तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'एमाले-माओवादी एकीकरण घोषणा बिहीवार'
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीवार पार्टी एकता घोषणा गर्ने सहमति भएको नेताहरूले जनाएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँगको एकता टुङ्गोमा पुगेको जानकारी गराएपछि घोषणा प्रस्तावलाई पार्टी केन्द्रीय कार्यालयको बैठकले अनुमोदन गरेको उक्त दलका नेता हरिबोल गजुरेलले जानकारी दिए।
उनले भने, "एकीकरण घोषणा भोलि बिहीवार हुन्छ। दुवै दलको बैठकले त्यो प्रस्ताव अनुमोदन गरेको छ।"
पछिल्लो केही साता एकता प्रक्रियामा ठोस प्रगति नहुँदा चुनावअघिको एकीकरण लक्ष्य अनिश्चित बनेको टिप्पणी हुन थालेका थिए।
सङ्केत
तर बुधवार दुवै दलले एकताबारे छलफल गर्न भन्दै आ-आफ्नो दलको आकस्मिक बैठक डाकेपछि त्यसलाई एकीकरण निष्कर्षमा पुग्न लागेको सङ्केत ठानिएको थियो।
नेता गजुरेलका अनुसार पार्टी केन्द्रीय कमिटी चार सय ४२ सदस्यीय हुनेछ।
त्यसमा एमालेबाट २४१ र माओवादी केन्द्रबाट २ सयजना रहने उनको भनाइ छ।
दुई कम्युनिस्ट पार्टीहरूले गत फागुनमा संयुक्त रूपमा तयार पारेको 'एकीकरणका प्रारम्भिक आधारहरू'मा एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र निर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद रहने उल्लेख छ।
एकता महाधिवेशनअघि दुवै नेताले पार्टीको नेतृत्व गर्ने सहमति रहेको बताइन्छ।
बैठक
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान आपसी छलफल गरेपछि आकस्मिक रूपमा आ-आफ्नो दलको बैठक बोलाएका थिए।
एकताबारे छलफल बुधवार स्थायी कमिटीको बैठक गरेको एमालेले बिहीवार केन्द्रीय कमिटीको पनि बैठक बोलाएको छ।
त्यसअघि एकताबारे छलफल गर्न दुवै दलको संयुक्त एकता संयोजन समितिको बैठक राखिएको छ।
उक्त बैठकले एकताबारे औपचारिक निर्णय गर्ने माओवादी नेताहरुको भनाइ छ।