तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शिखर बैठकबारे उत्तर कोरियामा के भनिँदैछ
- Author, आलिस्टर कोलमन
- Role, बीबीसी मोनिटरिङ
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीच यसै हप्ता शिखर बैठक हुँदैछ।
तर प्योङयाङमा सरकारी नियन्त्रणमा रहेका सञ्चारमाध्यमले उत्तर कोरियालीहरूले उक्त विषयमा पाइरहेका जानकारीलाई नियन्त्रण गरिरहेजस्तो देखिएको छ।
आफ्ना नागरिकसम्म कुन-कुन जानकारी पठाउने भन्नेबारे कडा नियन्त्रण कायम गर्ने उत्तर कोरियामा महत्त्वपूर्ण घटना भएपछि मात्रै त्यसबारे समाचार प्रकाशन गर्ने अभ्यास छ।
सिंगापुरमा जुन १२ मा हुने शिखर बैठकबारे उत्तर कोरियाली सञ्चारमाध्यमहरूले प्रत्यक्ष रूपमा उल्लेख गरेका छैनन्।
पछिल्ला महिनाहरूमा शिखर बैठकको अवधारणाबारे एकाध पटक उल्लेख गरिएको छ।
मध्य मेमा शिखर बैठकमा सहभागी नहुने चेतावनी प्योङयाङले दिएको बेला र त्यसपछि उक्त बैठक हुनुपर्ने धारणा उसले राख्दा त्यसको चर्चा गरिएको थियो।
टेलिभिजन, रेडियो र पत्रपत्रिकाले संयुक्त राज्य अमेरिकासँगको संवादलाई आफ्नो नयाँ वर्षको शुभकामना सन्देशमा किमले आफूले अघि बढाउने भनेर उल्लेख गरेको शान्ति प्रयाससँग जोडेर हेर्ने गरेका छन्।
उनीहरूले के भनिरहेका छन्?
उत्तर कोरियाका नागरिकहरूलाई शिखर बैठकको योजनाबारे थाहा छ। तर नजिकबाट चासो नदिनेहरूलाई कहाँ र कहिले त्यो यस्तो बैठक हुँदैछ भन्ने हिसाबले जानकारी दिइएको छैन।
किमले दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनसँग मे महिनाको अन्त्यमा गरेको भेटवार्ताको समाचारभित्र उक्त मिति उल्लेख गरिएको थियो।
केही दिनअघि मात्रै सिंगापुरका विदेशमन्त्री किन प्योङयाङ आए भनेर उत्तर कोरियालीहरूलाई खासै जानकारी दिइएन।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले मे ९ मा प्योङयाङ भ्रमण गर्दा सरकारी समाचार त्र नोडोङ सिनमुनले शीर्ष बैठकको तयारीसम्बन्धी केही कुरा उल्लेख गरेको थियो।
तर के कुरा उल्लेखनीय छ भने शिखर बैठकसँग सम्बन्धित सबै प्रतिक्रियाहरूमा पोम्पेओलाई उद्धृत गरिएको थियो।
र, प्योङयाङले नभइ वाशिङटनले वार्ताका लागि आह्वान गरेको हो भन्ने खालका धारणालाई निरन्तरता दिइएको थियो।
चेतावनी
त्यसको एक हप्तापछि उत्तर कोरियाली विदेश मन्त्रालयले वार्ताबाट अलग हुने चेतावनी दिएको थियो।
अमेरिकी अधिकारीहरूले दिएका वक्त्वयलाई 'अनिष्टकारी र औचित्यहीन' भन्दै प्योङयाङले त्यसबेला टिप्पणी गरेको थियो।
सरकारी समाचार बुलेटिनहरूमा अमेरिकी धारणालाई 'भद्दा मजाक' का रूपमा प्रस्तुत गरिएको थियो।
र, विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै 'हामी यस्तो वार्तामा इच्छुक हुनेछैनौँ र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र संयुक्त राज्य अमेरिका शिखर बैठकमा अघि बढ्ने विषयमा पुनर्विचार गर्नेछौँ' भन्ने उल्लेख गरिएको थियो।
डेमोक्र्याटिक पिपुल्स रिपब्लिक अफ कोरिया उत्तर कोरियाको औपचारिक नाम हो।
तर त्यसको नौ दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्पले शिखर बैठक नहुने भन्ने घोषणा गरेपछि उत्तर कोरियाली सञ्चारमाध्यमहरूले शिखर बैठक 'अपरिहार्य आवश्यकता' भएको उल्लेख गरेका थिए।
सरकार समाचार संस्था केसीएनएको समाचारमा ऐतिहासिक शिखर बैठक प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र संयुक्त राज्य अमेरिकाबीचको महत्त्वपूर्ण मुद्दा रहेको र विश्वभरि उल्लेखनीय रूपमा ठूलो चासो प्रकट भइरहँदा त्यसको तयारी अन्तिम चरणतर्फ अघि बढिरहेको उल्लेख गरेको थियो।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम शिखर बैठकबारे साधारणतया चुप नै छन्। तर यसबारे थप प्रतिक्रियाहरू भविष्यमा आउन सक्छन्।
विशेषगरी ट्रम्पको कानूनी टोलीका सदस्य रुडी जुलिआनीले किमले 'घुँडा टेक्दै हात जोडेर शिखर बैठकका लागि याचना गरेको' टिप्पणी गरेपछि त्यस्तो अपेक्षा गरिएको हो।
यस्ता खालका शब्दवालीले साधारणतया प्योङयाङलाई क्रुद्ध बनाउँछ।
उत्तर कोरियालीहरू के भनिरहेका छन्?
उत्तर कोरियाभित्र कस्ता धारणा छन् भनेर आकलन गर्न गाह्रो छ।
तर दक्षिण कोरियामा अवस्थित डेली एन के नामक वेवसाइटका अनुसार सर्वसाधारणलाई बैठक हुन लागेको जानकारी छ।
उक्त वेबसाइटले उत्तर कोरियामा पनि आफ्ना सम्पर्कहरू रहेको बताउने गरेको छ।
उक्त वेबसाइटको नाम उल्लेख नगरिएको दक्षिणी ह्वाङहे प्रान्तस्थित एउटा स्रोतले मानिसहरूले सरकारी सञ्चारमाध्यममा पोम्पेओ र किमबीचको भेटवार्ताको खबर पढेर त्यसबारे पाएको उल्लेख गरेका छन्।
डेली एनकेका अनुसार अमेरिका उत्तर कोरियाबीचको उच्चस्तरीय बैठकबारे घरेलु सञ्चारमाध्यमहरूले खबर प्रकाशन गरेको त्यो पहिलो पटक थियो।
त्यसअघि सर्वसाधारणहरू अमेरिकासँगको संवादबारे अनभिज्ञ थिए जसले अमेरिकाबारे उत्तर कोरियाली नागरिकहरूमा नकारात्मक धारणा रहेको पनि संकेत दिन्छ।
"लामो समयदेखि उत्तर कोरियाली नागरिकहरूले संयुक्त राज्य अमेरिका हाम्रा नगरिकको शत्रु भएको ठान्छन् र सरकारी शिक्षा प्रणालीले अमेरिका 'युद्धको क्रुर योजनाकार' एवं 'अतिक्रमणकारी' हो भनेर सिकाएको हुन्छ," डेली एनकेको स्रोलाई उद्धृत गर्दै विवरणमा भनिएको छ।
सरकारी समाचार संस्थाले उत्तर कोरियालीहरूलाई के देखाइरहेको छ?
उत्तर कोरियाको प्रमुख टेलिभिजन च्यानल सेन्ट्रल टेलिभिजनको दैनिक कार्यक्रम तालिका रहेका छन्।
त्यसअनुसार कार्यक्रमको प्रसारण आक्कलझुक्कल मात्रै परिवर्तन हुन्छ र अति विशेष कार्यक्रम समेत साँझको ६ र ९ बजेको समाचारमा समावेश गरिन्छन्।
सरकारी सञ्चारमाध्यमहरूले नियमितजसो किमको वंशको प्रंशसा र विचारधारात्मक सन्देशहरू दिने सैनिक धुनहरू, चलचित्र र नाटकहरू प्रसारण गर्ने गरेका छन्।
किमसँग सम्बन्धित घटनाक्रम उनी प्योङयाङ सुरक्षित रूपमा नफर्किएसम्म भ्रमणबारे जनतालाई सूचना नगर्ने परम्परा उत्तर कोरियामा रहिआएको छ।
त्यहीँ भएर शिखर बैठकअघि र शिखर बैठकका दौरान सञ्चारमाध्यमहरूले आफ्नो रवैया बदलिने छन् भनेर अपेक्षा गरिएको छैन।