तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिका: स्टील र एलुमिनियम आयातमा कर
संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घ, मेक्सिको र क्यानडाबाट गरिने स्टील र एलुमिनियमको आयातमा करहरू लागु गर्ने भएको छ।
बिहीवार मध्यरातबाटै स्टीलको आयातमा २५ प्रतिशत र एलुमिनियमको आयातमा १० प्रतिशत कर लगाइने छ।
वाणिज्यमन्त्री विल्बर रसले जानकारी दिएका उक्त कदमबाट युरोपमा रहेका कतिपय अमेरिकी साझेदारहरू प्रभावित हुनेछन्।
युरोपेली सङ्घ र मेक्सिकोले अमेरिकी कदमप्रति असन्तोष व्यक्त गर्दै त्यसका बदलामा आफूहरूले पनि कदम चाल्ने बताएका छन्।
अमेरिकी वाणिज्यमन्त्री रसले आफ्नो देशबाट अमेरिका निर्यात हुने स्टील र एलुमिनियमाथि कर लगाइने प्रावधानलाई रोक्ने प्रयास गरिरहेका ईयूका नेताहरूसँगको वार्तास्थल प्यारिसबाटै त्यस्तो निर्णयको घोषणा गरेका हुन्।
प्रतिक्रिया
उनले आफूहरूको वार्तामा पर्याप्त प्रगति नभएको बताउँदै सम्भावित प्रतिक्रिया अपेक्षित रहेको बताएका छन्।
"हाम्रो कदमप्रति उनीहरूको प्रतिक्रिया कस्तो रहन्छ हामी त्यो हेर्नेछौँ,"अमेरिकी वाणीज्य मन्त्रीको भनाइ थियो।
उनले सबै पक्षसँग छलफल गर्न आफूहरू इच्छुक रहेको पनि बताए।
उनले क्यानडा र मेक्सिकोसँग जारी उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी वार्तामा पनि अनुमान गरिएभन्दा बढी समय लागेको बताएका छन्।
चेतावनी
फ्रान्सका अर्थमन्त्री ब्रुनो ल मेएरले अमेरिकी करहरू "अनुचित र खतरनाक" हुने टिप्पणी गरेका छन्।
उनले चेतावनी दिँदै भने, "ईयूले अमेरिकाले लगाएको करको जवाफ दिन सबै आवश्यक उपाय अपनाउनेछ।"
युरोपेली आयोगका अध्यक्ष जँ क्लोड युङ्करले कर लागु गर्नेबारे अमेरिकाले लिएको निर्णयलाई अस्वीकार्य भन्दै ईयूले त्यसविरुद्ध विभिन्न उपायहरू अपनाउने बताएका छन्।
मेक्सिकोले अमेरिकी स्टील र कृषि उत्पादनमा पनि "उस्तै खाले प्रावधानहरू" लागु गर्ने जनाएको छ।
सुरुवात
राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण जनाउँदै गत मार्चमा विदेशबाट आयात गरिने स्टील र एलुमिनियममा कर लगाउने योजनाको घोषणा गरेका थिए।
चीनको अगुवाइमा विश्वव्यापी रूपमा नै स्टील र एलुमिनियमको आपूर्ति बढिरहेको तर्क गर्दै त्यसबाट अमेरिकाका लागि महत्त्वपूर्ण रहेका स्वदेशी स्टील र एलुमिनियम उत्पादकहरूलाई जोखिमपूर्ण अवस्थामा पुर्याएको उनको भनाइ थियो।
उक्त घोषणायता दक्षिण कोरिया, आर्जेन्टिना, अस्ट्रेलिया र ब्राजिलले कर मिनाहाका बदलामा आफूहरूले अमेरिका निर्यात गर्ने स्टील र एलुमिनियमको परिमाण सीमा तोक्न सहमति जनाइसकेका छन्।
वार्ता जारी रहँदा अमेरिकाले ईयू, क्यानडा र मेक्सिकोका हकमा अस्थायी रूपमा कर मिनाहा गरिदिएको थियो। त्यस्तो कर मिनाहाको समयसीमा जुन १ तारिखमा समाप्त हुनेछ।