल्डोले दोस्रो गोल गरे। कोष्टाले फेरि खेललाई बराबरीमा ल्याए अनि नाचोको गोलको मद्दतले स्पेनले अग्रता लियो।

तर त्यसपछि त्यो 'फ्री-किक'को अवसर प्राप्त भयो।

स्पेनी गोलरक्षक डि जिआले खडा गरेको पर्खाल र खेल समाप्त हुन दुई मिनेट बाँकी हुँदा रोनाल्डोले नै उक्त फ्री-कीक प्रहार गर्ने निश्चित जस्तै थियो।

यो रोनाल्डोले ठूला प्रतियोगितामा सिधा 'फ्री-किक'मार्फत ४५ वटा प्रयासपछि गरेको पहिलो गोल हो।

इंग्ल्याण्डका मध्यपङ्क्ति पूर्व खेलाडी डेनी मर्फीले उक्त 'फ्री-किक'लाई उत्कृष्ट भन्दै त्यो प्राविधिक रूपमा कठिन भनेका छन्।

अब मेस्सीतर्फ आँखा

रोनाल्डोको उत्कृष्ट प्रदर्शनलाई आर्जेन्टिनी अग्रपङ्क्तिका खेलाडी लियोनल मेस्सीसँग सधैँ तुलना गर्ने गरिन्छ। मेस्सीको टोलीले शनिबार आइसल्याण्डसँग आफ्नो पहिलो खेल खेल्दैछ।

रोनाल्डोसँगै म्यानचेष्टर युनाइटेढका लागि खेलेका फर्डिनान्ड भन्छन्,"रोनाल्डोको उत्कृष्ट खेलपछि मेस्सीको काँधमा थप जिम्मेवारी आएको छ, उनीमाथि अब दबाब पर्नेछ।"

त्यसको जवाफमा मेस्सीसँगै सन् २०११देखि २०१४ सम्म बार्सिलोना क्लबबाट खेलेका सिस फेब्रेगासले मेस्सीले परिणाम दिने बताए।

शुक्रवारको ह्याट्रिक रोनाल्डोको आफ्नो क्लब र देशका लागि गरेको ५१ औँ ह्याट्रिक थियो। रोनाल्डोले स्वयंले त्यसलाई आफ्नो उत्कृष्ट ह्याट्रिक भनेका छन्।

खेल विश्लेषकहरूले पनि त्यो विश्वकप इतिहासकै उत्कृष्ट क्षणहरू मध्ये एक भएको टिप्पणी गरिरहेका छन्।